कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

जाजरकोटमा औषधि अभाव 

भीमबहादुर सिंह

जाजरकोट — जाजरकोटका स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । स्वास्थ्य संस्थामा सिटामोल समेत नपाउँदा बिरामी निजी मेडिकलबाट औषधि किन्न बाध्य छन् । 

जाजरकोटमा औषधि अभाव 

प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर लगायत दुई दर्जन स्वास्थ्य संस्थामा औषधि अभाव भएको हो । स्वास्थ्य संस्थामा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सीसिलीन, कोर्टीन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामीन बी कम्प्लेक्स, आरएल, क्योमक्स लगायत अति आवश्यक औषधिको अभाव छ । ज्वरो, आउ, रुघाखोकी, ग्याष्ट्रिक, पखाला, पेट दुख्ने लगायत रोगको औषधि अभाव भएको प्राथमिक स्वास्थ्य केन्द्र दल्लीका प्रमुख डा सञ्जय यादवले बताए ।


स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका विरामीलाई नियमित खुवाउने औषधी नभएको डा यादवले बताए । त्यस्तै स्वास्थ्य संस्थामा गज, कटन, ग्लोब्स, आरएल लगायत नभएको उनले बताए । दैनिक ६०/७० जना विरामी उपचारका लागि आउने गरेको उनले बताए ।


स्थानीय तहले औषधि खरीद तथा आपुर्तिलाई बेवास्ता गर्दा अभाव भएको हो । स्वास्थ्य संस्थामा उपचारका लागि आएका बिरामी औषधि नपाएर रित्तो हात घर फर्कने गरेका छन् । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकार भन्दा बढी औषधी उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् ।


औषधि खरीदका लागि बार्षिक बजेट नै कम हुँदा समस्या भएको हो । सरकारले निशुल्क वितरण गर्ने कुनै पनि औषधि अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध नभएको डा यादवले बताए । दुर्गम गाँउबाट अस्पतालमा आएका बिरामीहरुलाई सामान्य चेकजाँच पछि निजी मेडिकलतिर औषधि किन्न पठाउनु पर्ने बाध्यता भएको डा यादवले बताए ।


स्वास्थ्य संस्थामा औषधी अभाव भएको २/३ महिना बित्दा पनि सम्बन्धित निकाय वेखबर रहेको स्थानीय रामबहादुर शाहीले बताए । अस्पतालमा ज्वरोको उपचारका लागि सिटामोल सिरफ समेत नपाएको भेरी नगरपालिका १३ की सिर्जना रोकायले बताइन् । ‘बिरामीलाई सिटामोल र ब्रोफिन समेत निजी मेडिकलबाट किन्न लगाउने कस्तो सरकार हो ?’ उनले भनिन् । स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सयौं बिरामी निजी मेडिकलमा महंगो औषधि किन्न बाध्य छन् ।

प्रकाशित : आश्विन १३, २०७५ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?