१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गैलीबजार डुबानमा

एक दर्जन सडक अवरुद्ध भएका
स्थानीयवासी रातभर खुला क्षेत्रमा जाग्राम -४० परिवार प्रभावित
छिन्चु–जाजरकोट जोड्ने निर्माणाधीन पुल भत्कियो
करोड बढीको क्षति
बिप्लब महर्जन

सल्यान — अविरल वर्षाका कारण बन्गाडखोलामा आएको बाढीले बन्गाडकुपिण्डे नगरपालिकाको गैलीबजार डुबानमा परेको छ । बाढीले छिन्चु–जाजरकोट जोड्ने निर्माणाधीन पुल भत्काएको छ ।

गैलीबजार डुबानमा

खोलामा आएको बाढीका कारण १० घर भत्किएको प्रहरीले जनाएको छ । बाढी र डुबानका कारण ४० घरधुरी प्रभावित भएका छन् ।

प्रहरीका अनुसार अधिकांश घरधुरीको खाद्यान्न, लत्ताकपडा र उपभोग्य सामग्री बगाएको छ । बाढीका कारण करिब १० करोड रुपैयाँभन्दा बढीको क्षति भएको इलाका प्रहरी कार्यालय सल्लीबजारले जनाएको छ ।

आइतबार बिहान तीन बजेदेखि तीन घन्टासम्म अविरल वर्षा भएको थियो । पुल निर्माणका क्रममा थुपारिएका ढुंगामाटोका कारण बाढी बजारमा पसेको हो ।

बाढीका कारण खगेश्वर किराना पसल, दंगाली फोटो स्टुडियो, मनि फर्निचर, बेम्बो कटेज, पूर्णिमा होटल र बाग्लुङ हार्डवयर लगायत तीन दर्जन बढी पसल र घरमा क्षति भएको छ । इलाका प्रहरी कार्यालय, सल्लीबजारका निमित्त इन्चार्ज लालबहादुर बुढाका अनुसार पसल र घरमा बाढी पसेपछि सामग्री भिजेर कामै नलाग्ने भएका छन् । बाढी बजारमा पसेपछि स्थानीयले घर छोडेका थिए । डुबानका कारण स्थानीयवासी रातभर खुला क्षेत्र र सडकमा जाग्राम बसेका थिए । डुबानका कारण पसलमा रहेको सबै सामग्रीमा क्षति पुगेको स्थानीय व्यवसायी खगेश्वर शर्माले बताए । पुल निर्माणका क्रममा ठेकेदारले लापरबाही गरेपछि तीन पटक डुबान भएको उनको भनाइ छ ।

बाढीका कारण घर बगाएपछि सडकमा बस्नुपर्ने बाध्यता भएको स्थानीय शीतली विकले बताइन् ।

पुल निर्माणका सामग्री जथाभावी थुपारिएकाले बजार डुबानमा परेको उनको भनाइ छ । वर्षातको समय नजिकिएकाले गैलीबजार विस्थापित हुने अवस्था आएको उनको भनाइ छ ।

नगर प्रमुख गोविन्द पुनले डुबान हटाउन नगरपालिकाको डोजरमार्फत काम सुरु गर्दै पीडितलाई क्षतिपूर्ति दिइने बताए । अविरल वर्षा र बाढीका कारण गैलीबजार आसपासका क्षेत्रमा समेत क्षति पुगेको छ । अविरल वर्षाका कारण सल्लीबजार–चौरजहारी, सल्लीबजार– जाजरकोट, सल्लीबजार–बामे लगायतका एक दर्जन सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध भएपछि स्थानीयलाई आउजाउमा समस्या भएको छ ।

प्रकाशित : जेष्ठ २८, २०७५ ११:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?