१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फोहोर व्यवस्थापन कार्यविधि बन्यो

पान, पुकार र गुट्का जस्ता सुर्तीजन्य पदार्थ जथाभावी फालेमा नगरपालिका वा सम्बन्धित वडाले प्रत्येक पटक एक सय रुपैयाँ जरिवाना लिनेछ । 
करिश्मा चौधरी

वीरेन्द्रनगर — वीरेन्द्रनगर–६ वडा कार्यालयले तयार पारेको ‘फोहोरमैला व्यवस्थापन कार्यविधि’ लाई नगर कार्यपालिकाले पारित गरेको छ । कार्यविधि पारित भएसँगै कार्यान्वयनको चरणमा लगिएको नगरपालिकाले जनाएको छ । 

कार्यविधि अनुसार वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमा जथाभावी फोहोर फाले जरिवाना तिर्नुपर्नेछ । पान, पुकार र गुट्का जस्ता सुर्तीजन्य पदार्थ जथाभावी फालेमा नगरपालिका वा सम्बन्धित वडाले प्रत्येक पटक एक सय रुपैयाँ जरिवाना लिनेछ । एउटै व्यक्तिले पटक पटक फोहोर फालेमा थप एक सय रुपैयाँ जरिवाना तिर्नुपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ ।


वीरेन्द्रनगरको मुख्य बजार क्षेत्र प्रदूषित हुन थालेपछि नगरपालिकाले फोहोर व्यवस्थापनमा कडाइ गर्न थालेको हो । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगरको मुख्य बजार क्षेत्रमै फोहोर बढ्न थालेपछि त्यसको व्यवस्थापन गर्न नगरपालिकाले कार्यविधि तयार पारेको छ । नगरपालिकाले तोकिएको स्थानबाहेक जथाभावी फोहोर फालेमा पहिलो पटक पाँच सय रुपैयाँ जरिवाना तिर्नुपर्ने छ ।


पटक पटक जथाभावी फोहोर फाले पटकै पिच्छे दोब्बर जरिवाना र फोहोर उठाउन लाग्ने खर्चसमेत नगर वा वडाले असुल उपर गर्न सक्नेछ । कार्यविधिमा फोहोर संकलनमा प्रयोग गरिने सवारीमाथि तोडफोड गरे, क्षति पुर्‍याए वा फोहोर संकलन केन्द्रमा नोक्सानी गरे पाँच सयदेखि २५ हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ । साथै सवारीसाधन संकलन केन्द्र व्यवस्थापन गर्न लाग्ने खर्चसमेत असुल उपर गरिने व्यवस्था गरिएको छ ।


अनुमति नलिएसम्म फोहोर उठाउन रोक लगाउने र समयमा फोहोर संकलन नगरे जरिवानासँगै अतिरिक्त खर्च सम्बन्धित पक्षबाट असुली गर्ने व्यवस्था गरिएको छ । फोहोर फाल्ने ठाउँमा हानिकारक पदार्थ फाले वा थुपारेमा २ हजार पाँचसयदेखि दस हजार रुपैयाँसम्म जरिवाना हुनेछ ।


यस्तो फोहोर सडक वा अन्य सार्वजनिक स्थानमा राखे वा फालेमा नगरपालिका वा सम्बन्धित वडाले पाँच हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म जरिवाना गर्न सक्ने वडाध्यक्ष मोतिप्रसाद कँडेलले जनाए ।


वडाध्यक्ष कँडेलका अनुसार फोहोरमैला व्यवस्थापनमा अवरोध गर्ने र हडताल गर्नेलाई पाँच हजारदेखि २५ हजार, सरकारले प्रतिबन्ध लगाएको वस्तु उत्पादन तथा बिक्री वितरण गर्नेलाई पाँच हजारदेखि १० हजार रूपैयाँसम्म जरिवाना गराउन सक्ने वा तीन महिनासम्म कैद वा दुवै सजाय हुन सक्नेछ ।


फोहोरमैला व्यवस्थापनसम्बन्धी कसुर गरेको ठहरिएमा पाँच हजारसम्मको जरिवाना वडा समितिको कार्यालय र त्यो भन्दा माथिको जरिवानाको हकमा नगरपालिकासँग वडाले प्रस्ताव गर्नुपर्ने उनले जनाए ।


नगरपालिकाका अनुसार घरपालुवा पशुपंछी छाडा छोड्नेलाई पनि जरिवाना तिर्नुपर्नेछ । एउटा पशुपंछी छाडा छोडेबापत पाँच सय रुपैयाँसम्म जरिवाना तिर्नुपर्ने वडाध्यक्ष कँडेलले बताए । अनुमति नलिई व्यावसायिक पशुपंक्षी पालन गरेमा पहिलोपटक दुई हजार पाँच सय जरिवाना गरी ३५ दिनभित्र हटाउन वा त्यो म्यादमा नहटाए तीन महिनासम्म मासिक पाँच हजारका दरले जरिवाना वा फर्म बन्द गर्न सक्ने छ ।


फोहोर उठाएबापत नगरपालिकालाई प्रति घरधुरी मासिक ५० देखि एक सय रुपैयाँ तिर्नुपर्ने कँडेलको भनाइ छ । नर्सिङ होम र होटेल व्यवसायीले तीनदेखि पाँच हजार रुपैयाँ फोहोर व्यवस्थापनबापत सेवा शुल्क तिर्नुपर्ने उनले जानकारी दिए ।

प्रकाशित : माघ ११, २०७५ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?