कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

अनुदानमा बिजुली

५ हजार तिरेपछि एउटा घरमा ५० वाट क्षमताको सोलार जडान 

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले नगरभित्रका हरेक घरमा बत्ती बाल्ने तयारी गरेको छ । विद्युत आयोजनामार्फत बत्ति नपुगेका हरेक घरधुरीमा बत्ती बाल्न नगरपालिकाले विशेष अनुदान मार्फत सर्वसाधारणलाई सोलार वितरण गर्ने भएको छ ।

नगरपालिकाका अनुसार ५ हजार रुपैयाँ तिरेपछि एउटा घरमा ५० वाट क्षमताको सोलार जडान गरिनेछ । ‘हाम्रो र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको विशेष अनुदानमा यसअघि बत्ती नबलेका घरलाई ५० वाटको सोलार दिने अन्तिम तयारीमा छौं,’ नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले भने, ‘हाल वडा र नगरपालिका मार्फत निवेदन संकलन कार्य भइरहेको छ ।’ आयोजनाबाट विद्युतीकरण नभएका तत्कालै विद्युतीकरणको सम्भावना नभएको क्षेत्रमा अनुदान मार्फत सोलार जडान कार्य अघि बढाइएको अधिकृत केसीले बताए ।


यसका लागि नगरपालिकाले ८ लाख रुपैयाँ विनियोजन गरेको छ । बाँकी व्यवस्थापन वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले गर्नेछ । सोलार जडान गर्न चाहनेले निवेदनको साथमा प्रतिसोलार जडानबापत ५ हजार नगद बुझाउनुपर्ने छ । निवेदनको साथमा दुई र सोलार बुझेर लैजाँदा गरी ३ हजार वडा कार्यालय वा नगरपालिकामा बुझाएपछि उसको घरमा सोलार जडान गरिनेछ ।


विशेष अनुदानमा सोलार लैजानेका लागि नगरपालिकाले केही सीमा पनि तोकेको छ । यसअघि नगरपालिकाबाट अनुदान नलिएका र कुनै पनि लघु जलविद्युत् आयोजनाबाट विद्युत् सेवा प्राप्त नगरेका जो कसैले पनि विशेष अनुदान मार्फत ५ हजारमा ५० वाटको सोलार पाउनेछन् । लघु जलविद्युत् आयोजना मार्फत विद्युत् सेवा पाएका तथा सहरी क्षेत्रमा बसोबास गर्नेहरू विशेष अनुदानमा नसमेटिने निमित्त प्रमुख प्रशासकीय अधिकृत केसीले बताए ।


हाल नगरपालिकामा ४ विद्युत् आयोजनाबाट सर्वसाधारणले विद्युत् सेवा पाइहेका छन् भने केही आयोजना निर्माणको चरणमा छन् । ऊर्जा प्रवद्र्धन केन्द्रको साझेदारीमा सुरु गर्न लागिएको विशेष अनुदान मार्फत ३ हजार घरधुरी उज्यालो हुने अनुमान गरिएको नगर प्रमुख गोर्खबहादुर केसीले बताए ।


‘नगरका १४ वटै वडा र नगरपालिका मार्फत सोलार लिन चाहनेका लागि निवेदन संकलन भइरहेको छ,’ नगर प्रमुख केसीले भने, ‘२ देखि ३ हजार आपसमा सोलार जडानका लागि निवेदन आउने अपेक्षा गरिएको छ ।’ उज्यालोबिना हरेक कामकाज प्रभावित हुने भएकाले उज्यालोलाई प्राथमिकता दिएको नगर प्रमुख केसीले बताए ।


‘रातिमा घर, भान्सा, सुत्ने कोठादेखि लिएर पठनपाठनका साथै सामान्य मोबाइलसमेत चार्ज भ्याउनेगरी सोलार प्रणाली जडान गर्न लागिएको हो, यो विशेष अनुदान मार्फत सर्वसाधारण जनता उज्यालोबाट विमुख नहोऊन् भन्ने उद्देश्य राखिएको छ,’ नगर प्रमुख केसीले भने ।


घरव्यवहारमा नभई नहुने उज्यालो अभावमा सर्वसाधारणले बिताइरहेको कष्टकर दैनिकी सहज बनाउन सोलार वितरण कार्यक्रम ल्याइएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित : माघ २८, २०७५ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?