कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

सुप्रिम सहकारी पीडित फेरि आन्दोलित

श्रावण २७, २०८१
सुप्रिम सहकारी पीडित फेरि आन्दोलित

Highlights

  • बचत फिर्ताका लागि सरकारी निकायबाट प्रभावकारी पहल नभएको गुनासो

बुटवल — बचत फिर्ताका लागि सरकारी निकायबाट प्रभावकारी पहल नभएको भन्दै बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता फेरि आन्दोलित भएका छन् । सुप्रिम सहकारीबाट बचतकर्ताको १ अर्ब ७ करोड रकम मध्ये झण्डै ९० करोड अपचलन भएको थियो ।

१० हजार ३ सय ९१ बचतकर्ता रहेको सुप्रिम सहकारीका झण्डै ५ सय बचतकर्ताले आइतबार लुम्बिनी प्रदेश राजधानी दाङको देउखुरी पुगेर दोषीमाथि कारवाही र बचत फिर्ताको माग गर्दै आन्दोलन गरेका छन् । उनीहरुले राज्यले अहिलेसम्म प्रभावकारी सुनुवाई नगरेको भन्दै आइतबार ब्यानरसहित प्रदर्शन गरेका थिए ।

बस रिजर्भ गरेर बुटवलबाट प्रदेश राजधानी दाङ पुगेका पीडित बचतकर्ताले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयमा ज्ञापनपत्र बुझाउनुका साथै ती मन्त्रालय र कार्यालय अगाडी घेराउ तथा नाराबाजी गरेका हुन् । यसअघिका आन्दोलन बुटवलमै गरे पनि सरकारबाट सुनुवाई नभएपछि अहिले प्रदेशको राजधानी केन्द्रीत आन्दोलन सुरु गरेको सुप्रिम बचत पीडित संघर्ष समितिका संयोजक बिजयकुमार नेपालले बताए । ‘हामीले बैशाखदेखि निरन्तर आन्दोलन गर्दै आइरहेका छौं, आजको आन्दोलन पनि त्यसकै निरन्तरता हो,’ उनले भने, ‘वचत फिर्ताका लागि राजनीतिक दल, सांसद र मन्त्रीहरुलाई पनि जानकारी गरायौं, तर सुनुवाइ नभएपछि फेरि आन्दोलनमा उत्रिन बाध्य भयौं ।’ बचत फिर्ताको सुनिश्चित नभएसम्म चरणबद्ध आन्दोलनलाई निरन्तरता दिने उनले बताए । आन्दोलनका लागि दुई वटा बस रिजर्भ गरेर बुटवलबाट भालुबाङ पुगेको उनले बताए ।

सुप्रिम सहकारीमा एकै व्यक्तिको तीन करोड रुपैयाँसम्म बचत फसेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सहकारीका १ हजार ८ सय ३१ जनाले आफूहरुको ८६ करोड १८ लाख २३ हजार अपचलन गरेको भन्दै जाहेरी दिएका छन् । सुप्रिम सहकारीमा बचत भएको १ अर्ब २ करोड १४ लाख २ सय ५३ रुपैयाँ मध्ये झण्डै ९० करोड अपचलन भएको देखिएको जिल्ला प्रहरी रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले बताए । सहकारीको रकम विभिन्न व्यक्ति र कम्पनीका नाममा पठाउने मुख्य आरोपी पूर्वअध्यक्ष जीबी राई र बुटवलस्थित मुख्य कार्यालयका व्यवस्थापक सागर केसीसहित ९ जना फरार छन् । राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोर्खा मिडिया नेटवर्कमा लगानी गरेको अनुसन्धानबाट खुलेको छ ।

भूपेन्द्रबाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख रुपैयाँ गोर्खा मिडियाको नामको पेश्की फर्छ्यौट गरेको अनुसन्धानले देखाएको छ । त्यस्तै भूपेन्द्रबाहेक थप १० लाख ९९ लाख ३६ हजारसहित कुल १४ करोड २९ लाख रकम गोर्खा मिडियामा लगानी गरेको देखिएको जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख छ । सरकारी वकिल कार्यालयले सहकारीको रकम हिनामिना गरेको आरोपमा २८ जनाविरूद्ध मुद्दा दायर गरेको थियो । सहकारीको रकम ऋणका रुपमा लैजानेमा संस्थापक अध्यक्ष जीबी राईदेखि पूर्वगृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता देखिएको छ ।

लामिछाने गोर्खा मिडियाका पूर्व कार्यकारी निर्देशक हुन् । प्रहरीको अनुसन्धान प्रतिवेदनमा लामिछानेको नाममा पनि ऋण लगानी भएको उल्लेख छ । प्रहरी प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले चलाएको मुद्दामा सहकारीका अध्यक्ष बुटवलका ओमप्रकाश गुरुङ पुर्पक्षका लागि कारागारमा छन् । सहकारीका पूर्वसचिव दीपेश पुनसहित अन्य ६ जना जिल्ला अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् । पुन ४ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए । अर्का प्रतिवादी नवीन अछामी १० लाख, भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डे १८ लाख, निता थापा मगर २ लाख, दीपक न्यौपाने ४ लाख ४५ हजार र रोशनी गुरुङ २ लाख रुपैयाँ धरौटीमा रिहा भएका थिए । इलाका प्रहरी कार्यालय बुटवलले करिब दुई महिना लामो अनुसन्धानपछि गत वैशाख ३ गते जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो ।

प्रकाशित : श्रावण २७, २०८१ २२:३३
x
×