२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

चिसोले कामकाज प्रभावित

बाक्लो हिउँ जमेकाले एक गाउँबाट अर्को गाउँ जानै समस्या भएको स्थानीयको भनाइ छ 
बिष्णुलाल बुढा

डोल्पा — करिब एक साताअघि परेको भारी हिमपातका कारण अत्यधिक चिसो बढेपछि जिल्लाका सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ । सरकारी कार्यालयमा सेवाग्राहीको उपस्थिति न्यून भएपछि सरकारी सेवा प्रवाहमा समस्या भएको हो । 

चिसोले कामकाज प्रभावित

चिसोले माथिल्लो डोल्पाका विभिन्न गाउँपालिकाको जनजीवन प्रभावित भएको छ । सरकारी कामकाज ठप्प छ । बाक्लो हिउँ जमेकाले एक गाउँबाट अर्को गाउँ जानै समस्या भएको स्थानीयको भनाइ छ । एक सातादेखि गाउँपालिका कार्यालयमा कोही पनि सेवा लिन नआएका कारण कुनै पनि काम नभएको छार्काताङ्सोङ गाउँपालिका अध्यक्ष सेनाङ गुरुङले फोनबाट जानकारी दिए ।


उनका अनुसार चिसोका कारण माथिल्लो डोल्पाका सबै गाउँपालिकामा कामकाज ठप्प भएको छ । शेफोक्सुण्डो, छार्काताङसोङ र डोल्पोबुद्ध गाउँपालिकामा गाउँपालिकाको कार्यालय खोल्ने र बन्द गर्ने बाहेक अरू कुनै पनि काम हुन नसकेको एक कर्मचारीले जानकारी दिए ।


सरकारी कामकाज तथा सरकारी सेवा लिनका लागि चिसोका कारण सेवाग्राही नआएकाले सेवा प्रवाह करिब शून्य अवस्थामा छ रहेको शेफोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसिटुन्डुप गुरुङले बताए । उनका अनुसार माथिल्लो डोल्पाका गाउँगाउँमा हिउँ जमेर सेताम्मे बनेको छ । चिसोका कारण घाम लागेको बेला छतमा बसेर घाम ताप्ने र हावा चल्न थालेपछि घरभित्र बसेर आगो ताप्ने गरिएको छ ।


मध्य तथा तल्लो डोल्पाका स्थानीय तहमा समेत सेवाग्राहीको उपस्थिति धेरै कम रहेको ठूली भेरी नगरपालिका–२ का वडाध्यक्ष देवी रोकायाले बताए । उनका अनुसार हिउँदमा चिसो हुने भएकाले स्थानीयहरू सरकारी सेवा लिन कमै आउने गरेका छन् । मध्य डोल्पाका काइके गाउँपालिका, ठूलीभेरी र त्रिपुरासुन्दरी नगरपालिका, तल्लो डोल्पाका जगदुल्ला र मुडेचुला गाउँपालिकामा चिसोले सेवा लिन आउनेको संख्यामा निकै कमी आएको कर्मचारीको भनाइ छ । सदरमुकामका सरकारी कार्यालयमा पनि सेवाग्राहीको उपस्थिति न्यून रहेको कर्मचारी बताउँछन् ।


जिल्ला सदरमुकाम केन्द्रित कार्यालयमा सेवाग्राहीको संख्या न्यून रहेको प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताए । ‘चिसोको कारणमात्र भन्दा पनि हिउँदको समयमा स्थानीयबासी विभिन्न कामले तराई तथा प्रदेश राजधानी सुर्खेतलगायत ठाउँमा जाने भएकाले सेवाग्राहीको संख्या कम भएको हो,’ उनले भने,‘चिसोका कारण सदरमुकाममा समेत स्थानीयको चहलपहल कम छ ।’

प्रकाशित : माघ २३, २०७५ १०:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?