१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

अधिकांशमा पाठेघर समस्या

पाठेघरको समस्याबाट दलित बस्तीमा मात्रै ७२ महिला पीडित छन्
ज्योती कटुवाल

दैलेख — गुराँस गाउँपालिका २ खडबाडाकी २५ वर्षीया लालमती नेपाली लामो समयदेखि पाठेघरको समस्याले थला परेकी छन्  । उनकै छिमेकी धनसरी नेपाली पनि उस्तै समस्याबाट आजित छन् ।

अधिकांशमा पाठेघर समस्या

यी दुई महिला मात्र होइन यहाँको गयल सेनास्थित दलित बस्तीका अधिकांश महिलाहरूमा पाठेघरको समस्या छ । उपचार अभावमा अधिकांश महिलामा जटिल समस्या देखिन थालेको छ ।

लालमतीले १३ वर्षको उमेरमा विवाह गरिन् भने १४ वर्षको उमेरमा आमा बनिन् । ५ सन्तानलाई जन्म दिएकी उनलाई सामान्य काम गर्नसमेत समस्या हुने गरेको छ । ‘पाठेघर दुख्ने समस्याले पहिलेदेखि नै सताउँदै आएको थियो । त्यसबेला सामान्य समस्या होला भनेर पतिलाई समेत जानकारी दिइएन । अहिले उठ्न/बस्नमै समस्या छ,’ उनले भनिन्, ‘त्यसबेला बहुविवाहको समस्या थियो, अर्की पत्नी ल्याउँछन् भनेर रोग लुकाइयो, अहिले सहनै नसक्ने अवस्थामा पुगेकी छु ।’ पाँच सन्तानलाई जन्म दिएकी धनसरीले आर्थिक समस्याका कारण आफूले समयमै उपचार गराउन नपाएको बताइन् । उनका पति रोजगारीका लागि भारतमा छन् ।

कक्षा ७ मा अध्ययनरत गीता नेपाली एक सन्तानकी आमा हुन् । उनीसमेत पाठेघरको समस्याले पीडित छन् । उनका पति रोजगारीका लागि भारतमा छन् । दलित बस्तीमा किशोरीको सानै उमेरमा विवाह गर्ने र विवाहपछि युवाहरू भारतमा वैदेशिक रोजगारीका लागि जाने गरेका छन् । पाठेघरको समस्याबाट दलित बस्तीमा मात्रै ७२ महिला पीडित छन् ।

गुराँस गाउँपालिकामा स्वास्थ्य सेवाको सहज प्रवाह नहुँदा बाहिर जानुपर्ने बाध्यता छ । खडबाडा स्वास्थ्य संस्थाकी अनमी दिवमाला सिजालीले धेरै पटक दलित बस्तीमा गएर पटक–पटक सल्लाह दिएको बताइन् । धेरै किशोरीले कम उमेरमा गर्भधारण गरेको भन्दै असुरक्षित गर्भपतन गराउने गरेकाले पाठेघरको समस्या बढेको बताइन् । वडा नं १ की स्वयंसेविका शिवा खड्काले किशोरीहरूले सामान्य मेडिकलमा गएर ‘ट्याब्लेट’ का भरमा गर्भपतन गराउने गरेकाले पाठेघरको समस्या भएको बताइन् ।

उनका अनुसार तल्लो डुगेश्वरमा रहेका मेडिकलले जथाभावी असुरक्षित गर्भपतन गराउँदै आएका छन् ।

वडा नं ३ का अध्यक्ष गंगाराम खत्रीले चालु आर्थिक वर्षमा पाठेघरको समस्या भएका महिलाको समस्यालाई ध्यानमा राखी शिविर सञ्चालन गर्न लागिएको बताए ।

प्रकाशित : चैत्र २७, २०७४ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?