मिस्त्री पाउनै मुस्किल

कामलाई सम्मान नगर्ने, युवाको विदेश पलायन र युवाले सिक्न र काम गर्न नचाहँदा मिस्त्री अभाव हुन थालेको स्थानीयको भनाइ छ
करिश्मा चौधरी

वीरेन्द्रनगर — कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरमा भवन निर्माणको चाप बढ्दै जाँदा निर्माण कार्यमा संलग्न मिस्त्री अभाव हुन थालेका छन् । नगरभित्र पछिल्लो समय भवनसँगै अन्य भौतिक संरचना निर्माणको काम बढ्दै गर्दा निर्माणमा संलग्न जनशक्ति भने अभाव हुन थालेको हो । 

मिस्त्री पाउनै मुस्किल

०६८ जनगणना अनुसार २३ हजार सात सय १० घरधुरी रहेको नगरपालिकामा चालु आर्थिक वर्षको अहिलेसम्ममा पाँच सय २८ घरको मापदण्ड अनुसारको नयाँ दर्ता भएको छ । त्यस्तै तीन सय ८६ घरको नक्सा पास भएको छ ।


यसै अवधिमा करिब तीन सय घर निर्माण सम्पन्न भएका छन् । आर्थिक वर्षको आधा समयमै मापदण्ड अनुरूप बनेका घरको तथ्यांकले पनि नगर क्षेत्रमा भवन निर्माणको गति थाहा पाउन सकिन्छ । कति घर आफू अनुकूल पनि बनिरहेका छन् । भवन निर्माणको गति जस्तै निर्माणमा संलग्न डकर्मी, पलम्बर, काठका काम गर्ने लगायतका मिस्त्री उत्पादन हुन सकेका छैनन् ।


कामलाई सम्मान नगर्ने, युवाको विदेश पलायन, युवाले सिक्न र काम गर्न नचाहँदा मिस्त्री अभाव हुन थालेको स्थानीयको भनाइ छ । जसले गर्दा सुर्खेतमा अधिकांश जनशक्ति बाहिरबाट ल्याउनुपर्ने बाध्यता रहेको निर्माण व्यवसायी बताउँछन् । त्यस्तै मध्येका एक बर्दियाका तीर्थबहादुर चौधरी पनि हुन् ।


डकर्मी काम गर्न आफू सुर्खेत आएको उनले बताए । विगत तीन वर्षदेखि सुर्खेतमा बसेर उनले डकर्मी काम गरिरहेका छन् । आफूमात्रै नभएर आफन्त र साथीहरू पनि कामका लागि सुर्खेत आएको उनी बताउँछन् । ‘आफ्नो जिल्लामा भन्दा काम र ज्याला धेरै पाइन्छ,’ उनले भने, ‘धेरैजसो समय सुर्खेतमै बसेर काम गर्छु, बर्खामा मात्रै घर पुग्छु ।’


जिल्लामा तीन सय २० निर्माण व्यवसायी निर्माण व्यवसायी संघ सुर्खेतमा आबद्ध छन् । संघमा आबद्ध नभएका पनि निजी घर तथा भौतिक संरचना निर्माणमा संलग्न छन् । त्यो संख्या यकिन नभए पनि जिल्लामा पुग्दो जनशक्ति भने नभएको निर्माण व्यवसायी संघ सुर्खेतका महासचिव हर्षविक्रम खड्काले बताए । ‘दक्ष जनशक्ति उत्पादनमा कमी छ,’ उनी भन्छन्, ‘युवाहरूले मिस्त्री काम कमै सिक्ने र भएका पनि विदेशिने गर्दा सुर्खेतमा मिस्त्रीको कमी भएको हो ।’


जिल्लाका ठूला विकास निर्माण कार्यका लागि अधिकांश जनशक्ति जिल्ला बाहिरका रहेको खड्का बताउँछन् । ‘७५ प्रतिशत जिल्ला बाहिरका जनशक्ति छन्,’ उनले भने, ‘जसले गर्दा मिस्त्रीको ज्याला पनि बढेको छ ।’ बाँके, बर्दियासँगै अन्य जिल्ला र भारतबाट आएका जनशक्तिले निर्माणको काम गरिरहेको खड्काले जनाए ।


‘पाँच वर्ष अघिसम्म मिस्त्रीको लागि धेरै समस्या थिएन,’ वीरेन्द्रनगरका दलबहादुर नेपालीले भने, ‘अहिले मिस्त्री पाउन गाह्रै पर्छ ।’

प्रकाशित : माघ २०, २०७५ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?