२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

२५ शय्या अस्पताल चलाउँदै नगरपालिका

हरि गौतम

रुकुम पश्चिम — आठबीसकोट नगरपालिकाले २५ शय्याको अस्पताल सञ्चालन गर्न थालेको छ । अस्पतालका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले एक जना डाक्टर आठबीसकोट नगरपालिकालाई दिने भएको छ ।

२५ शय्या अस्पताल चलाउँदै नगरपालिका

डाक्टर उपलब्ध गराउन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र नगरपालिकाबीच सम्झौता भएको छ । प्रतिष्ठानका रजिस्ट्रार विश्वराज को र नगर प्रमुख गोर्खबहादुर केसीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । प्रतिष्ठान र नगरपालिकाबीच १० बुँदे सम्झौता भएको छ ।

प्रतिष्ठानले खटाएको तलबभत्ता प्रतिष्ठान आफैंले र यातायात खर्च दैनिक भत्ता प्रतिष्ठानको नियमानुसार नगरपालिकाले बेहोर्नेछ । प्रतिष्ठानले खटाएको डाक्टर अस्पतालको प्रमुख हुने, प्रतिष्ठान र नगरपालिकाको संयुक्त आयोजनामा विशेषज्ञ शिविर आयोजना गरिने, प्रतिष्ठानले उक्त अस्पतालमा टेलिमेडिसिन सेन्टर समेत स्थापना गर्ने सम्झौता भएको छ ।

अस्पतालका लागि अन्य पूर्वाधार तथा व्यवस्थापनका सबै काम पूरा भइसकेका छन् । हाललाई साविकको स्वास्थ्य चौकी र विद्यालय भवनको प्रयोग गरी अस्पतालको शैय्या बनाइएको छ ।

अन्यत्र गाभिएको आधारभूत विद्यालयका कोठा भत्काएर अस्पतालको शय्या राखिएको हो । अहिले ९ नम्बर वडाको राडीमा अस्थायी रूपमा अस्पताल सञ्चालन गरिने र अस्पतालको पक्की संरचना ११ नम्बर वडामा बनाइने नगरपालिकाले जनाएको छ ।

त्यसका लागि आधारभूत काम भइसकेको नगर प्रमुख केसीले बताए । ‘प्रत्येक नगरमा २५ शय्याको अस्पताल हुने परिकल्पना संविधानले गरेको छ, त्यसको कार्यान्वनमा हामी लागेका हौं,’ केसीले भने ।

असोजको दोस्रो हप्तासम्म अस्पताल सञ्चालनमा आइसक्ने गरी काम भइरहेको छ । अस्पतालका सम्पूर्ण काम कम्प्युटर प्रणालीबाटै गरिनेछ । त्यसका लागि शेयर प्रणाली जडान भइसकेको छ ।

अस्पतालको लाग आवश्यक प्राविधिकदेखि अन्य जनशक्ति, आवश्यक उपकरण, औषधी, बेड लगायतको व्यवस्था पूरा भइसकेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामबहादुर केसीले बताए । नगरपालिकाले विभिन्न पदमा २० जना कर्मचारी भर्ना गरिसकेको छ ।

रेडियाग्राफी एकजना, ल्याब टेक्निसियन एक, असिस्टेन्ट एक, अनमी ५, स्वास्थ्य सहायक २, अहेव २ जना, २ जना रिसेप्सनिस्ट, ४ जना स्वीपर भर्ना गरिएको छ । नगरको कार्यविधि अनुसार अन्तरंग बहिरंगको साथै डिजिटल एक्सरे, अल्ट्रा साउन्ड, इसिजी लगायतका सेवा अस्पतालले प्रवाह गर्नेछ ।

प्रकाशित : भाद्र २२, २०७५ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?