लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्ने आसपासमा रातिदेखि परेको बाक्लो हिमपातका कारण सवारी आवागमन अवरुद्ध भएको हो ।
रुकुम पश्चिम — मौसममा आएको बदलीका कारण गएरातिदेखि रुकुम पूर्वका उच्च पहाडी तथा हिमाली भेग प्रभावित भएका छन् भने मध्यपहाडी लोकमार्गको आवतजावत पनि अवरुद्ध भएको छ ।
लोकमार्गको रुकुम पूर्व र बागलुङको सिमाना पाथीहाल्ने आसपासमा रातिदेखि परेको बाक्लो हिमपातका कारण सवारी आवागमन अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी उमाशंकरप्रसाद यादवका अनुसार रातिदेखि नै जिल्लाको लेकाली भेगमा मौसम प्रतिकूल भएको छ र हिमपात भइरहेको छ । जसका कारण सर्वसाधारणको दैनिकी कष्टकर बन्दै जान थालेको छ । ‘पाथीहाल्ने आसपासमा झन्डै दर्जन सवारीहरू रोकिएका छन् । यात्रुहरूलाई सुरक्षित स्थानमा जान सहजीकरण गरिरहेका छौं,’ उनले भने । ‘भूमे गाउँपालिकाको जेसीबी मेसिन तयारी अवस्थामा छ । थोरै हिउँ पग्लिएपछि बाटो सुचारु गर्ने कोसिस गरिनेछ ।’
हिमपातका कारण हिमाली भेगमा रहेका सर्वसाधारणहरूले चिसो धेरै बढेको बताएका छन् । तर हिउँदे बालीलाई यसले फाइदा हुने भएकाले उनीहरूले हिमपात हुनुलाई सकारात्मक रूपमा लिइरहेको जनाएका छन् । अहिले भने बिस्तारै मौसममा सुधार आउँदै जान थालेकाले अब जनजीवन सहज हुने अपेक्षा गरिएको छ ।
