कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डोल्पामा ४ फिट हिउँ

हिमपातले हवाई यातायात ३ दिनदेखि अवरुद्ध 
गाउँ–गाउँबीच हिउँले सम्बन्धविच्छेद

डोल्पा — यतिबेला डोल्पाका सबै गाउँ हिमपातले सेताम्मे बनेका छन् । डोल्पाको सबैभन्दा होचो ठाउँ त्रिवेणीसम्म सेताम्मे हुने गरी भएको हिमपातले डोल्पालीहरूको जनजीवनलाई निकै प्रभावित बनाएको छ । 

डोल्पामा ४ फिट हिउँ

उच्च हिमाली हावापानी भएको डोल्पा जिल्लामा यो वर्ष माघभित्र पटक पटक हिमपात भएको छ । हिमपातले हवाई यातायात ३ दिनदेखि अवरुद्ध छ । स्थानीयस्तरमा सञ्चालन भएको जिप सेवासमेत अवरुद्ध भएको छ । हावापानी तथा वातावरण चिसो बनेकाले जनजीवन कष्टकर बनेको छ ।


हिमपातका कारण गाउँगाउँसमेत आपसमा सम्बन्ध विच्छेद भएका छन् । तल्लो डोल्पाकै गाउँ–गाउँमा आवतजावत गर्ने बाटो अवरुद्ध भएका छन् भने माथिल्लो डोल्पाका बस्तीहरूलाई जोड्ने बाटो त साताअघि नखुल्ने अनुमान गर्न सकिन्छ ।


बलाङ्ग्रा लेक र मौरे लेकमा ४ फिटभन्दा बढी हिउँ जमेका कारण बाटो अवरुद्ध भई जुम्लाबाट काइगाउँ हुँदै दुनै आउने तथा जाने हुलाक सेवा अवरुद्ध भएको जिल्ला हुलाक कार्यालय डोल्पाले जनाएको छ । हिमपातले गाउँघरमा कामकाजदेखि लिएर सबै चहलपहलमा कठिनाइ आएको छ ।


यही माघ महिनाभित्र तेस्रोपटक नदीको किनारैसम्म हिउँ जम्ने गरी हिमपात भएकाले वातावरण निकै चिसो बनेको छ । हिमपातले चिसो बढेकाले जनजीवन कष्टकर बनेको किर्डाक नेपालका ओमबहादुर चन्दले बताए । उनले थपे आफ्नो गाउँ तालीमा गाईबस्तुहरू चराउन त के पानी खुवाउन धारा तथा खोलासम्म लिन जानसमेत समस्या भएकाले गोठमै घसाएर राखिएको छ । यो अवस्था डोल्पाका सबै गाउँमा देखिएको छ ।


हिमपातले चैत १० गतेबाट हुने एसईई परीक्षाको तयारीका लागि सञ्चालन भएका ट्युसन कक्षाहरू समेत तीन दिनदेखि अवरुद्ध रहेका छन् । सरकारी कार्यालयहरूमा समेत हिमपातले चिसो भई सेवाग्राही निकै कम भएको सरकारी कार्मचारीहरू बताउँछन् ।

डोल्पाको सबैभन्दा होचो स्थान त्रिवेणीमा ३ इन्च हिउँ जमेको छ भने उच्च बस्तीहरूमा ३ फिटसम्म हिउँ जमेकाले जनजीवन निकै कष्टकर बनेको हो ।


हवाई लगायतका यातायातका सेवा अवरुद्ध भएकाले डोल्पा आउने नेपालगन्जमा र नेपालगन्जबाट सुर्खेत जाने जुफाल विमानस्थलमा ३ दिनदेखि यात्रुहरू अलपत्र परेका छन् । हिमपातले चिसोका कारण जनजीवन निकै कष्टकर बनेको भए पनि कृषकहरूमा भने खुसी बढेको छ । माघमा भएको हिमपातले जमेको हिउँ लामो समयसम्म रहने र यसले आगामी अन्नबाली तथा वातावरणमा राम्रो गर्ने भन्दै कृषकहरू खुसी भएका छन् ।


हिउँको वर्षा

मुगु– जिल्लामा प्रतिदिन हिउँमाथि हिउँ थपिंदै जान थालेको छ । हिमालदेखि बेंसी क्षेत्रका खोला, वनपाखाहरूमा हिउँ ढपक्कै ढाकिएका छन् । पहिलो र दोस्रोपटक हिउँ पर्दा उत्साहित स्थानीय, कर्मचारी बारम्बार हिउँ थपिन थालेपछि उराठ मान्न थालेका छन । शुक्रबार राति फेरि गमगढी बजार क्षेत्रमा सेताम्मे हुने गरी हिउँ परेको छ ।


लगातार झरी र हिउँले जनजीवन कष्टपूर्ण हुन थालेको छ । अब हिउँ र वर्षा पुग्यो, कहिले मौसम सुध्रिएलाभन्दा स्थानीय आकाशतिर हेर्न थालेका छन् । यो पटक हिउँ र झरीले वाक्क लगायो गमगढी बजार निवासी पदम रावलले भने । उच्च लेकाली बस्तीका स्थानीयलाई झन् कष्टकर हुन थालेको छ । गाउँमा जमेको हिउँ पग्लिन नपाउँदै फेरि हिउँमाथि हिउँ जम्न थालेपछि वरपर हिंड्डुल गर्न चौपाया वस्तु चराउन वन/जंगलबाट घाँस/दाउरा ल्याउन मुस्किल हुन थालेको छ ।


मुगु गाउँमा शुक्रबार राति परेको हिउँ र पहिलेको हिउँ गर्दा करिब ५ फिट पुगेको स्थानीयको भनाइ छ । पटक पटकको भारी हिमपातले गर्दा वन/जंगलमा औली, सल्लो, लेकाली सल्लो, बाँझ, लालीगुराँसका रूख ढलेका छन् । मुगु गाउँका स्थानीयलाई घर बाहिर निस्कन गाह्रो भएको छ सोवा, बाम, मुर्मा, डोल्फु, चितै, पापुलगायत बस्तीमा तीन फिट हिउँ जमेपछि पशुदेखि मानवीय जनजीवन कष्टकर बनेको छ । चौंरी गोठहरू हिउँले पुरिन थालेका छन् ।


मुन्दु, कोटिला, रोवा, र्‍याङच्याकटी, शोभा गाउँका स्थानीय भेडाबाख्रा चराउन जंगलतिर लैजान नसक्दा गोठभित्र थुनेर राख्न बाध्य छन् । हिउँले गर्दा अन्न सुकाएर कुटपिन गर्न कठिनाइ भएको छ । पर्यटकीयस्थल रारामा चार फिट हिउँ जमेको होटलवालाले जानकारी गराए । हिउँले गर्दा यातायात सेवादेखि घोरेटो बाटो अवरुद्ध हुँदा स्थानीयलाई सास्ती हुन थालेको छ । दुई/तीनदेखि रारा विमानस्थलमा जहाज नचल्दा नेपालगन्ज–सुर्खेत झर्ने र मुगु आउने यात्रु एयरपोर्टमा अलपत्र परेका छन् ।


एक दर्जन यात्रु रारा एयरपोर्टको होटलमा बस्न बाध्य भएका छन् । गमगढी नाग्मा सडक खुलाउन सडक डिभिजन कार्यालयबाट एस्काभेटर ल्याएर आएका कर्मचारीलाई झन् कठिन भएको छ । हिउँ पन्छाएको सडक फेरि सेताम्मे बनेको छ । गमगढी बजारमा एसईई

परीक्षार्थीलाई बिहान–बेलुका ट्युसन पढ्न मुस्किल भएको छ । हिमपात र झरीका कारण एसईईका विद्यार्थीलाई ट्युसन पढ्न मुस्किल भएको महाकाली माध्यमिक विद्यालयकी शिक्षिका सम्झना शाहले बताइन् ।


झरी र हिउँले छायानाथ रारा नगरपालिकाको झापागाडा, ताल्चा, कार्कीबाडा, हेन्निकाँध, निगालेलगायत बस्तीका किसानहरूको हिउँदे तरकारी बन्दा, काउली, साग नष्ट भएको छ । प्लास्टिक टर्नेलमा क्षति पुगेको छ । हिउँले बन्दा, काउलीलाई क्षति गरेको कार्कीबाडा गाउँका तरकारी कृषक बालचन्द कार्कीले बताए ।


यातायात सेवा अवरुद्ध हुँदा जिल्लामा औषधि अभाव हुने संकेत देखिएको जिल्ला अस्पतालका चिकित्सक डबल मल्लको भनाइ छ । विकास निर्माणका कामकाज ठप्प हुन थालेका छन् । हिउँले आँखा दुख्ने, चिसो बढेर रुघाखोकी, ज्वरो देखा पर्ने चिकित्सकको भनाइ छ कर्मचारीहरूलाई कार्यालय जान, आउन मुस्किल हुन थालेको छ ।


गाउँबस्तीका स्थानीयलाई खाद्यवस्तु किनमेल गर्न गमगढी बजारतिर आउन समस्या भएको छ । लेकाली बस्तीमा टाढाबाट पाइपमार्फत ल्याएको पानी पनि जम्दा हिउँ पगालेर पानी निकाल्नुपर्ने अवस्था आएको छ । भरी र हिमपातले गर्दा गमगढी बजार क्षेत्रको व्यापार घटेको व्यापारीको भनाइ छ ।

प्रकाशित : माघ २७, २०७५ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?