कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

१० वडामा सडक पुग्यो

सडकका लागि करिब ६ करोड रकम खर्च । वडा नं २ वडाबाहेक सबै वडामा सडक
तुलाराम पाण्डे

कालिकोट — तिलागुफा नगरपालिकाले चालु आर्थिक वर्षमा १० वटा वडामा सडक पुर्‍याएको छ । नगरपालिकाले वडा नं २ वडाबाहेक सबै वडामा सडक पुर्‍याइएको जनाएको छ ।

१० वडामा सडक पुग्यो

नगरपालिकाले सम्पन्न गरेको विकास निर्माणलगायतका विषयमा जानकारी दिन आयोजित पत्रकार भेटघाट कार्यक्रममा नगर प्रमुख रतनवहादुर शाहीले पहिलो वर्षमै १० वटा वडामा सडक खनिएको बताए । कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडक तिला नदीको तिरैतिर गएको छ । राजमार्गसंग जोडिन गाउँ गाउँमा सडक निर्माण भएका छन् ।

नगर प्रमुख शाहीका अनुसार ट्रयाक खोल्न डोजरको प्रयोग गरिए पनि पर्खाल लगाउने, नालीढुंगा बोक्ने काममा स्थानीयले काम गरेका छन् । तिलागुफा नगरपालिकाको छाप्रे–भैसेगौडा, बाली–छाप्रे, गाल्जे–जुविथा–बालीचौर, राचुली–फोइमहादेव, नाग्म–फोइ, भैसेगौडा–ठिन्के–रुरु गरी ७ वटा सडकको जम्मा २५ किमी सडक निर्माण भएको छ । सडकका लागि करिब ६ करोड रकम खर्च भएको नगरपालिकाले जनाएको छ ।

‘सडक निर्माणको काम सबै उपभोक्ता समितिमार्फत नै गरिएको छ ,’ नगर प्रमुख शाहीले भने ‘अप्ठ्यारो ठाउँमा डोजर प्रयोग गरिए पनि अन्यत्र उपभोक्ताहरूले नै ज्यालामा काम गरे ।’ उनले तिलागुफा नगरपालिकालाई पर्यटकीय गन्तब्य बनाउन विभिन्न पूर्वाधारका काम भइरहेको पनि सुनाए । ३ वटा वडामा यसै वर्ष वडा भवन बनाउन थालिएको छछ । नगरपालिकाले यस वर्ष मात्र २२ वटा ऐन, कानून, निर्देशिका निर्माण गरेर परिषदबाट पास गरेको छ ।

कर्णालीमै सबैभन्दा गुणस्तरीय स्याउ उत्पादन हुने तिलागुफा नगरपालिकाका फोइ, राचुली, चिल्खाया, जुविथा र छाप्रेमा मात्र यस वर्ष २६ हजार स्याउ, ओखर र आरु वखडाका विरुवा रोपिएका, विपन्न घरधुरीको आयआर्जन सुधार गर्न २ हजार ५ सय कुखुराका चल्ला वितरण गरिएको, गाउमै घुम्ती स्वास्थ्य शिविर संचालन गरिएको, रारा कर्णाली पर्यटन महौतसवका लागि गेट, अतिथि विश्राम स्थल, रुरु बन्चु संरक्षण तथा तिला गुफाको प्रचारप्रसारको काम गरिएको प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद पाण्डेले बताए । उनले धनाडामा तुइन विस्थापन गरेर झोलुंगे पुल निर्माण सुरु गरिएको, भात्तडीको स्याउ ओसार्ने ग्राभिटी रोप वे को सेवा विस्तार गरिएकोलगायतका काम भएको बताए । उनकाअनुसार नगरपालिकाले बजेडी चौरलाई पिकनिकस्थल छनोट गरेको छ भने रारा आउने पर्यटकलाई लक्षित गरेर नाग्म, भिग्म, राचुली, धनाडा, गाल्जे, बाली र टाकुल्लामा कोसेली घर बनाउने तयारी भइरहेको पनि जानकारी दिए ।

कालिकोटको महाबै, दैलेख, जाजरकोट र जुम्लाको संगमस्थल बरुरु बन्चु पर्यटकीय षेत्रको विकासका लागि सडक निमार्ण, सामुहिक स्याउ बगैचा, भेडा फाराम संचालन गरिएको वडा नं १० अध्यक्ष मुनवहादुर थापाले बताए । नगरलाई पूण सरसर्फा युक्त बनाउन एक घर एक धारा अभियान, वडा नं २ र ४ राचुलीलाई बालमैत्री वडा तथा वडा नं ४ लाई मानवअधिकार मैत्री वडा घोषणा गरेर सामाजिक अभियानको थालनी पनि तिलागुफाले गरेको नगर उपप्रमुख दन्ता नेपाली दर्शनाले बताइन् ।

महिलालाई लोक सेवा आयोगको तयारी कक्षा, कम्प्युटर तालिम पनि नगरपालिकाको कार्यक्रममा रहेको सुनाउदै प्रभावकारी बनाउन सबैको सकारात्मक सहयोगको आवश्यकता रहेको बताइन् । उनले सामाजमा सम्मानका साथ बाच्ने अवस्था सिर्जना गर्न सामाजिक विकृति विसंगतिको अन्य जरुरी भएको ठहर गर्दै फोइमहादेवलाई छाउपडी मुक्त गोठ घोषणा पनि यसै वर्ष गरिएको उनको भनाइ छ । नगरको न्यायिक समितिमा धेरै मुद्दा नआए पनि आएका गुनासो सुनुवाई गरिरहेको दावी गरिन् ।

मंसिर १८ गते पहिलो बालमैत्री गाउँ घोषणा गरिएको राचुलीले बालबिवाह, बालश्रम, खुला दिसामुक्त तथा पूर्ण सरसफाईयुक्त, अनिवार्य तथा आधारभूत शिक्षामा पहुँच पुगेको, विद्यालय शान्ति क्षेत्र, साक्षर, पूर्ण जन्मदर्ता र पूर्ण खोपयुक्त, स्वास्थ्य संस्थाबाट नि:शूल्क औषधि प्राप्त गरेको, सबै घरमा करेसाबारी भएको, धूवा रहित चूलो बनाएको जनाउदै मानवअधिकारमैत्री घोषणा गरिएको वडाध्यक्ष खड्कराज शाहीले बताए ।

उनका अनुसार मध्यपान र धुम्रपानको ब्यवस्थापन भएको, विकास प्रक्रियामा पछि परेका व्यक्ति, समुदायको सहभागिता सुनिश्चित गरिएको, सबै प्रसूति आमाहरू बच्चा जन्माउन स्वास्थ्य संस्था जाने गरेका, मानवअधिकार शिक्षा प्रदान गरिएको बस्ती पनि बनाइएको छ । सशर्त अनुदान रु ९ करोड २२ लाख, समानिकरण अनुदान १६ करोड ९ लाख, सामाजिक सुरषा ४ करोड ५० लाख, कर्णाली रोजगारको रु १ करोड ८० लाख, साना सिँचाईको १ करोड ८० लाख गरी कूल रु ३३ करोड ५९ लाख बजेट रहेको तिलागुफा नगरपालिकाले जेठ तेस्रो सातासम्म जम्मा १६ करोड ४९ लाख रकम खर्च गरिसकेको लेखापाल नरदल बुढाले बताए ।

उनले पूर्वाधारको अधिकांश रकम भुक्तानी दिन बाँकी रहेकाले खर्च कम देखिए पनि असारसम्म सबै बजेट खर्च हुने दावी गरे । उनका अनुसार तिलागुफा नगरपालिकाले दोश्रो किस्ता वितरण गरेर तेस्रो किस्ता रकमका लागि बजेट माग गरिसकेको बताए ।

प्रकाशित : जेष्ठ २८, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?