द्वन्द्वपीडित महिलासँग नाचे सांसद

रुकुम पश्चिम — ५ नम्बर प्रदेशसभाको भौतिक पूर्वाधार विकास समितिकी सभापति आशा स्वर्णकार रुकुम पश्चिमको सदरमुकाममा छिन् । कर्णाली प्रदेशसभा सदस्य देवी ओली पनि जिल्ला आएको दुई दिन भयो ।

द्वन्द्वपीडित महिलासँग नाचे सांसद

उनीहरू दुवै विकास निर्माण तथा अन्य कार्यक्रमका लागि यहाँ आएका होइनन् । द्वन्द्वपीडित महिलाहरूसँग तीज मनाउने मुख्य उद्देश्य उनीहरूको हो ।


दस वर्षसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा राज्य र विद्रोही पक्षबाट मारिएकाहरूका आफन्त महिलाहरूले गरेको तीज विशेष कार्यक्रममा सहभागिता जनाउन उनीहरू यहाँ पुगेका हुन् । ओली साविक रुकुमको शान्ति समितिको संयोजकसमेत थिइन् । स्वर्णकारले शान्ति समितिको सदस्यको रूपमा लामो समय द्वन्द्वपीडितसँग काम गरिन् ।


‘द्वन्द्वपीडित महिलाहरूले कार्यक्रम आयोजना गर्नुभएको रहेछ, वर्षमा एक पटक आउने तीजमा दु:खसुख बाँडौं भनेर हामी पनि आयौं,’ स्वर्णकारले भनिन्, ‘पहिले सँगै काम गरियो उतिबेलैदेखि एकअर्कालाई दु:खपीडा बाँडेको बानी कायमै छ ।’ स्वर्णकारले रुकुम पूर्वबाट ५ नम्बर प्रदेशसभामा प्रतिनिधित्व गर्छिन् । अर्को जिल्ला र अर्कै प्रदेश भए पनि आफू द्वन्द्वपीडित महिलासँग भलाकुसारी गर्न यहाँ आइपुगेको भनाइ उनको छ ।


द्वन्द्वपीडितसँग लामो समय काम गरेको कारणले उनीहरूको खुसी र सुखमा सँगै हुन मन लाग्ने सांसद ओलीले बताइन् । बेलाबेला हुने यस्ता जमघट तथा कार्यक्रमले द्वन्द्वपीडितलाई सहयोग पुग्ने ओलीले बताइन् । ‘हाम्रा आफन्त गुमे पनि हामीसँग सरकार र सरोकारवाला हामीसँगै छन् सहयोग भइरहेको छ भन्ने महसुस उहाँहरूलाई हुन्छ, पीडितलाई थोरै भए पनि सहयोग हुन्छ भने हामीले किन समय नदिने, हामीसँगै किन ननाच्ने भनेर सँगै नाचियो,’ ओलीले भनिन् ।

द्वन्द्वपीडितहरूको संस्था संक्रमणकालीन न्याय तथा शान्ति मञ्चको आयोजना तथा मानवअधिकार तथा कानुनी सेवा केन्द्र हरप्लेसको संयोजनमा कार्यक्रम भएको थियो । संक्रमणकालीन न्याय तथा शान्ति मञ्चकी अध्यक्ष विष्णु देवकोटाले आफन्त मारिएकै कारण तीज नमाउने चलन गलत भएको बताइन् । श्रीमान् मारिएपछि व्रत बस्नुहुन्न, नाचगान गर्नुहुन्न भन्नेजस्ता गलत चलनविरुद्ध पनि आफूहरूले यस्ता कार्यक्रम गर्ने गरेको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २५, २०७५ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?