३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

हिलाम्मे सडकले सास्ती

हरि गौतम, विप्लव मर्हजन

रुकुम पश्चिम / सल्यान — एम्बुलेन्समा नेपालगन्जतर्फ गइरहेकी ६८ वर्षीया बिर्मा बुढाथोकीको बाटोमै मृत्यु भयो । त्रिवेणी गाउँपालिका ३ र ६ ढाँरेगैरास्थित राप्ती लोकमार्गको धूलोका कारण एम्बुलेन्स १ घण्टा उकालो चढ्न नसकेपछि उनले २०७४ फागुन पहिलो साता बाटोमै ज्यान गुमाएकी हुन् ।

हिलाम्मे सडकले सास्ती

बाँफिकोट गाउँपालिकाका सुरेश ओली साउन ९ गते दाङको घोराहीबाट मुसिकोट जाने गाडी चढे । सल्यानको सीमा सकिएसँगै उनले पनि ठूलो दु:ख पाए । बिरामी बुवालाई उपचार गरी घर फर्किएका ओली सडक हिलाम्मे भएकै कारण सोही दिन घर पुग्न सकेनन् । त्रिवेणी गाउँपालिकाको ३ र ६ नम्बर वडाको सीमा छुट्याउने ढाँरेगैरामा धूलो र हिलोका कारण उनीहरू मात्र होइन, अधिकांश यात्रुले सास्ती खेप्नुपर्छ ।

राप्ती लोकमार्ग जिल्लामा जोडिएको सबैभन्दा पुरानो सडक हो । यही सडकले बाहिरी जिल्लासम्म जोड्छ । २०५९ बाट गाडी चल्न थालेको सडकमा ओटासिल गरिएको छ । तर पनि सर्वसाधारण सास्तीबाट मुक्त हुन सकेका छैनन् । ‘हिउँद होस् या बर्खा यो सडकको अवस्था यस्तै छ,’ ओलीले भने, ‘हामीजस्ता बिरामी र आफन्त मात्रै होइन सयौं सर्वसाधारणले दु:ख पाइरहेका छन् ।’ बाहिरीको यात्रा सकेर आफ्नै जिल्ला प्रवेश गरेपछि पाइने दु:खले सर्वसाधारण आजित छन् । ‘हामी समयमै सल्यानको सीमा काटेर रुकुम आइपुग्छौं, अबेला नभई घर पुग्न मुस्किल छ,’ मुसिकोट ६ का लोकबहादुर खडकाले भने । सरोकारवालाको ध्यान नगएका कारण सर्वसाधारण यात्रुले सधैंको सास्ती खेप्नुपरेको उनको भनाइ छ ।

रुकुम पश्चिम र सल्यानको सीमा खौलादेखि रुकुम पश्चिमको खलंगासम्म ३२ किमि पर्छ । यही दूरीमा २ ठूला अप्ठयारा नझेली सर्वसाधारणको यात्रा पूरा हुँदैन । त्रिवेणी गाउँपालिका ३ र ६ नम्बर वडाको ढाँरेगैरामा हिउँद–बर्खामा सर्वसाधारणले सास्ती व्यहोर्छन् । हिउँदमा धूलोमा गाडी फस्छन् भने बर्खामा हिलोले गाडी गुड्दैनन् ।

मुसिकोट नगरपालिका ११ र १२ वडा जोड्ने पितिवाङ खोलामा पुल नहुँदा हरेक बर्खामा राप्ती लोकमार्गमा यात्रुले दु:ख पाइरहेका छन् । पुल नहुँदा सर्वसाधारणले ज्यान गुमाउनुका साथै बर्सेनि सवारीसाधन पनि बग्ने गरेका छन् । खोला बढेको दिन सवारीसाधन ठप्प हुन्छन् । खौला–झुल्नेटा खण्डअन्तर्गतको ढाँरेगैरा सवारीसाधन फसेपछि एस्काभेटरमार्फत गाडी तानेर आम्दानी गर्ने पनि भेट्न सकिन्छ । एस्काभेटरले गाडी तानेबापत ५ सयदेखि १५ सय रुपैयाँसम्म असुल्छन् ।

सडक डिभिजन कार्यालय, चौरजहारीका निमित्त प्रमुख दीपक पौडेल सडकको समस्याबारे पहिलोपटक जानकारी पाएको बताउँछन् । ‘सडकमा समस्या छ भनेर खबर भर्खर पाउँदै छु,’ उनले भने, ‘अब बुझेर आवश्यक प्रक्रिया अघि बढाइनेछ ।’ राप्ती लोकमार्गका रूकुमतिरको सबै भाग हेर्ने जिम्मा सडक डिभिजन कार्यालय चौरजहारीकै हो । मुसिकोट नगरपालिका ११ र १२ जोड्ने पितिवाङ खोलामा पुल बन्ने प्रक्रिया सुरु भएको कार्यालयले जनाएको छ । कार्यालयले जिल्लाबाट गर्ने सबै प्रक्रिया पूरा गरी विभागमा पठाएको इन्जिनियर नवीन शाहले बताए । ‘पुल निर्माणका लागि हामीले पठाएको विवरण विभागले प्रमाणित गरिसकेको छ, त्यो अहिले डिजाइनिङको क्रममा छ,’ उनले भने, ‘केही महिनामा त्यसको ठेक्का लाग्छ ।’

हिउँदमा धुलाम्मे, वर्षामा हिलाम्मे
वर्षाका कारण सल्लीबजार–चौरजहारी सडक हिलाम्मे भएपछि यात्रुलाई सास्ती भएको छ । गाडी हिलोमा फसेपछि यात्रुले गाडी धकेलेर निकाल्दै यात्रा गर्न बाध्य छन् ।सडक डिभिजन कार्यालय, दाङले बर्सेनि सडकमा बजेट विनियोजन गर्दै आएको भए पनि ठेकेदारको बेवास्ताका कारण गुणस्तरीय बन्न नसकेको यात्रुको गुनासो छ । धेरै स्थानमा सडक चौडा र ग्राभेल गर्दाको माटो सडककै छेउमा फालिएका कारण सधैं गाडी फस्ने गर्छ ।

हिलाम्मे सडकका कारण धेरै स्थानमा घन्टौं गाडी फस्ने गरेको यात्रुको गुनासो छ । ‘फसेको गाडी डोरीले तान्दै, धकेल्दै यात्रा गर्न बाध्य छौं,’ स्थानीय देवबहादुर खत्रीले भने, ‘कतिपय स्थानमा घन्टौं गाडी फस्छ, जसले समयमा गन्तव्यमा पुग्न समस्या भइरहेको छ ।’ जोखिम भएकाले हिउँदमा दर्जनौं गाडी चले पनि वर्षाको समयमा मुस्किलले ३ गाडी मात्र सञ्चाल हुन्छन् ।

च्युराका विनोद खड्काले वर्षौंदेखि यात्रामा सास्ती भोग्दै आए पनि सरोकारवाला नकायले ध्यान नदिएको बताए । ‘सडक हिलाम्मे बन्दा १ घण्टामा पुगिने ठाउँमा ३/४ घण्टा लगाउनुपर्छ,’ उनले भने, ‘कहिलेकाहीं बाटैमा बास बस्नुपर्ने अवस्था आउँछ ।’ बिरामीलाई उपचारका लागि लैजान झनै समस्या छ । हिउँदमा धूलोले सताउने र वर्षामा हिलोले सताउँदा यात्रा सहज नभएको व्यवसायी भीमबहादुर नकाल बताउँछन् ।

प्रकाशित : श्रावण १२, २०७५ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?