कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

हुम्लाको परीक्षा केन्द्र सुर्खेत

हुम्ला — शिक्षक सेवा आयोगले सबै तहका शिक्षकको पदपूर्तिका लागि परीक्षा केन्द्र सुर्खेतमा तोकेपछि यहाँका परीक्षार्थीलाई सास्ती हुने भएको छ ।

हुम्लाको परीक्षा केन्द्र सुर्खेत

सडक यातायातको सुविधा नभएकाले जहाजमार्फत आउजाउमा समस्या हुने परीक्षार्थीको गुनासो छ । उनीहरूले परीक्षा केन्द्र जिल्लामै राख्न माग गरेका छन् ।

जिल्लाबाट ६ सय ७१ परीक्षार्थीले शिक्षक सेवा आयोगको परीक्षामा प्रतिस्पर्धा गर्दैछन् । शिक्षा विकास तथा समन्वय इकाईका अनुसार जिल्लाबाट मावितर्फ ४१, निमावि तहमा ८१ र प्राथामिक तहको शिक्षकका लागि पाँच सय ४९ जनाले फाराम भरेका छन् ।

साबिक कर्णाली अञ्चलका ५ र दैलेखबाट फाराम भरेका परीक्षार्थीको केन्द्र सुर्खेत तोकिएको छ । विगतमा निमावि र मावि तहको शिक्षकका लागि सुर्खेत र प्राथमिक तहका लागि जिल्लामै केन्द्र तोकिएको थियो । निजामती सेवातर्फको खरिदार पदका लागि जिल्लामै परीक्षा हुने गरेको छ ।

हवाईमार्गबाट परीक्षा दिन जाँदा एकजना परीक्षार्थीले कम्तीमा ५० हजार खर्च गर्नुपर्ने बाध्यता रहेको स्थानीय पूर्णबहादुर शाहीले बताए । उनले जिल्लाबाहिर गएर परीक्षा दिन आर्थिक र भौतिक रूपले समस्या भएको जनाए । ‘महँगोमा प्लेन चढेर जानै समस्या भयो,’ उनले भने, परिक्षार्थीको संख्या ठूलो रहेकाले टिकट पाउन समेत समस्या हुने देखिन्छ ।’

परिक्षार्थीले जिल्लामै परीक्षा केन्द्र राख्न माग गर्दै दुई दिनअघि शिक्षा मन्त्री, शिक्षक सेवा आयोग, जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद लगायतलाई ज्ञापनपत्र बुझाएका थिए ।
‘आयोगले जिल्लामै सेवा गर्न फाराम भरेका सयौं परिक्षार्थीको बाध्यता बुझेन,’ शाहीले भने, ‘परीक्षाकै लागि महँगो प्लेन चढेर जानुपर्ने बाध्यता भयो ।’

उनले खाना र बसाइमा समेत महँगो रकम खर्च हुने भएकाले परीक्षा बाहिर राखिनु अव्यावहारिक भएको बताए । स्थानीय श्यामजोर ऐडीले परिक्षा दिन सुर्खेत जाँदा र बस्दा ५० हजार रुपैयाँले समेत नपुग्ने बताए । परीक्षा दिन जाने अधिकांशले ठूलो रकम जुटाउन नसक्ने अवस्था रहेको उनले बताए ।

खर्च जुटाए पनि हवाई टिकट नपाउने समस्या हुने उनको भनाइ छ । परिक्षार्थीलाई परिक्षाको तयारीका साथै हवाई टिकट समस्याले तनाब हुन थालेको ऐडीले जनाए ।

हुम्लाबाट फाराम भरेका सबै तहका परिक्षार्थीका लागि जिल्लामै परिक्षा केन्द्र तोक्न सांसद रंगमति शाहीले प्रतिनिधि सभामा माग गरेकी थिइन् ।

उनले शिक्षामन्त्री लगायतका अधिकारीसँग भेटेर यसबारे ध्यानाकर्षण गराएको बताइन् । ‘निमावि र मावि तहको नभए पनि प्राथामिक तहको परीक्षा केन्द्र जिल्लामै राख्न सकिन्थ्यो,’ उनले भनिन्, ‘बाहिर केन्द्र राखिँदा प्रतियोगी परीक्षाबाट वञ्चित हुने अवस्था आयो ।’ दुर्गम क्षेत्रका परीक्षार्थीलाई असुविधा हुने भए पनि परीक्षाको मर्यादा कायम गर्न परीक्षा
केन्द्र बाहिर राखिएको आयोगका प्रशासकीय प्रमुख डा. तुलसी थपलियाले बताए ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?