कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

सञ्चालनमा आयो वाल्मीकि आश्रम जाने झोलुंगे पुल

श्रावण २९, २०८१
सञ्चालनमा आयो वाल्मीकि आश्रम जाने झोलुंगे पुल

परासी — वाल्मीकि आश्रम जानका लागि नारायणी नदीमा दुई वर्षअगाडि निर्माण सम्पन्न भएको झोलुंगे पुल सोमबारबाट सञ्चालनमा आएको छ । ऐतिहासिक धार्मिकस्थल वाल्मीकि आश्रम पुग्नका भारतीय मार्ग हुँदै जानुपर्ने बाध्यता हटाउन नारायणी नदीमा झोलुंगे पुल निर्माण गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्ज हुँदै पैदल जानुपर्ने र निकुञ्जमा ट्याक नखोलिएको हुँदा पुल निर्माण सम्पन्न भए पनि सञ्चालनमा आउन सकेको थिएन । पुलको नजिकै सेनाको पोस्ट राखेर धार्मिक पर्यटक र तीर्थालुलाई आश्रम जाने व्यवस्था मिलाइएपछि पुल सञ्चालनमा आएको हो ।

चितवनको माडी नगरपालिकामा रहेको वाल्मीकि आश्रम जानका लागि पूर्वी नवलपरासी र भारतीय मार्ग हुँदै जानुपर्ने बाध्यता थियो । त्रिवेणी गजेन्द्र मोक्ष दिव्यधाम क्षेत्र विकास सामितिका अध्यक्ष स्वामी कृष्ण प्रपन्नाचार्यले पुल र करिब ३ किलोमिटर लामो पैदल मार्गको उद्घाटन गरेपछि सञ्चालनमा आएको थियो ।

उद्घाटन समारोहमा गण्डकी प्रदेशका सांसदहरू, विभिन्न राजनीतिक दलका नेता, स्थानीय जनप्रतिनिधि र श्रद्धालुको ठूलो उपस्थिति थियो । अब नेपाली तीर्थालु र पर्यटकलाई वाल्मीकि आश्रम पुग्नका लागि भारतीय भूमि प्रयोग गर्नुपर्ने बाध्यता हटेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

धार्मिक पर्यटनको केन्द्र वाल्मीकि आश्रम दर्शन तथा अवलोकनका लागि नेपाल र भारतबाट हजारौं तीर्थालु आउने गर्छन् । यहाँ रामायणमा वर्णित महर्षि वाल्मीकिको आश्रम, ८८ हजार ऋषिमुनिले यज्ञ गरेको हवन कुण्ड, लवकुश जन्मस्थल, शिक्षा ग्रहण गरेको स्थल, लवकुशले घोडा बाँधेको ठाउँ, सीताजीको भान्सा स्थल, अमृत कुवा, सीता पाताल प्रवेशस्थलजस्ता ऐतिहासिकस्थल रहेका छन् ।

प्रकाशित : श्रावण २९, २०८१ १३:४२
x
×