युवाले थाले सामूहिक तरकारी खेती

ज्योति कटुवाल

दैलेख — डुगेश्वरका तीन युवा सामूहिक तरकारी खेतीबाट उदाहरणीय बनेका छन् । दुई वर्षअघि सुरु गरेको सामूहिक तरकारी खेतीबाट युवाले गाउँमै अन्य पाँच युवालाई दैनिक रोजगारी दिइरहेका छन् । आर्थिक रूपमा सक्षम हुन जागिरै खानुपर्ने वा विदेशै जानुपर्ने मान्यतालाई तोड्दै तरकारी फर्म खोलेको युवाको भनाइ छ ।

युवाले थाले सामूहिक तरकारी खेती

मजदुरीका लागि भारतमा गएर फर्किएका स्थानीय देवेन्द्र गोदार, मोहन बस्नेत र छविलाल गौतमले सामूहिक तरकारी खेती गरिरहेका छन् । गोदारले १२ वर्ष भारतको अन्दवाजमा मजदुरी गरेको बताए । उनीहरू आफ्नै गाउँमा केही गर्ने उद्देश्यसहित फर्किएका हुन् ।


तीनैजनाले ३५ लाख रुपैयाँको लगानीबाट तरकारी खेती सुरु गरेका हुन् । तीनैजना बिहानदेखि साँझ अबेरसम्म तरकारी फर्ममे खटिएका हुन्छन् । दैनिक पाँचजनाले समेत रोजगारी पाइरहेको उनीहरूको भनाइ छ । वार्षिक एक करोड रुपैयाँको तरकारी बिक्री गर्ने लक्ष्यसहित फर्म सुरु गरिएको उनीहरूको भनाइ छ ।


लाहोरे खोला किनारको जग्गा भाडामा लिएर तरकारी खेती सुरु गरिएको हो । अहिले उनीहरूको बारीमा लटरम्म टमाटर, सिमी, भान्टा, करेला, काक्रा, भिन्डीलगायत तरकारी फलिरहेका छन् । बारीमा फलेको तरकारी आफ्नै तरकारी मन्डीबाट बिक्री गर्ने गरेको उनीहरूको भनाइ छ ।


तरकारी बिक्रीबाट उनीहरूले राम्रो आम्दानी हुन थालेपछि यहाँका अन्य किसानको पनि आकर्षण बढेको छ । एक सिजनमा ६ लाख बढी फाइदा हुने गरेको देवेन्द्रले बताए । उनका अनुसार मासिक २० हजार रुपैयाँ तलब दिएर पाँचजना युवालाई रोजगारी दिइएको छ ।

प्रकाशित : श्रावण ३०, २०७५ ११:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?