कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अवैध मदिरा नियन्त्रण

भीमबहादुर सिंह

जाजरकोट — प्रहरीले अवैध घरेलु मदिराको उत्पादन तथा बिक्री नियन्त्रण गर्न अभियान थालेको छ  । प्रहरीले सिलवन्दी मदिराको पनि निर्धारित समयबाहेक जथाभावी बिक्री गर्न नपाइने अभियान चलाएको छ  ।

अवैध मदिरा नियन्त्रण

खलंगालगायत बजारमा रहेका होटल तथा खाजापसलमा बेलुकी ८ बजे भन्दा पछाडिको समयमा मदिरा बिक्री वितरण नगर्न उर्दी जारी गरेको छ । मदिराको कारण सामाजिक अपराधका घटना बढ्न थालेपछि प्रहरीले यस्तो अभियान थालेको हो ।

अभियानको क्रममा प्रहरीले एक साताको अवधिमा सात सय लिटर मदिरा नष्ट गरेको छ । भेरी नगरपालिका ३ र ४ बाट उक्त मदिरा बरामद भएको प्रहरी निरीक्षक लोकबहादुर विष्टले बताए । मदिरा बनाउने कच्चा पदार्थ (जाँड) ५ सय लिटर, जाँड बनाउने औषधि २० किलो र तयारी मदिरा दुई सय लिटर बरामद गरेर सोमबार नष्ट गरेको प्रहरी निरीक्षक विष्टले जानकारी दिए । मदिरा उत्पादनमा प्रयोग हुने दुई दर्जन भाँडाबर्तन पनि बरामद गरेको निरीक्षक विष्टले जनाए । प्रहरीको आँखा छलेर खलंगा बजारमा छ्याप्छ्याप्ती अवैध मदिरा उत्पादन र बिक्री वितरण हुने गरेको उनको भनाइ छ ।


मदिरासेवनबाट घरेलु हिंसा, महिला हिंसा, बलात्कार, चोरी, कुटपिट, हत्यालगायत आपराधिक घटना हुन थालेपछि प्रहरी, स्थानीय आमा समूह र सामुदायिक प्रहरीले घरेलु मदिराको उत्पादन तथा बिक्रीमा पूर्ण रोक लगाएका छन् । गृह मन्त्रालयको मदिरा नियन्त्रणसम्बन्धी परिपत्रअनुसार घरेलु मदिराको उत्पादन र बिक्री वितरणमा निगरानी बढाएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अभियान जिल्लाभर लागू गरिएको छ ।

मदिरा नियन्त्रणले सामाजिक अपराधका घटना न्यूनीकरण हुँदै जाने प्रहरी नायव उपरीक्षक श्याम खत्रीले बताए । विभिन्न गाउँ/टोलमा उत्पादित कम मूल्यको अवैध मदिरा सेवनबाट स्थानीय पर्वमा कुटपिट र हिंसाका घटना हुने गरेको खत्रीको भनाइ छ । ‘यस्ता घटनाको मुख्य कारण घरेलु मदिरा भएको ठहर गरी नियन्त्रणको अभियान थालेका हौं,’ खत्रीले भने ।

प्रकाशित : चैत्र ६, २०७५ १४:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?