१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

विद्यालयमा तालाबन्दी

रुकुम पश्चिम — प्रक्रिया मिचेर शिक्षक तथा कर्मचारी भर्ना गरिएको भन्दै त्रिवेणी गाउँपालिका–६, बाँठाकोटको भीमकल्याण आधारभूत विद्यालयमा अभिभावकले तालाबन्दी गरेका छन् ।

विद्यालयमा तालाबन्दी

गाउँपालिको शिक्षा युवा तथा खेलकुद शाखाबाट अनुदानबापत प्राप्त कोटामा मनोमानी ढंगबाट शिक्षक तथा कर्मचारी भर्ना गरिएको भन्दै अभिभावकहरूले पाँच दिनअघि विद्यालय प्रशासनमा तालाबन्दी गरेका हुन् ।

शिक्षा युवा तथा खेलकुद शाखाको निर्देशिकाविपरीत विज्ञापन नै नगरी विद्यालयका शिक्षक तथा कर्मचारी भर्ना गरिएपछि आन्दोलनमा उत्रनुपरेको संघर्ष समितिका अध्यक्ष कुवेर ओलीले बताए ।

विद्यालयको पठनपाठन अवरुद्ध नहुनेगरी विद्यालय प्रशासनमा ताला लगाइएको र माग सम्बोधन नभएसम्म ताला नखोलिने ओलीले जनाए । विद्यालयले विज्ञापन नै नगरेर कम्प्युटर शिक्षकमा राजनकुमार ओली, लेखा तथा कार्यालय सहायकमा विवेक केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

ओलीले यसअघि गणित र केसीले अंग्रेजी विषय पढाउने गरेका थिए । गणित र अंग्रेजी पठनपाठन गराउने शिक्षकलाई अरू नै कोटामा नियुक्त गर्ने निर्णय गरेको विद्यालयले सामाजिक र विज्ञान विषयको विज्ञापन गरेको छ ।

८ गतेको मिति राखेर ११ गते मात्रै विज्ञापन गरिएको तर त्यसमा प्रमाणपत्र तह भौतिक शास्त्र योग्यताको विज्ञापन गरिएकाले आफूहरू आन्दोलनमा उत्रिएको अभिभावकले बताएका छन् । भदौ ८ गते कम्प्युटर र लेखामा कर्मचारी नियुक्त गर्ने निर्णय गरेको विद्यालयले १४ गते मात्रै ७ दिनको म्याद गुजारेको सूचना निकालेको आरोप अभिभावकले लगाएका छन् । गणित र अंग्रेजी पढाउने शिक्षकलाई कर्मचारीतिर नियुक्त गरेपछि पठनपाठनमा असर पर्ने भनाइ अभिभावकको छ ।

विधि र प्रक्रिया नपुर्‍याएर शिक्षक, कर्मचारी नियुक्ति गर्ने निर्णय गरेपछि अभिभावकले भाद्र ११ देखि नै विद्यालयलाई सचेत गराएका थिए । प्रक्रियाबाटै शिक्षक तथा कर्मचारी नियुक्तिको निर्णय गरेको प्रधानाध्यापक यज्ञबहादुर ओलीले बताए । विद्यालय प्रशासनका लगाइएको ताला खुलाउने विषयमा छलफल भए पनि निर्णयमा पुग्न नसकिएको उनले बताए । वडाअध्यक्ष राजेन्द्र पुनले विद्यालयले प्रक्रिया मिचेर काम गरेकाले त्यसलाई सच्याउन आग्रह गरिएको बताए ।

प्रकाशित : भाद्र २४, २०७५ १०:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?