ढुंगामाटो बोक्दै कर्णालीका मन्त्री

सुर्खेत — शुक्रबार बिहानै मुख्यमन्त्री महेन्द्रबहादुर शाही वीरेन्द्रनगर नगरपालिका–६ स्थित सरस्वती बाल विकास केन्द्र विद्यालयको भवन निर्माणमा खटिए।


टिसर्ट–ट्रयाकमा सजिएका मुख्यमन्त्री शाही दलबल लिएर ढुंगामाटो बोक्न थाले। उनीसंगै कर्णाली सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल, कृषिमन्त्री विमला केसी पनि काममा खटिए।
प्रदेश सरकारको पहिलो बैठकले श्रमप्रति सम्मान बढाउन हरेक महिनाको १ र १५ गते श्रम दिवस मनाउने निर्णय गरेसँगै शुक्रबार मुख्यमन्त्री नेतृत्वको सरकारी टोली बाल विकास केन्द्रको भवन निर्माणमा खटिएको हो। उनले एक कोठे भवनको शिलान्यास पनि गरे। ०७१ सालको बाढीले बगाएको उक्त बाल विकास केन्द्र बजेट अभावले पुनर्निमार्ण हुन सकेको थिएन। प्रदेश श्रम दिवसका अवसरमा भवन शिलान्याससँगै तटबन्ध पनि निर्माण सुरु गरिएको छ।
जोखिमयुक्त बस्तीमा धनजनको क्षति नहोस् भनेर सरकारले बाढीपीडित बस्ती छेउको खोर्के खोलामा तटबन्ध निर्माण गरेको हो। मुख्यमन्त्री शाहीले जनतालाई सरकार नजिक छ भन्ने अनुभूति गराउन र उनीहरु स्वयंलाई यो कामप्रति हाम्रो पनि दायित्व छ भन्ने बोध गराउन आफै फिल्डमा खटिएको बताए।
त्यस्तै, मुख्यमन्त्रीले एक महिनाको आफ्नो पारिश्रमिक रकम उक्त बाल विकास केन्द्रलाई हस्तान्तरण गर्ने घोषणा गरेका छन्। आन्तरिक तथा कानुनमन्त्री भण्डारीले प्राकृतिक विपत्बाट हुने जोखिमलाई कम गर्न प्रदेश सरकारले पूर्वसावधानीका साथ काम गरेको बताए। ‘समाजमा आइपर्ने प्राकृतिक तथा मानवीय विपतप्रति सरकार संवेदनशील छ,’ उनले भने। सामाजिक विकासमन्त्री दल रावलले सरस्वती टोल बालविकास केन्द्र स्थापनाका लागि मन्त्रालयले पाँच लाख बजेट विनियोजन गरेको जानकारी दिए। प्रकाशित : भाद्र १५, २०७५ १७:३५
प्रतिक्रिया
थप केही कर्णालीबाट