कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

मुगुमा खाद्यान्न अभाव: बाटो ढुकेर चामल खोसाखोस

बाटो ढुकेर चामल खोसाखोस
राजबहादुर शाही

मुगु — डेढ महिनादेखि गमगढी– नाग्मा सडक अवरुद्ध हुँदा सदरमुकाममा चामल अभाव भएको छ । ढुवानी नहुँदा स्टक सकिँदै गएको छ । खाद्य संस्थान र बजारका अधिकांश पसलमा चामल छैन । पिना र झयारी खालो लगायत क्षेत्रबाट ट्याक्टरमा ढुवानी गरिएको चामल सदरमुकाम गमगढी नपुग्दै खोसाखोस भइरहेको छ ।

मुगुमा खाद्यान्न अभाव: बाटो ढुकेर चामल खोसाखोस

ट्याक्टरमा चामल आउने थाहा पाएपछि स्थानीयवासी बाटो ढुकेर खोसाखोस गर्न थालेका हुन् । कर्मचारी समेत व्यवसायीलाई अग्रिम रकम बुझाएर चामल खरिद गर्न थालेका छन् ।


गमगढीमा एक किलो चामल समेत पाउन मुस्किल हुन थालेको छायाँनाथ रारा नगरपालिकाको शोभागाउँका गगन बुढाले बताए । चामल नपाएपछि होटल व्यवसायमा समस्या आएको छ ।
गाउँबाट चामल लिन गमगढी आएका स्थानीय रित्तै फर्किन बाध्य छन् । चामल नपाएपछि रित्तो हात गाउँ फर्कन थालेको सोरु गाउँपालिका–४ का रामबहादुर शाहीले बताए । खाद्य संस्थान र पसल दुवैमा अभाव भएपछि समस्या भएको उनको भनाइ छ ।


अहिले खाद्य संस्थानको गोदाममा तीन सय क्विन्टल मात्र चामल स्टक रहेको शाखा प्रमुख भरतराज खनियाँले बताए । ‘सडक लामो समयदेखि अवरुद्ध हुँदा ढुवानी गर्न सकिएको छैन,’ उनले भने, ‘यसपालि धेरै अभाव भयो, बजारमा पनि चामल सकिएको छ ।’


नेपालगन्ज र सुर्खेतबाट आएको चामल सदरमुकाम नपुग्दा समस्या भएको व्यावसायीले जनाएका छन् । झयारीखोलाबाट धौधौ गरी ट्याक्टरमा ल्याएको चामल गमगढी नपुग्दै बीच बाटोमै खोसाखोस हुने गरेको लुम्बिनी अर्डर एन्ड सप्लायर्सकी प्रोपराइटर सुमित्रा रावलले बताइन् । ‘रकम भएर पनि स्थानीयले चामल किन्न पाएका छैनन्,’ उनले भनिन्, ‘सडक अवरुद्ध हुँदा चामललगायत खाद्यान्नको चरम अभाव भएको छ ।’ उनका अनुसार मैदा, तेल र चिउरालगायत खाद्यान्न स्टक छैन ।


उद्योग वाणिज्य संघका अध्यक्ष कमल बुढाले सडक नखुल्दा सबै दैनिक उपभोग्य सामग्रीको अभाव हुन थालेको बताए । गमगढीमा चामल नहुँदा हुम्लाको तल्लो भेग तथा आसपासका स्थानीयलाई समेत असर परेको उनले जनाए ।


सडक सुचारु गर्न सडक डिभिजन लगायतका निकायलाई निर्देशन दिएको सहायक प्रजिअ प्रदीप ढकालले बताए ।


सडक डिभिजनले एक्साभेटर लगाएर सडक सडक खुलाउने प्रयास गरिरहेको छ । वर्षाका कारण धेरै ठाउँमा पहिरो गएकाले पन्छाउन ढिलाइ भइरहेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २६, २०७५ १०:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?