राकम कर्णाली: नमूना बन्दै ‘माझीबस्ती’

राष्ट्रिय गौरवको कर्णाली जलविद्युत आयोजना यसै नगरपालिकामा पर्छ 
ज्योती कटुवाल

राकम कर्णाली (दैलेख) — राकम कर्णालीको माझीवस्ती नमुना व्यबसायिक केन्द्रको रुपमा बिकसित भएको छ । कालिकोट, दैलेख र अछामको सिमानामा पर्ने राकम कर्णाली बजार तीनैवटा जिल्लाको व्यापारिक केन्द्र हो । माछा मार्ने र माटोका भाँडा बनाएर जीवनयापन गर्ने माझीवस्ती नगरपालिका घोषणापछि नमूना सहर उन्मुख भएको छ । 

सरकारले मध्यपहाडी लोकमार्गका विभिन्न जिल्लामा १० वटा मेगा सिटी निर्माणको लागी पनि यो वस्तीलाई छनौट गरेको छ । माझीहरूको वाहुल्यता रहेको राकम कर्णाली कर्णाली राजमार्गको संचालनसंगै बजार बिस्तार भएको छ । आठ वर्षअघि नगर विकास समिति गठन गरि मेगासिटीका रुपमा विकसित गर्ने गरि छनौट गरिएको राकम कर्णालीमा चार सय घरधुरी ठकुरी र दलित समुदायको छ ।

तत्कालिन सिंगौडी, सात्तला, पिपलकोट, तिलेपाटा, राकम कर्णाली, सिहासैन गाविसलाई समायोजन गरी आठवीस नगरपालिका बनाइएको छ । यो भेकलाई तत्कालिन खस राज्यका पालामा आठवीस दराको नामले चिनिन्थ्यो । ‘कर्णाली नदीको तीरैमा राजमार्गसंग जोडिएको राकम कर्णालीलाई नमूना सहर निर्माण गर्न नगर परिषदले विभिन्न निर्णय गरी निर्णय कार्यान्वयनका चरणमा लिएको छ,’ आठवीसका नगर प्रमुख खड्गराज उपाध्यायले बताए ।

कालिकोटसंग जोडिएको आफ्नो नगरपालिका चार हजार मिटर उचाईका उच्च पहाडदेखि चार मिटर उचाईसम्मका कर्णाली तिरमा आधा दर्जन विशाल उव्जाउ फाँट रहेको उपाध्याय बताउँछन् । नगर परिषदले नगरपालिका क्षेत्रको सिंहासैनको फलामखानी लगायतका प्राकृतिक स्रोत साधनहरूको सूची र संभावना तयार गरेको छ । सोही अनुसार अल्पकालिन र दिर्घकालिन योजना अघि सारिने उपाध्याय बताउँछन् ।

राष्ट्रिय गौरवको ९ सय मेगावाट क्षमताको माथिल्लो कर्णाली जलविद्युत आयोजना पनि यसै नगरपालिकामा पर्छ । रामघाट,असारा, डाब,टुनीवगर, राकमकर्णाली, खोलीवजार, खिडज्यिुला, मालाचौर, किटु र दहीखोला कर्णाली राजमार्गकै छेउमा छन् । सिंगांसैन, तिलेपाटा, निर्माणाधिन १० सहर मध्य राकम कर्णाली एक हो ।

हालसम्म भारतीय तरकारीमा आश्रित कर्णाली राजमार्गका छेउछाउमा ताजा तरकारीको माग आपूर्ति गर्न नगरपालिकाले ८० लाख ७५ हजार रकम विनियोजन गरेको छ । हरियो तरकारीलाई आत्मनिर्भर बनाउन यसै आर्थिक वर्षभित्र सिंचाई, पोखरी, वीउविजन खरिद, कृषक तालिम, फलफुलखेती, कुटानी पिसानी मील, आर्गेनीक खेतीमा साझेदारी लगानीको निती ल्याएको छ ।

नगरपालिकाले सहरी पूर्वाधारका लागि कृषि, आवास, विद्युत, सार्वजनिक खुलाक्षेत्र, पर्यटकीय क्षेत्रको संभ्याव्यता अध्ययन र ऐतिहासिक मठमन्दिरहरू निर्माण गर्न पनि चालु आर्थिक वर्षमा करिव १७ लाख रकम वजेट विनियोजन गरेको छ । देशकै ठुलो र रमणीय मुगुको राराताल पुग्ने पर्यटकहरूलाई पनि राकममा पनि आकर्षित गर्न प्याराग्लाईडिङ्ग र आठवीसकोट नगरपालिका भएर बग्ने कर्णालीमा करिव ५० किमी जलयात्रा अध्ययनको लागि पहल भैरहेको नगरपालिकाले जनाएको छ ।

‘नगरपालिकाले स्थानीय सिकर्मी र डकर्मीहरूलाई भुकम्प प्रतिरोधी घर निर्माण गर्ने तालिम दिनेछ । नयाँ घर निर्माण गर्न नक्सा पास गराउनेलाई अनिवार्य भुकम्प प्रतिरोधी भवन वनाउन निती अवलम्वन गरेका छौं,’ नगर उपप्रमुख दिपा वोहराले भनिन्, ‘भवन निर्माण गर्दा सडक मापदण्ड ,सिटीहल, खेलमैदान, वालउद्यान, वृद्धाश्रम निर्माणका लागी पनि निती बनाएका छौं । आफ्नो कार्यकालमा सवै काम गर्ने लक्ष्य छ ।’

राकम नगरपालिकालाई व्यवस्थित सहरका रुपमा विकास गर्न एक सय ३७ रोपनी बगरखेत जग्गा विकास आयोजना एउटै प्लट गराई विकसित घडेरीका रुपमा परिणत गर्ने योजनामा रहेको नगरपालिकाले जनाएको छ । सबै घडेरीमा सडक, विद्युत, नाली पुग्ने प्रमुख प्रशासकिय अधिकृत मातृकाप्रसाद भट्टराई वताउँछन् । खेतीयोग्य उव्जाउ जमिनलाई मासेर सहरीकरण गर्न रोक्ने पनि नगरपालिकाको नीति रहेको बताउँदै नगरप्रमुख उपाध्यायले शहर निर्माणमा पनि वेथिति रोक्ने प्रयास गरिने बताए । नगरपालिकाले कर्णाली राजमार्गलाई मुख्य आधार वनाएर रामघाट देखि श्रीकोट, सात्तला, सिंगौडी, निमायल, तिलेपाटा, छेपाडी, कालिकोट, गैह्राखेत, वुगाडे, राँटा, ताउनी, काफलखोला , गोर्खी, पिपलकोट, पाथेमेलासम्मका स्थानीय मुख्य वस्ती र वजारहरूलाई चक्रपथले जोडने जनाएको छ । चक्रपथ करिव ६० किमिको हुनेछ ।

अछाम, भेरीका दैलेख र कर्णाली अन्चलका विकट जिल्लालाई तराईमा विस्थापित हुन रोक्न मध्यपहाडी राजमार्ग संगै जोडेर व्यवस्थित मेगा सिटी निर्माण गर्ने सरकारले घोषणा गरेको थियो । देशभर १० वटा सहर निर्माण गर्न यस्ताखाले सहरमा ५० हजार जनसंख्या थेग्ने स्वास्थ्य, शिक्षा, विद्युतीकरण, सडक संन्जाल, सुरक्षा र भुकम्प प्रतिरोधी व्यवस्थित सहर निर्माणका लागी प्राथमिकता दिईएको जनप्रतिनिधिको भनाइ छ ।

मेगासिटीलाई नवघोषित आठवीस नगरपालिकाले आफ्नै जिम्मेवारी र रेखदेखमा निर्माण गर्ने सोचमा रहेको उनीहरू बताउँछन् । जुम्ला नयाँ शहर आयोजना समन्वय कार्यालयले राकम कर्णालीमा २०६६ असोजमा सर्भे गरेको थियो । मेगासिटी वनाउन उपयुक्त देखिपछि २०६९ फागुनमा कार्यालय स्थापना गरिएको छ । दुई वर्षदेखि आयोजना प्रमुख लगायत ११कर्मचारीको दरवन्दी खटाएको छ । ‘आयोजनाले प्रस्तावित मेगासिटीका लागि चालु आवको पहिलो चरणमा५० करोडको लागतमा १३ वटाखानेपानी, राकमलाई जोड्ने ७ वटा सडक, कभर्डहल, सार्वजनिक मन्च, ३ वटा वस प्रतिक्षालय निर्माणका चरणमा छ’ राकम नगरविकास समितिका अध्यक्ष पदमवहादुर माझीले भने ।

‘माछा मार्नुको विकल्प शिक्षा’
अघिल्लो पुस्ताले माछा मारेरै जिवनयापन गरे पनि राकम कर्णालीका माझी समुदायका बालबालिका शिक्षा आर्जनमै व्यस्त छन् । माछा मार्ने पेशा लाई चटक्कै छाडेका युवा पुस्ताले शिक्षा आर्जनलाई नै महत्व दिएका छन् ।

अछामबाट सावदहरू र सदरमुकामबाट आएका थापा माझीका राकममा पाँच सय घरधुरी छन् । यो नै नेपालको सबैभन्दा ठूलो माझी समुदाय हो । माझीको जनसंख्या राकममा मात्रै २२ सय हाराहारीमा छ । अघिल्लो पुस्ताले माछा मारेर अछाम, कालिकोट र जुम्लाका बिभिन्न वस्तीहरूमा अन्नसंग साटेर जीवनयापन गरेका थिए ।

दैलेखदेखि पश्चिम अछाम, डोटी लगायतका पश्चिम नेपाल १८ औं शताव्दीमा एकीकरण गर्न आएका प्रतापसिंह शाहको फौजलाई साउनको भेलमा पनि कर्णाली नदी तारे वापत तत्कालिन अवस्था देखि नै थापा थर लेख्नेलाई माझी लेख्न लगाईएको इतिहासकार बताउँछन् । उनीहरूलाई तत्कालिन नेपाल सरकारको हुलाक सेवामा अनिवार्य नोकरी दिईने लालमोहर दिइएको थियो ।

सोही लालमोहर अनुसार माझी समुदायवाट हुलाक सेवाको विभिन्न पदमा ३० र निविृत्तिभरण पाउने सेवानिवृत्त २० जना रहेको स्थानीय युवा माझी गणेश माझी बताउँछन् । हालका माझी हरेक माझीटोलमा ५ जना व्यक्ति हुलाक सेवामै नोकरी गरिरहेका छन् । त्यतिवेला राजा प्रतापसिंह शाहले माझी समुदायले जग्गाको तिरो पनि तिर्न नपर्ने आदेश दिएका थिए ।

अघिल्लो पुस्ताले हुलाक सेवामा काम गरेर माछा मारेरजिवनयापन गरेपनि वर्तमान पुस्ता शिक्षाका लागी कठोर मेहनत गर्दैछ । माझी समुदायवाट मात्रै अहिलेसम्म एक सय जनाले स्नात्तकोतरसम्म अध्ययन गरिसकेका छन् । ६ जना अधिकृत स्तरमा सरकारी सेवामा छन् । कर्णालीका वासिन्दा तराई झर्ने प्रमुख वाटो राकम कर्णालीकै पर्छ । त्यतिबेला देखि नै व्यापारिक केन्द्र वनेको राकम कर्णाली हुम्लादेखि तिव्वतको हिल्सा जोड्ने सडकको प्रमुख द्वार मानिन्छ ।

प्रकाशित : फाल्गुन १५, २०७४ ११:३६
प्रतिक्रिया
पठाउनुहोस्

दुई दशकदेखि सिँचाइ योजना अलपत्र

सिँचाइ योजना अलपत्र भएपछि दुई हजारभन्दा बढी घरधुरी समस्यामा छन्
विप्लव महर्जन

सल्यान — बीचैमा ठेकेदारले काम छोडेर भागेपछि यहाँका आठ सिँचाइ योजना दुई दशकदेखि अलपत्र छन् । देवस्थल–घाटगाउँ–बरेली, कोर्बाङझिम्पेको भुमकेज्युला, बाँझकाडा, शीतलपाटी, हात्तीदमार, कारागिठी, कालागाउँ, घुइयाबारी मझौला सिँचाइ अलपत्र परेका हुन् । वर्षौंदेखि सिँचाइ योजना अलपत्र हुँदा आठ सय हेक्टर जग्गा सिँचाइविहीन भएको छ । 

ठेकेदारले निर्माण गर्दागर्दै छाडेपछि अलपत्र परेको सल्यान झिम्पेको भुमकेज्युलास्थित सिँचाइ कुलो । तस्विर : विप्लव/कान्तिपुर 

सिँचाइ योजना अलपत्रपछि दुई हजार बढी किसान धरधुरी समस्यामा छन् । सिँचाइ योजना अलपत्र परेपछि खेतीयोग्य जग्गाहरू पाखोमा परिणत भएको किसानहरूको गुनासो छ । २०४५ सालमा निर्माण सुरु गरिएको देवस्थल–घाटगाउँ सिँचाइ योजनामा ठेकेदारले एक हजार मिटर नाला काटेका थिए ।

बाँझकाडा सिँचाइ योजनामा करिब ७० प्रतिशत काम सम्पन्न भएको थियो । योजना अलपत्र पर्दा बाँझकाडाका रामबहादुर चलाउनेले आफूहरूको तीन सय हेक्टर जग्गामा खेतीपाती गर्न समस्या भएको बताए । एक हजार मिटर लम्बाइ भएको सिँचाइ कुलोको अधिकांश भाग सडक निर्माणका क्रममा पुरिएको उनले जानकारी दिए । ‘आफ्नै जग्गामा उत्पादन भएको बालीले वर्षभरि खान पुग्ने किसानहरू अहिले बजारबाट खरिद गरी जीविकोपार्जन गर्न बाध्य छन्,’ उनले भने, ‘पारिवारिक समस्या समाधानका लागि किसानलाई मजदुरी गर्न भारतको कालापहाड जानुपर्ने भएको छ ।’ घाटा लाग्ने भन्दै ठेकेदारले काम गर्न छाडेका कारण समस्या भएको स्थानीयको भनाइ छ ।

त्यस्तै, चार किमी लम्बाइको भुमकेज्युला सिँचाइ योजनाको एक हजार मिटर नाला काटिएर अलपत्र छोडिएको थियो । भुमकेज्युला मझौला सिँचाइ योजना अलपत्र पर्दा झिम्पेर त्रिवेणीका तीन सय हेक्टर जग्गा सिँचाइविहीन भएको स्थानीय देवबहादुर बुढाथोकीले बताए । झन्डै एक करोड खर्च भइसकेको योजना अलपत्र पर्दा धेरै किसान मर्कामा परेका उनले जनाए । उनका अनुसार कतिपयका जग्गा बाँझै र केही जग्गा जंगलमा परिणत भएको छ ।

सिँचाइ भए तीन बाली लगाउन सकिने खेतीयोग्य जग्गामा अहिले मकै र गहँु मात्र लगाउन बाध्य भएको उनले जनाए । सम्बन्धित कार्यालयले ठेकेदारले छोडेका कारण फेरि बजेट बिनियोजन नगरेपछि योजनाहरू अलपत्र परेका हुन् । पञ्चवर्षीय योजनाको दोस्रो चरणका काम गर्दा ठेकेदार भागेकाले किसानहरू मर्कामा परेको देवस्थलका किसान मनवीर बुढाले बताए । सिँचाइको अभावमा खेतीपाती गर्ने जग्गामा अहिले घरैघर बनेको उनको भनाइ छ ।

योजना पुन: सञ्चालनका लागि बारम्बार माग राख्दै आए पनि बेवास्ता भएको उनको भनाइ छ । गाउँको पारिपट्टि सुर्खेतको राकममा सिंचाईको सुबिधाले तरकारी र अन्नबाली राम्ररी फस्टाए पनि वारि सिँचाइको समस्याले बाँझै भएको उनको भनाइ छ । ‘पारिका किसानले वर्षमा तीन बाली लगाउँछन् । तर हामी त्यो हेरेर चित्त बुझाउन बाध्य छौं,’ उनले भने ।

सिँचाई सब डिभिजन कार्यालय सल्यानका प्रमुख अखलाक अहमद सिद्धिकीले धेरै पुराना योजनाहरूका बारेमा आफूलाई जानकारी नभएको बताए । ठेकेदारले एकातिर काम सम्पन्न गर्दै जाने र अर्कोतिर पहिरो जाने समस्याले धेरै योजनाले पूर्णता नपाएको उनले बताए । चार करोड बजेटको कालागाउँको सिँचाइ योजना सम्पन्न भएर एकपटकपानी छोडे पनि अर्को वर्ष पहिरोले सबै पुरेको उनले जनाए । उनका अनुसार मर्मतका लागि बजेट नआएकाले उक्त योजना समेत अलपत्र जस्तै छ ।

कालीमाटी गाउँपालिकाको काप्रेचौरस्थित घुइयाबारी सिँचाइ योजना ७५ प्रतिशत सम्पन्न भए पनि तीन वर्षअघि बबई नदीमा आएको बाढीले बगाएपछि अलपत्र बनेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पाँच किमि को घुइयाबारी सिँचाइमा सात करोड खर्च भएको छ । उनका अनुसार दुई वर्षको अवधिमा १६ योजना सम्पन्न भएका छन् । तीन सिँचाइ योजना निर्मााचााधीन अवस्थामा छन् ।

प्रकाशित : फाल्गुन १५, २०७४ ११:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्