बर्दिया — जिल्ला अदालतबाट चोरी मुद्दामा सजाय र जरिवाना तोकिएका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।
गत वैशाख २५ गते जिल्ला अदालतले चोरी मुद्दामा ११/११ दिन कैद सजाय, २/२ हजार रुपैयाँ जरिवाना र पीडित राहत कोषमा जनही २ सय रुपैयाँ जम्मा हुने गरी फैसला गरेको थियो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुशल सिंह ठकुरीका अनुसार पक्राउ पर्नेमा बाँसगढी नगरपालिका–६ दमौलीका २७ वर्षीय अशोक सुनार र सोही ठाउँका २५ वर्षीय विशाल सुनार रहेका छन् । उनीहरुलाई आफ्नै घरवतनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको प्रनि ठकुरीले जानकारी दिए ।
उनीहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालतमा दाखिला गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित : श्रावण २३, २०८१ १६:०९