कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

विपन्नलाई सहकारीको सेयर

हरि गौतम

रुकुम पश्चिम — आठबिसकोट नगरपालिकाका विपन्न परिवारलाई स्थानीय सरकारले सहकारीको सेयर खरिद गरिदिएको छ । आठबिसकोट नगरपालिकाले नगरभरिका ६ सय ७० गरिब तथा विपन्न परिवारलाई ५/५ हजारका दरले सेयर खरिद गरिदिएको हो ।

विपन्नलाई सहकारीको सेयर

गत आर्थिक वर्ष २०७४/०७५ को बजेटबाट गरिब तथा विपन्न परिवारलाई सेयर गरिदिएको नगरप्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । गरिब तथा विपन्न परिवारलाई व्यापार व्यवसाय गर्न सजिलो होस् भनेर नगरपालिकाले ५०/५० कित्ता सेयर खरिद गरिएको नगरप्रमुख केसीले बताए । ‘सहकारीमा सेयर भए उनीहरूलाई व्यापार व्यवसाय गर्न र सहकारीबाट ऋण लिन सजिलो हुनेछ,’ प्रमुख केसीले भने, ‘नगरभित्रका सबैभन्दा गरिब र विपन्न परिवारलाई सेयर खरिद गरिदिएका छौं ।’

६ सय ७० गरिब तथा विपन्न परिवारलाई सेयर खरिद गर्न नगरपालिकाले ३३ लाख ५० हजार रुपैयाँ खर्च गरेको छ । वडा, बस्ती र टोलटोलबाट छानिएकाले सबैभन्दा गरिब र विपन्न परिवारलाई नै सहकारीको सेयर खरिद गरिदिएको दाबी नगरपालिकाले गरेको छ । नगरपालिकाबाट सेयर खरिदको नगद पाएका सबैले आठबिसकोट बचत तथा ऋण सहकारी संस्थाको सेयर खरिद गरेका छन् । १४ वडामध्ये ११ नम्बर वडाका ८६ घरपरिवारको सेयर खरिद नगरपालिकाले गरिदिएको छ ।

नगरपालिकामा रहेका सात हजार पाँच सय घरपरिवारमध्ये ४० प्रतिशत घरपरिवार गरिब तथा विपन्न रहेको नगरपालिकाले जनाएको छ । विपन्न परिवारको स्वास्थ्य बिमा बाँफिकोट गाउँपालिकाले विपन्न परिवारको स्वास्थ्य बिमा गरिदिएको छ । गत आर्थिक वर्ष २०७४/०७५ मा गाउँपालिकाभरका तीन सय परिवारको स्वास्थ्य बिमा गाउँपालिकाले गरिदिएको हो ।

आर्थिक अभावका कारण स्वास्थ्य बिमा गर्न नसक्नेहरूको छनोट गरेर उनीहरूको बिमा गराइदिएको अध्यक्ष धर्मबहादुर केसीले बताए । दसवटै वडाबाट छनोट भइआएकाहरूलाई गाउँपालिकाका तर्फबाट स्वास्थ्य बिमा गराइदिएको भनाइ अध्यक्ष केसीको छ । वडाले छनोट गरेका सबै विपन्नले स्वास्थ्य बिमाको परिचयपत्र पाएपछि दर्ता सहयोगी कार्यकर्तामार्फत गाउँपालिकाले त्यसको भुक्तानी बिमा बोर्डलाई दिएको थियो ।

गाउँपालिकामा रहेका तीन हजार सात सय ४७ घरपरिवारमध्ये ८ प्रतिशत विपन्न परिवारको स्वास्थ्य बिमा बनाउने गरी निर्देशिका र बजेट विनियोजन गरिएको थियो । विपन्न घरपरिवारको स्वास्थ्य बिमा गराउन गाउँपालिकाले आठ लाख रुपैयाँ विनियोजन गरेको थियो । पहिलो गाउँसभाले स्वास्थ्य बिमाका लागि उक्त बजेट सर्वसम्मत पारित गरेको थियो । कुनै पनि नागरिक स्वास्थ्य उपचार सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य बिमा कार्यक्रमको अवधारणा ल्याइएको अध्यक्ष केसीले बताए ।

उनले हरेक वडामा रहेका कुल घरधुरीमध्ये ८ प्रतिशत गरिब तथा विपन्न परिवारको स्वास्थ्य बिमा सरकारले गरिदिएको अध्यक्ष केसीले बताए । बिमाअन्तर्गत न्यूनतम २ हजार ५ सय रुपैयाँ तिरेर स्वास्थ्य बिमा गरेपछि एक वर्षभर ५० हजारसम्मको उपचार नि:शुल्क पाइन्छ ।

प्रकाशित : श्रावण ५, २०७५ १०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?