कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

३ घन्टा हिँडेर विद्यालय

सल्यान — जिल्ला शिक्षा कार्यालयको अनुमतिमा शारदा नगरपालिका–११, पेदीखोलामा रहेको जनसेवा माविमा २०६६ देखि २०७३ सम्म माध्यमिक तहको पढाइ भयो ।

३ घन्टा हिँडेर विद्यालय

अहिले माध्यमिक र निम्नमाध्यमिक बन्द भएका कारण बालबालिकाहरू तीन घन्टा हिँडेर हिबल्चाको महेन्द्ररत्न माविमा जान बाध्य छन् ।


निजी स्रोतमा भर्ना गरेका शिक्षकले तलब खान नपाउँदा विद्यालय छाडेका कारण कक्षा १० बाट एकै पटक पाँचमा झर्दा मावि, निमावि तह बन्द भएको हो । यसले लामो समय हिँड्नुपर्दा बालबालिकालाई सास्ती भएको छ ।


वर्षातको समयमा सडकभरि आएको पहिरो र खोल्साखाल्सीमा ठूला पानी बग्ने गरेकाले नियमित विद्यालय जान नसकिएको कक्षा ८ मा अध्ययनरत निर्मल रोकाले बताए । उनका अनुसार गाउँमै विद्यालय हुँदा कति सजिलो थियो । ‘स्कुल नजिक हुँदा लाईन लाग्ने बेला गए पनि हुन्थ्यो,’ उनले भने, ‘अहिले त बिहान ७ बजे नै स्कुल जाने तयारी गर्नुपर्छ ।’


कक्षा ६ देखि १० सम्मको पढाइका लागि गाउँबाट ५० जनाभन्दा बढी विद्यार्थी जाने गरे पनि वर्षातका कारण नियमित पढाइका लागि जाने २० भन्दा बढी हुँदैनन् । ९ कक्षामा अध्ययनरत शालिकराम बस्नेतले विद्यालय टाढा भएकाले बिहान खाना खानुअघि नै स्कुल जाने तयारी गर्नुपर्ने बाध्यता रहेको बताए ।


कक्षा ५ उत्तीर्ण भएपछि आफ्ना बालबालिकालाई कहाँ लगेर पढाउने भन्ने समस्या भएको स्थानीय तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छविलाल रावतले बताए । ‘पहिला कक्षा १० सम्म पढाइ हुन्थ्यो, धेरै विद्यार्थी आउँदा कति रमाइलो हुन्थ्यो,’ उनले भने, ‘अहिले विद्यालयमा बालबालिका देखिन छाडेपछि तीन स्थानीय तहको केन्द्र मानिने पेदिखोला सुनसान भएको छ ।’


कक्षा १० सम्म महेन्द्र माविभन्दा बाहिर नजाने र प्लस टु पढ्नका लागि शारदा नगरपालिको श्रीनगरमा बालबालिकालाई कोठा भाँडा लिई पढाउनुपर्ने अवस्था रहेको उनले बताए ।


विद्यालयले गरेको लापरबाहीका कारण स्थानीय तथा विदेशमा बस्दै आएकाले सहयोग गर्न छाडेको नेत्रवीर पुनले बताए । यसले गर्दा हिजोआज शिक्षकले पढाउन मतलब गर्न छाडेको उनले जानकारी गराए । यसले गर्दा विद्यालयमा विद्यार्थी संख्यासमेत घट्दै गएको उनको गुनासो छ ।


मावि सञ्चालन गरेको विद्यालयमा भौतिक तथा फर्निचर प्रयाप्त भए पनि शिक्षक नहुँदा समस्या भएको प्रधानाध्यापक तोरणप्रसाद बुढाथोकीले बताए ।


उनले कक्षा पाँचसम्म सञ्चालित विद्यालयमा अहिले ४० भन्दा बढी विद्यार्थी नभएको र विद्यालयमा दुई स्थायी दरबन्दी र एक निजी गरी तीन जना मात्र शिक्षक रहेको जानकारी गराए । उनका अनुसार शिक्षक नहँुदा चार/पाँच, दुई/तीनलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । ‘विद्यार्थी, अभिभावक र विदेशीको सहयोगबाट आठ वर्षसम्म मावि सञ्चालन गरेको थियौं,’ उनले भने, ‘सम्बन्धित निकायले सहयोग नगरेपछि भएका शिक्षकले छाडेर अन्यत्र गएकाले समस्या भयो ।’


जिल्ला शिक्षा कार्यालयलगायत अन्यले सहयोग नगर्दा शिक्षकलाई अहिलेसम्म २ लाख ५० हजार रुपैयाँ तलब तिर्न बाँकी रहेको उनले बताए । माध्यमित तथा निम्नमाध्यमिक तह बन्द गर्नुपरेपछि झन्डै दुई सय परिवारका २ सय ५० बालबालिका प्रभावित भएको उनको भनाइ छ ।

प्रकाशित : भाद्र २५, २०७५ १०:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?