कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दुई दशकदेखि सिँचाइ योजना अलपत्र

सिँचाइ योजना अलपत्र भएपछि दुई हजारभन्दा बढी घरधुरी समस्यामा छन्
विप्लव महर्जन

सल्यान — बीचैमा ठेकेदारले काम छोडेर भागेपछि यहाँका आठ सिँचाइ योजना दुई दशकदेखि अलपत्र छन् । देवस्थल–घाटगाउँ–बरेली, कोर्बाङझिम्पेको भुमकेज्युला, बाँझकाडा, शीतलपाटी, हात्तीदमार, कारागिठी, कालागाउँ, घुइयाबारी मझौला सिँचाइ अलपत्र परेका हुन् । वर्षौंदेखि सिँचाइ योजना अलपत्र हुँदा आठ सय हेक्टर जग्गा सिँचाइविहीन भएको छ । 

दुई दशकदेखि सिँचाइ योजना अलपत्र

सिँचाइ योजना अलपत्रपछि दुई हजार बढी किसान धरधुरी समस्यामा छन् । सिँचाइ योजना अलपत्र परेपछि खेतीयोग्य जग्गाहरू पाखोमा परिणत भएको किसानहरूको गुनासो छ । २०४५ सालमा निर्माण सुरु गरिएको देवस्थल–घाटगाउँ सिँचाइ योजनामा ठेकेदारले एक हजार मिटर नाला काटेका थिए ।


बाँझकाडा सिँचाइ योजनामा करिब ७० प्रतिशत काम सम्पन्न भएको थियो । योजना अलपत्र पर्दा बाँझकाडाका रामबहादुर चलाउनेले आफूहरूको तीन सय हेक्टर जग्गामा खेतीपाती गर्न समस्या भएको बताए । एक हजार मिटर लम्बाइ भएको सिँचाइ कुलोको अधिकांश भाग सडक निर्माणका क्रममा पुरिएको उनले जानकारी दिए । ‘आफ्नै जग्गामा उत्पादन भएको बालीले वर्षभरि खान पुग्ने किसानहरू अहिले बजारबाट खरिद गरी जीविकोपार्जन गर्न बाध्य छन्,’ उनले भने, ‘पारिवारिक समस्या समाधानका लागि किसानलाई मजदुरी गर्न भारतको कालापहाड जानुपर्ने भएको छ ।’ घाटा लाग्ने भन्दै ठेकेदारले काम गर्न छाडेका कारण समस्या भएको स्थानीयको भनाइ छ ।


त्यस्तै, चार किमी लम्बाइको भुमकेज्युला सिँचाइ योजनाको एक हजार मिटर नाला काटिएर अलपत्र छोडिएको थियो । भुमकेज्युला मझौला सिँचाइ योजना अलपत्र पर्दा झिम्पे र त्रिवेणीका तीन सय हेक्टर जग्गा सिँचाइविहीन भएको स्थानीय देवबहादुर बुढाथोकीले बताए । झन्डै एक करोड खर्च भइसकेको योजना अलपत्र पर्दा धेरै किसान मर्कामा परेका उनले जनाए । उनका अनुसार कतिपयका जग्गा बाँझै र केही जग्गा जंगलमा परिणत भएको छ ।


सिँचाइ भए तीन बाली लगाउन सकिने खेतीयोग्य जग्गामा अहिले मकै र गहँु मात्र लगाउन बाध्य भएको उनले जनाए । सम्बन्धित कार्यालयले ठेकेदारले छोडेका कारण फेरि बजेट बिनियोजन नगरेपछि योजनाहरू अलपत्र परेका हुन् । पञ्चवर्षीय योजनाको दोस्रो चरणका काम गर्दा ठेकेदार भागेकाले किसानहरू मर्कामा परेको देवस्थलका किसान मनवीर बुढाले बताए । सिँचाइको अभावमा खेतीपाती गर्ने जग्गामा अहिले घरैघर बनेको उनको भनाइ छ ।


योजना पुन: सञ्चालनका लागि बारम्बार माग राख्दै आए पनि बेवास्ता भएको उनको भनाइ छ । गाउँको पारिपट्टि सुर्खेतको राकममा सिंचाईको सुबिधाले तरकारी र अन्नबाली राम्ररी फस्टाए पनि वारि सिँचाइको समस्याले बाँझै भएको उनको भनाइ छ । ‘पारिका किसानले वर्षमा तीन बाली लगाउँछन् । तर हामी त्यो हेरेर चित्त बुझाउन बाध्य छौं,’ उनले भने ।


सिँचाई सब डिभिजन कार्यालय सल्यानका प्रमुख अखलाक अहमद सिद्धिकीले धेरै पुराना योजनाहरूका बारेमा आफूलाई जानकारी नभएको बताए । ठेकेदारले एकातिर काम सम्पन्न गर्दै जाने र अर्कोतिर पहिरो जाने समस्याले धेरै योजनाले पूर्णता नपाएको उनले बताए । चार करोड बजेटको कालागाउँको सिँचाइ योजना सम्पन्न भएर एकपटक पानी छोडे पनि अर्को वर्ष पहिरोले सबै पुरेको उनले जनाए । उनका अनुसार मर्मतका लागि बजेट नआएकाले उक्त योजना समेत अलपत्र जस्तै छ ।


कालीमाटी गाउँपालिकाको काप्रेचौरस्थित घुइयाबारी सिँचाइ योजना ७५ प्रतिशत सम्पन्न भए पनि तीन वर्षअघि बबई नदीमा आएको बाढीले बगाएपछि अलपत्र बनेको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार पाँच किमि को घुइयाबारी सिँचाइमा सात करोड खर्च भएको छ । उनका अनुसार दुई वर्षको अवधिमा १६ योजना सम्पन्न भएका छन् । तीन सिँचाइ योजना निर्मााचााधीन अवस्थामा छन् ।

प्रकाशित : फाल्गुन १५, २०७४ ११:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?