१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

सुरु भयो शैक्षिक सत्र

जयबहादुर रोकाया

हुम्ला — फागुनबाट नयाँ शैक्षिक सत्र सुरु हुने हुम्लामा हिमपातका कारण चैत पहिलो सातादेखि विद्यालय खुलेका छन्  । माघ र फागुनमा पटकपटक भएको भारी हिमपातका कारण विद्यालय भवन हिउँले पुरिएका थिए  ।

तापक्रम बढेर विद्यालयमा जमेको हिउँ पग्लिएपछि पठनपाठन सुचारु भएको हो । हिउँ पग्लेर विद्यालय आउजाउ गर्न सहज भएपछि जिल्लाका सबै विद्यालय सञ्चालनमा आएको शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख वर्ष फडेराले बताए ।

जिल्लाका सबै विद्यालयले फागुन २३ गतेसम्म विद्यार्थी भर्ना अभियान सञ्चालन गरेका थिए । २४ गतेपछि पढाइ सुरु गर्ने तालिका बनाए पनि हिमपातका कारण चैतबाट नियमित पढाइ हुन थालेको हो । विद्यालय सञ्चालनमा आए पनि दोस्रो सातादेखि भने पढाइ प्रभावित हुने भएको छ । फागुन ८ गतेदेखि एसईईको परीक्षा हुने भएकाले परीक्षा नसकिएसम्म पढाइ प्रभावित हुने भएको हो ।


हिमालपारिको बस्ती भनेर चिनिने लिमीका दुई आधारभूत विद्यालय भने वैशाखपछि मात्रै सञ्चालनमा आउनेछन् । लिमी आउजाउ गर्ने बाटो हिमपातका कारण बन्द भएकाले बर्सेनि हिउँ पग्लेर बाटो खुलेपछि मात्रै विद्यालय सञ्चालनमा आउने गरेका छन् । लिमी जिल्लाको सबैभन्दा बढी हिमपात हुने बस्ती हो । नाम्खा गाउॅपालिकाको लिमीका तीन बस्तीमा एक/एक विद्यालय भए पनि तिल गाउॅमा रहेको विद्यालय भने गत वर्ष नै बन्द भइसकेको छ ।

एकाइ प्रमुख फडेराले तिल गाउॅमा विद्यार्थी नै नभएकाले विद्यालय बन्द गरिएको जनाए । विद्यालय बन्द भएपछि दरबन्दीका शिक्षकलाई गाउँपालिकाअर्न्तगतका अन्य विद्यालयमा सरुवा गरिएको थियो । लिमीको हल्जी र जाङ गाउँमा दुई विद्यालय सञ्चालनमा छन् । यी दुबै विद्यालयले पाॅच कक्षासम्म अध्यापन गर्न पाउने अनुमति लिएका छन् । विद्यालयमा दुई/दुई शिक्षकको दरबन्दी छ ।


विद्यालय सञ्चालनमा आए पनि चंखेली र सर्केगाड गाउँपालिकामा रहेका विद्यालयमा भने पाठ्यपुस्तक पुगेका छैनन् । यी गाउँपालिकामा रहेका विद्यालयका लागि पुस्तक उपलब्ध गराउने जिम्मा लिएका एजेन्टले हिमपातका कारण ढुवानी गर्न नसकेको जनाउँदै आएका छन् । गाउँपालिकामा मुगुको गमगढी भएर पुस्तक ढुवानी हुने गरेका छन् । हिमपातका कारण बन्द भएको मुगुको नाग्मा–गमगढी सडक दुई दिनअघि मात्र सुचारु भएको छ ।

प्रकाशित : चैत्र ६, २०७५ १४:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?