कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

पहिरोको जोखिममा दर्जन गाउँ

बाढीले चार घर बगायो
कटानले जाजरकोटका २० र रुकुम आठबीसकोटका १५ घर विस्थापित भएका छन् ।
तल्लुबगरका बासिन्दा सुरक्षित स्थानमा सरे

सल्यान — भिरालो भू–बनोट र जथाभावी संरचना निर्माणले यहाँका करिब एक दर्जन गाउँ पहिरोको जोखिममा परेका छन् । जथाभावी सडक निर्माण, जंगल विनास र कमजोर जमिनका कारण गाउँ पहिरोको जोखिममा परेका हुन् ।

पहिरोको जोखिममा दर्जन गाउँ

तीन नगरपालिका र सात गाउँपालिका रहेको सल्यानमा पहिरोको जोखिमले करिब दुई सय परिवार बिस्थापित भएका छन् । जिल्ला भू–संरक्षण कार्यालयका अनुसार झारकाँडामा १ सय १२, कपुरकोटको गोठिवनका ६०, कपुरकोट बजारका ५९ , बाग्चौरको बाफुखोलाका ३५, कोटबाराका २०, बन्गाडकुपिण्डेको ब्यूरेनीका ४० र निगालचुलाका ५० घर पहिरोको जोखिममा परेका छन् । त्यस्तै सिद्ध्रेश्वरीका ६७ , दार्माकोट ढाँकीबाँडाका ४५, ढाकाडामका ७०, कालीमाटीको छरछरेका ४० र लामीडाँडाका ४४ घरधुरीमा पहिरोको जोखिम बढेको कार्यालयले जनाएको छ ।

पहिरो नियन्त्रणका लागि बिनियोजन गरेको बजेट वर्षेनि कम हुने भएकाले पहिरो नियन्त्रणका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न नसकिएको कार्यालयले जनाएको छ । सडक निर्माणका क्रममा जथाभावी डोजर प्रयोग गरिएकाले गाउँहरू पहिरोको जोखिममा परेको कार्यालय प्रमुख बिरेन्द्रप्रसाद पटेलले बताए ।

गत बर्ष चुरे संरक्षणका लागि आएको एक करोड रुपैयाँले कालीमाटी गाउँपालिकामा मात्र कार्यक्रम सञ्चालन गरिएको थियो । ‘अधिकांश ठाउँमा तारजाली लगाउने र बृक्षारोपन गर्ने गरिएको छ,’ उनले भने,‘नियन्त्रणका कार्यक्रम ९ महिना गरिन्छ, तर तीन महिनाको वर्षाले सबै संरचना भत्काउने गरेको छ ।’ पहिरोको जोखिममा विद्यालय, सरकारी कार्यालय तथा सामुदायिक भवन पनि परेका छन् ।

कपुरकोटमा पहिरो नियन्त्रणका लागि धेरै काम गरे पनि कमजोर भूबनोटका कारण वर्षेनि पहिरोको जोखिम बढ्दै गरेको स्थानीयको भनाइ छ । बजारको छेवैमा सडक र घर अझै भासिदै गएका छन् । बजार क्षेत्रमा तलबाट माटो बग्दै गएकाले पुरै बजार जोखिममा परेको कपुरकोट गाउँपालिका अध्यक्ष भीमबहादुर सेनले बताए । उनका अनुसार पहिरो नियन्त्रणका लागि तारजाली हाल्ने र रुखबिरुवा लगाउने कार्यक्रम वर्षेनि सञ्चालन गरे पनि प्रभावकारी भएको छैन ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यक्रमबाट एक करोड रकम खर्च भएको उनको भनाइ छ । ‘अहिले तत्कालका लागि के गर्न सकिन्छ भन्ने बिषयमा छलफल भइरहेको छ,’ उनले भने, ‘वर्षा सकिएपछि पहिरो नियन्त्रणका लागि बिज्ञको टोली ल्याएर गुरुयोजना बनाइ क्रमश: पहिरो नियन्त्रणको कार्यक्रम सञ्चालन गरिनेछ ।’

नदीले बस्ती कटान
जाजरकोट– भेरी नदीले नलगाड नगरपालिका–१२, तल्लुबगरमा चार घर बगाएको छ । भेरी नदी कटानले मंगलवारदेखि तल्लुबगरको बस्ती जोखिममा परेको छ । नदीले बस्ती बगाउने जोखिम बढेपछि तल्लुबगर बजारका बासिन्दा सुरक्षित स्थानमातर्फ सरेका छन् ।

नदी कटानका कारण आसपासका करिब एक सय घर जोखिममा छन् । कटानले जाजरकोटका २० र रुकुम आठवीसकोटका १५ घर बिस्थापित भएका छन् । नदीले तल्लुबगरका कक्बहादुर बस्नेत, भवेन्द्र बस्नेत, टीकाराम खत्री र रामबहादुर बस्नेतको घर बगाएको वडाअध्यक्ष लालबहादुर खत्रीले बताए ।

त्यस्तै, भेरी नदीले पारीपट्टी रुकुम, आठबीसकोट नगरपालिका–४, छहरीबगरमा १५ वटा घरटहरा, कटेज, घुम्ती पसल बगाएको वडाअध्यक्ष खत्रीले बताए । नलगाड नगरपालिका–१२, ठुलावगरमा खसेको पहिरोले भेरी नदी थुनिंदा क्षति भएको उनले बताए । पहिरोले भेरी नदी झण्डै ३ मिनेट थुनिएको खत्रीको भनाई छ ।

थुनिएको भेरी नदी खोलिए लगत्तै वारिपारि किनारमा रहेका घरटहरा बगाएको छ । छहरीबगर तथा तल्लुबगर क्षेत्रमा कटान बढेको थियो । ठुलाबगरमा पहाड फुटेर पहिरो खस्ने क्रम जारी छ । भेरी नदीले नगरपालिकाको गत आर्थिक बर्षको १८ लाख बजेटबाट निर्माण भएको सोही ठाउँको सिंचाइँ कुलो पनि बगाएको खत्रीको भनाइ छ । नदीको कटानसँगै छहरीबगर र तल्लुबगरका एक सय घर जोखिममा परेका छन् । तल्लुबगरबाट छहरीबगरतर्फ आवजावत गर्ने झोलुङ्गे पुल पनि जोखिममा परेको छ । जसका कारण पुलमा आवतजावत अबरुद्ध भएको छ ।

यसैगरी, उक्त नदीले जाजरकोट –डोल्पा सडकको छहरीबगर खण्डको ५ सय मिटर सडक बगाएको छ । ठुलाबगर माथि रहेको पहाडको भीर फुटेर भेरी नदीमा पहिरो खसेको थियो । नदीले तल्लुबगरको तल्लोछहरामा कटान गरिरहेको स्थानीय मोहन बस्नेतले बताए । तल्लोछहराका २० घर पनि नदीको जोखिममा परेको उनको भनाइ छ ।

प्रकाशित : श्रावण ३१, २०७५ ०९:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?