यहाँका स्थानीय तहले गतवर्ष टुक्रे योजनामा करोडौं रकम खर्च गरेका छन् । गत वर्ष स्थानीय तहले सडक र विद्युत् जस्ता ठूला योजनालाई कम प्राथमिकता दिएका थिए । यस वर्ष पनि बढी महत्त्वका योजनामा न्यून रकम मात्र विनियोजन गरिएको छ ।
आठबिसकोट नगरपालिकाका विपन्न परिवारलाई स्थानीय सरकारले सहकारीको सेयर खरिद गरिदिएको छ । आठबिसकोट नगरपालिकाले नगरभरिका ६ सय ७० गरिब तथा विपन्न परिवारलाई ५/५ हजारका दरले सेयर खरिद गरिदिएको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयमा वैशाखमा भेरीगंगा नगरपालिका–१२ का वडाध्यक्ष हरिप्रसाद कँडेलले नि:शुल्क उपलब्ध गराउने औषधि बिक्री गरेको उजुरी पर्यो । लगत्तै अख्तियारले प्रारम्भिक अनुसन्धान थाल्यो ।
कपुरकोट गाउँपालिकाको दानबाङका दृष्टिविहीन भद्रसिंह दमाई बिचल्लीमा परेका छन् । रेखदेख गर्ने कोही नहुँदा दमाईको अवस्था दयनीय बन्दै गएको छ । सहाराविहीन हुँदा उनलाई दैनिक जीविकोपार्जनमा समस्या भएको छ ।
कान्तिपुरकर्मी हरि गौतम पुरस्कृत भएका छन् । राष्ट्रिय महिला आयोगले महिला हिंसाविरुद्ध, महिला सशक्तिकरण, विकास तथा लैङ्गिक समानताको क्षेत्रमा पत्रकारिताको माध्यमबाट योगदान पुर्याएको भन्दै कान्तिपुर दैनिकका रुकुम संवाददाता गौतमलाई कदरपत्रसहित नगद १५ हजारले पुरस्कृत गरेको हो ।
अस्पतालमा बिहीबार भएको घटनाको विरोध गर्दै नेविसंघले प्रदर्शन गरेको छ । कर्णाली विज्ञान प्रतिष्ठान, जुम्लामा भएको ज्यादतीविरुद्ध नेपाल विद्यार्थी संघ शुक्रबार सडकमा उत्रिएको हो ।
दार्मा गाउँपालिकाको मालिका डाँडामा जडित मोबाइल टावरले काम नगर्दा स्थानीयलाई डाँडामा उक्लिएर फोन गर्नुपर्ने बाध्यता छ । मोबाइल नेटवर्कले गाउँपालिकाको केन्द्र फारुलामा काम नगर्दा जनजीवन प्रभावित भएको छ ।
सदरमुकाम नारायण नगरपालिकाको फोहोरले कुसाडा गाउँ दुर्गन्धित बनेको छ । सदरमुकामको फोहोर नारायण नगरपालिका–२, कुसाडा बस्ती नजिकैको जंगल क्षेत्रमा फाल्ने गरिएको छ । गाउँ नजिकै फोहोर फालिएपछि स्थानीयबासी नाक थुनेर दैनिक कामकाज र आउजाउ गरेका छन् ।
बन्गाड कुपिण्डे नगरपालिकामा चालु आर्थिक वर्षमा विनियोजित बजेट समान रूपमा नभएको भन्दै नगर उपप्रमुख लगायतका वडा अध्यक्षले असहमति जनाएका छन् । दुई सातादेखि दैनिक कार्यपालिकाको बैठक बस्दा समेत टुंगोमा पुगेको छैन ।