१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

२५ लाखको मकै बीउ बिक्री

हरि गौतम

रुकुम पश्चिम — चारवटा स्थानीय तहका किसानले करिब २५ लाख रुपैयाँको मकैको उन्नत बीउ बिक्री गरेका छन् । मुसीकोट नगरपालिका, चौरजहारी नगरपालिका, बाँफिकोट गाउँपालिका र त्रिवेणी गाउँपालिकाले उक्त परिमाणको बीउ बिक्री गरेका हुन् ।

२५ लाखको मकै बीउ बिक्री

ती स्थानीय तहबाट असोज र कात्तिक महिनामा भित्र्याइएको रामपुर कम्पोजिट, अरुण–४, मनकामना–३ र देउती जातको ५२ दशमलव ६६ मेट्रिक टन मकैको बीउ बिक्री भएको हो ।


यसका लागि ११ समूह तथा सहकारीमा किसानहरू आबद्ध छन् । जिल्लाभित्र र बाहिरका बीउ कम्पनी, एग्रोभेट तथा सप्लायर्सले बीउ खरिद गरेका हुन् । क्षेत्रीय बीउबिजन प्रयोगशाला खजुरा बाँकेमा ल्याब परीक्षण गरिएपछि मात्रै किसानले मकैको बीउ बिक्री गरेका छन् ।


किसानले रामपुर कम्पोजिट र अरुण–४ प्रतिकेजी ४८ रुपैयाँ, मनकामना–३ र देउती प्रतिकेजी ४५ रुपैयाँका दरले बिक्री गरे । स्थानीय किसान तेजबहादुर बटालाका अनुसार रामपुर कम्पोजिट २९ दशमलव ९१५ मेट्रिक टन र अरुण–४ जातको ८ दशमलव ४ मेट्रिक टन, मनकामना–३ जातको ११ दशमलव ९४४ मेट्रिक टन र देउती १ दशमलव ८१३ टन बिक्री भएको छ ।


‘यसअघि नै बीउ कम्पनीसँग भएको बीउ खरिद–बिक्री सम्झौताअनुसार हामीले मकैको बीउ बिक्री गरेका छौं,’ उनले भने, ‘बीउ कम्पनीले हाम्रो घरसम्मै आएर खरिद गरी लिएका छन् ।’ यस वर्ष पञ्चशक्ति बीउ कम्पनी धनगढी, रुकुमेली एग्रोसिट दाङ, साइकुमारी एग्रोभेट र ओली सप्लायर्सले बीउ खरिद गरेको उनले बताए ।


जिल्लाको मकैको बीउको उमार शक्तिका आधारमा किसानले थप मूल्यसमेत पाएका छन् । ल्याब परीक्षणको क्रममा ८० प्रतिशत बढी उमार शक्ति भएको पाइएमा प्रतिकेजी २० पैसा थप्ने बीउ कम्पनीसँग किसानले सम्झौता गरेका थिए । मकैको बीउमा ८० देखि ९९ प्रतिशतसम्म उमार शक्ति रहेको उन्नत बीउबिजन कार्यक्रम कृषि उद्यम केन्द्रका कृषि व्यवसाय सल्लाहकार राजु लामिछानेले बताए ।


‘बीउको औपचारिक कारोबार सुरु भएपछि बीउ बिक्रीमा सजिलो भएको छ,’ उनले भने, ‘यसबाट व्यावसायिक रुपमा बीउ उत्पादनमा लाग्ने किसान लाभान्वित भएका छन् ।’ औपचारिक रूपमा बीउ बिक्री सुरु भएपछि किसानले उत्पादन गरेको बीउ सजिलै बिक्री हुने र खरिदकर्ताले पनि सजिलै पाउने वातावरण बनेको उनले बताए ।


लामिछानेका अनुसार किसानसँग मकैको अरू बीउ पनि बिक्री हुने क्रममा छ । बीउ खरिद गरेका कम्पनीले समूह तथा सहकारीको खातामा एकमुष्ट रकम जम्मा गरिदिन्छन् । समूह तथा सहकारीले बीउको आधारमा किसानलाई नगद वितरण गर्छन् । यी समूह तथा सहकारीलाई किसानका लागि उन्नत बीउबिजन कार्यक्रमले सिँचाइ, कृषि औजारदेखि आवश्यक तालिम र बीउ भण्डारणका लागि आवश्यक सामग्रीसमेत सहयोग गर्दै आएको छ ।

प्रकाशित : माघ २९, २०७५ १०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?