कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

लुम्बिनीमा कांग्रेसका प्रमुख सचेतक तिमिल्सिनाले पनि दिए राजीनामा

श्रावण २४, २०८१
लुम्बिनीमा कांग्रेसका प्रमुख सचेतक तिमिल्सिनाले पनि दिए राजीनामा

बुटवल — लुम्बिनीको आर्थिक मामिला तथा योजनामन्त्री बन्न दौरा सुरुवालमा सजिएर पनि अन्तिममा मन्त्री नपाएका कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पदबाट राजीनामा दिएका छन् । तिमिल्सिनाले साउन २१ गते नै प्रमुख सचेतक पदबाट राजीनामा दिए पनि स्वीकृत गरिएको छैन । उनको राजीनामा गोप्य राखिएको छ ।

कांग्रेस स्रोतका अनुसार मन्त्री सिफारिसमै असन्तुष्टि जनाउँदै उनले कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीसमक्ष राजीनामा बुझाएका हुन् । दल नेता चौधरी उनको राजीनामा स्वीकृत नगरी त्यही राजीनामा बोकेर काठमाडौं पुगेका छन् । स्रोतका अनुसार तिमिल्सिना पनि काठमाडौंमै छन् ।

दल नेता चौधरीले २०७९ फागुन १३ गते तिमिल्सिनालाई प्रमुख सचेतक बनाएका थिए । बर्दिया निर्वाचन क्षेत्र नं. २(१)बाट निर्वाचित तिमिल्सिना प्रदेशमा चौधरी निकट मानिन्छन् । चौधरीले कांग्रेसलाई तिमिल्सिनाकै नेतृत्वमा सरकारमा पठाउन चाहेका थिए । तर, अन्तिम समयमा संस्थापनइतर पक्षले दुई पद मागेर अडान नछोडेपछि चौधरी आफैले केही समयका लागि तिमिल्सिनालाई मन्त्री बन्न अन्तिम समयमा रोकेका थिए । मन्त्रीको जिम्मेवारी बाँडफाँडका क्रममा कांग्रेसले गुल्मीका प्रदेशसभा सदस्य धनेन्द्र कार्कीलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाएपछि तिमिल्सिना पार्टीमै रुष्ट बनेका हुन् । तिमिल्सिनाले प्रमुख सचेतकको हैसियतले प्रयोग गर्दै आएको प्रदेशसभाका लु१झ १३०५ नम्बरको गाडी पनि प्रदेशसभालाई नै फिर्ता गरेका छन् ।

एमालेसँगको समिकरणमा कांग्रेसले लुम्बिनीमा ५ मन्त्रालय पाएको छ । त्यसमा कांग्रेसको संस्थापन पक्षबाट ३ र संस्थापनइतर पक्षबाट १ मन्त्री बनेका छन् । एक मन्त्री बन्न अझै बाँकी छ । कांग्रेसको संस्थापनइतर पक्ष तिमिल्सिनालाई मन्त्री हुनबाट रोकेपछि संस्थापन पक्षतर्फ असन्तुष्ट बन्ने र दल नेता चौधरी नै कमजोर बन्ने विश्लेषणका साथ तिमिल्सिनालाई जसरी पनि मन्त्री बन्नबाट रोक्ने रणनीतिमा रहेको स्रोतको दाबी छ ।

लुम्बिनीको कांग्रेस प्रदेश समितिदेखि प्रदेशसभासम्मै कांग्रेसको संसदीय दलको नेता फेर्ने प्रयास निरन्तर जारी छ । त्यसका लागि संस्थापन समूहका असन्तुष्ट प्रदेशसभा सदस्यलाई इतर समूहमा तान्ने र दल नेता परिवर्तन गर्ने रणनीतिमा संस्थापनइतर समूह लागिरहेको र अहिले तिमिल्सिनालाई त्यही समूहले मन्त्री बन्न रोकेको एक प्रदेशसभा सदस्यले बताए । ‘अब छिट्टै दल नेता फेर्ने तयारी भएको छ,’ ती नेताले भने, ‘जन्मजयलाई सकेसम्म संस्थापनमा असन्तुष्ट बनाउने र दल नेता संस्थापन इतरको बनाउन निर्णायक जस्तै रहेका उनलाई तान्ने प्रयास भइरहेको छ ।’

चौधरी निकट मानिने तिमिल्सिनाले समूह परिवर्तन गरेको अवस्थामा पावरफुल मन्त्रालय दिने र दल नेतामा दाङका पूर्वमन्त्री राजु खनाललाई संस्थापनइतरबाट अघि सार्ने तयारी रहेको ती प्रदेशसभा सदस्यले बताए ।

लुम्बिनी प्रदेश समितिमा कांग्रेसको संस्थापनइतर पक्ष बलियो भए पनि प्रदेशसभामा संस्थापन पक्ष बलियो छ । लुम्बिनी प्रदेशसभामा २७ सदस्य छन् । तीमध्ये झण्डै १८ संस्थापन पक्षका हुन् । तिमिल्सिनाले समूह परिवर्तन गरेको अवस्थामा उनीसहित ४ जना इतर समूहमा आउने र बहुमत पुर्‍याएर दल नेता परिवर्तन गर्ने प्रयासइतर समूहको छ ।

लुम्बिनीमा मुख्यमन्त्री र मन्त्री चयनको विषयलाई लिएर एमाले संसदीय दल नेता लीला गिरी र एमालेकै प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पनि पदबाट राजीनामा दिएका थिए । उनीहरुको पनि राजीनामा स्वीकृत भएको छैन ।


प्रकाशित : श्रावण २४, २०८१ २२:२५
x
×