तिलोत्तमा — एक सातादेखि रूपन्देहीको तिनाउ आसपासमा पाटे बाघको त्रास बढ्न थालेपछि स्थानीय त्रसित बनेका छन् । बस्तीनजिकै बाघ देखिन थालेपछि प्रशासनले नियन्त्रणमा लिने प्रयास पनि थालेको छ ।
गत साउन १७ मा शुद्धोधन–३ र सियारी गाउँपालिकाले वडा न. ७ स्थित तिनाउ नदी आसपासमा बच्चासहितका तीनवटा बाघ देखा परेपछि सतर्कता अपनाउन सूचना नै जारी गरेको थियो । साउन १८ मा सियारीकै चम्कीपुर क्षेत्रका खेतमा बाघका पन्जासहितको चिह्न देखा परेपछि वडा कार्यालयले स्थानीयलाई थप सजगता अपनाउन आग्रह गरेको थियो ।
त्यस्तै साउन २१ मा तिलोत्तमा नगरपालिकाको कार्यालयले पनि तिनाउ नदीको आसपासमा बाघ आएको सूचना प्राप्त भएपछि सतर्कता अपनाउन सूचना जारी गरेको थियो ।
स्थानीय र जनप्रतिनिधिले बाघ देखेको भनी सूचना जारी गरेपछि रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले यसबारेमा शनिबार वन कार्यालयको टोली पठाएर वास्तविकता बुझ्न लगाएका छन् । वनको टोलीले वस्तुस्थिति बुझेर बाघ रहेको यकिन गरेपछि आइतबार प्रमुख जिल्ला अधिकारी अर्याल आफैं सियारी पुगेका थिए । स्थानीय र जनप्रतिनिधिसँग कुरा गर्दा उनीहरूले साउन १७ मा बाघ देखेपछि आफ्ना हिसाबले सतर्कता अपनाउँदै आएको र शनिबार पुनः बाघ देखेर केही महिला बेहोससमेत भएको कुरा आफूलाई सुनाएको उनले बताए । ‘बस्तीनजिक देखिएको बाघलाई नियन्त्रणमा लिन जरुरी छ,’ प्रजिअ अर्यालले भने, ‘त्यसका लागि बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीलाई रूपन्देहीमा बोलाइसकेका छौं ।’
प्रकाशित : श्रावण २७, २०८१ १९:२९