चुलियो सीमा विवाद

मुगु — घुच्चीलेक डाब क्षेत्रमा दुई जिल्लाको सीमा विवाद चुलिएको छ । सीमा विवादले छिमेकी जिल्लाका बासिन्दाको आउजाउसमेत रोकिने अवस्था आएको छ । छायानाथ–रारा नगरपालिकाले घुच्चीडाबदेखि सेनाको क्याम्पसम्म आफ्नो क्षेत्र भएको दाबी गरेको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाले भने घुच्चीदेखि सिप्टीचौरसम्म आफ्नो दाबी गरिरहेको छ ।

गत आवमा नगरपालिकाले मुगु र जुम्लाको सीमा छुट्याउन घुच्चीडाबस्थित सेनाको क्याम्पनजिकै गेट बनाउन खोज्दा जुम्लाका बासिन्दाले भत्काएका थिए । उक्त विवाद अहिले मुगु जिल्ला अदालतमा विचाराधीन छ । वादी र प्रतिवादीले अदालतमा तारेख थामिरहेका छन् ।


कनकासुन्दरी गाउँपालिका जनप्रतिनिधि र स्थानीयले पुर्खादेखि सिप्टीचौर आफ्नो भएकाले पशु चौपाया चरनका लागि अस्थायी टहरा बनाएको दाबी गर्दै आएका छन् । छायानाथ रारा नगरपालिकाले पिना–झयारी–कोटिलाका–सिप्टीचौरदेखि डाबस्थित सेनाको क्याम्पसम्म आफ्नो दाबी गर्दै आएको छ ।


विवादले दुई जिल्लाको सीमा क्षेत्रमा विकास निर्माणका काम गर्नसमेत समस्या भएको जनप्रतिनिधि बताउँछन् । जुम्लाका बासिन्दाले गेट निर्माण गर्न नदिँदा गत वर्षको १० लाख बजेट फ्रिज गएको छायानाथरारा नगरपालिका ७ का वडाध्यक्ष हरिचन्द शाहीले बताए ।


मुगु र जुम्लाको सीमा विवादका कारण जिल्ला अदालतमा मुद्दासमेत परेको नगरपालिका प्रमुख हरिजंग शाहीले बताए । ‘हामी फैसलाको प्रतीक्षामा छौं,’ उनले भने, ‘अदालतको फैसलाले दुवै जिल्लाको विवाद हल गर्ने अपेक्षा छ ।’


त्यस्तै वामचंखेली लेकको काँधदेखि उता आफ्नो भएको भन्दै हुम्लाले पनि दाबी गरेको छ । चंखेली लेकभन्दा धेरै पर जोगीमारे भन्ने स्थानसम्म मुगुको सिमाना रहेको स्थानीयको दाबी छ । स्थानीयका अनुसार मुगु वाम र पोइपाटा दर्ख्यालबाडा गाउँका स्थानीयबीच समेत सीमा विवाद छ । ‘हुम्लाको चंखेली लेकदेखि हाम्रो क्षेत्र हो भन्ने दाबी गरिरहेका छौं,’ छायानाथ–रारा नगरपालिका १४ का वडाध्यक्ष नन्दलाल बडुवालले भने, ‘उक्त सीमा क्षेत्रलाई नगरपालिकाकै वडा १४ कायम गरिएको छ, तर समयमै सीमा विवाद सुल्झाउन नसकिए ठूलो समस्या निम्तिने देखिन्छ ।’


सीमा विवादले गर्दा मुगु, हुम्ला र जुम्लाका बासिन्दाबीच मनमुटाव सुरु भएको उनले जानकारी दिए । दुवै जिल्लाको स्थानीय प्रशासन र जनप्रतिनिधिसँग सीमा समाधान गर्न पटकपटक माग गरिरहेको पिना गाउँका टक्कबहादुर मल्लले बताए । उनका अनुसार सीमा विवाद बल्झिँदै जाँदा पशु चौपाया चरनमा सर्वसाधारणलाई समस्या भएको छ ।


‘सीमाका बासिन्दाबीच सम्बन्ध बिग्रँदै गइरहेको छ,’ उनले भने, ‘एक/अर्को जिल्लाका बासिन्दाले हाम्रो क्षेत्र हो भन्दै चरनमा प्रतिबन्ध लगाउन थालेका छन् ।’ छिमेकी जिल्लाको सीमा विवाद स्थानीय तहका जनप्रतिनिधिले टुंग्याउनुपर्ने मुगुका प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए ।

प्रकाशित : चैत्र ३, २०७५ ०८:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?