१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

जुम्ला घटना उच्छृंखल समूहका कारण : प्रदेश सरकार

प्रकाश अधिकारी

सुर्खेत — आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले चिकित्सा शिक्षा सुधारका लागि डा.गोविन्द केसी जुम्लामा अनशनरत अवस्थामा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानभित्रै अप्रिय घटना भएको बताएका छन् । 

जुम्ला घटना उच्छृंखल समूहका कारण : प्रदेश सरकार

प्रदेशसभाको मंगलबारको बैठकमा सांसदहरुको प्रश्नहरुको जवाफ दिँदै उनले आन्दोलनकारीको नाउमा उच्छृंखल समूहले अनावश्यक हर्कत देखाएकाले दुखद् परिस्थिति सिर्जना भएको बताए । ‘प्रमुख जिल्ला अधिकारीसहित सबै पक्षसँग शान्तिपूर्ण समाधान खोज्दै थियौं, हामीलाई प्रतिष्ठानभित्र पस्न दिइएन’ उनले भने, ‘अस्पतालमा जे-जति क्षति हुन पुग्यो, त्यसबाट म पनि दु:खी छु, अस्पताल जन्माउनको लागि उतिबेला म कठघरामा उभिएको थिएँ, आज त्यही अस्पताल तोडिँदा तपाईं (सांसद) हरुलाई जवाफ दिन कठघरामा उभिएको छु ।’


संसद्‍को बिहीबारको बैठकमा जुम्लाका कांग्रेस सांसद दिनबन्धु श्रेष्ठले मुख्यमन्त्री र प्रदेशकै गृह (आन्तरिक मामिला) मन्त्रीकै सामुन्ने अस्पतालभित्र प्रहरीले किन गोली चलायो ? भन्दै सरकारको जवाफ मागेका थिए । डा. केसीको अवस्था गम्भीर भएपछि उपचारका लागि काठमाडौं ल्याउन सहयोग गर्न केन्द्र सरकारले प्रदेश सरकारलाई आग्रह गरेको थियो । साउन ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित मन्त्री भण्डारी डा. केसीलाई काठमाडौं लैजान नेपाली सेनाको हेलिकोप्टरसहित जुम्ला पुगेका थिए । डा. केसीलाई काठमाडौं लैजान नदिन उनका सर्मथक र प्रहरीबीच झडप हुँदा गोली चलेको थियो ।


यसैबीच, बैठकमा सांसद अमृता शाहीले कञ्चनपुरको भीमदत्त नगरमा बालिका बलात्कार भएको र उनले न्याय पाउन नसकेकोमा सरकारको ध्यानाकर्षण गराइन् । ‘यो देशमा कानुनी राज छ कि छैन ? किन बलात्कारीहरुलाई प्रहरीले पक्राउ गर्न सक्दैन ?’ उनले भनिन्, ‘प्रदेश सरकारले यस संघीय सरकारलाई आवश्यक दबाब देओस्, दोषीले कुनै हालतमा उन्मुक्ति नपाऊन ।’


अर्का सांसद कौशिलावती खत्रीले जाजरकोटको जुनीचाँदे-३ का स्थानीय भक्तबहादुर बुढाको घर बाढीले बगाएको र उनले श्रीमती र नातिनी गुमाउन बाध्य भएकाले उक्त परिवारलाई तत्काल राहतको खाँचो औंल्याइन् ।


बैठकमा कर्णाली प्रदेशसभा सचिवालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ माथि सैद्धान्तिक छलफल भयो । छलफलमा सांसदहरु गुलाबजंग शाह, अमरबहादुर थापा, सीता नेपाली र धर्मराज रेग्मीले भाग लिए । सांसदहरुले सचिवको उमेर, सेवा–सुविधा स्पष्ट पार्नुपर्ने सुझाव दिए । सैद्धान्तिक छलफलपछि सभामुखले संशोधनको सूचना सुनाए ।


विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गर्न ७२ घण्टाको समय उपलब्ध गराइएको छ । संसदको अर्को बैठक आगामी शुक्रबार बिहान ११ बजे बस्नेछ ।

प्रकाशित : श्रावण १५, २०७५ १९:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?