नवलपरासी — पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका-४ स्थित तीन सय ५० घरधुरी रहेको नारायणी पारि सुस्तामा विद्युत् प्रसारण लाइन विस्तार हुने भएको छ । एक हजार पाँच सय ७१ मिटर लामो झोलुंगे पुलको प्रयोग गरी नारायणी पारिसम्म विद्युतीकरण गर्न लागिएको हो ।
संघीय सरकारको सौर्य मिनी ग्रिड परियोजनाको चार करोड ८० लाख रूपैयाँ लागतमा उज्यालो सुस्ता अभियानको घोषणा गर्दै सुस्तामा सोलार प्रणाली जडान गरिएको थियो । तर सोलार पटक–पटक बिग्रिने र सुस्तावासीलाई पर्याप्त विद्युत् नपुग्ने समस्या थियो ।
अहिले नारायणी नदीमा झोलुंगे पुल निर्माणसँगै विद्युतीकरण हुने भएपछि सुस्तावासी अब अँध्यारोमा बस्नुपर्ने बाध्यताबाट मुक्त हुने सुस्ता बचाउ अभियानका अभियन्ता रवीन्द्र पटेलले बताए । सोलार प्रणालीको जडानसँगै सुरु भएको उज्यालो अभियान विद्युतिकरणसहित पूरा हुने भएको हो ।
झोलुंगे पुलमा विद्युत् सुरक्षाको पूर्ण मापदण्ड पूरा गरी विद्युत् प्रसारण लाइन पुलको सहारामा पारी सुस्ता पुर्याउन लागिएको नेपाल प्राधिकरण बर्दघाट वितरण केन्द्रका प्रमुख प्रशान्त झाले बताए । हालसम्म छ सय मिटर तार तानिएको उनको भनाइ छ ।'नेपालमा यस्तो प्रकृतिको विद्युतीकरणको काम पहिलो भएकोले हामीलाई पनि चुनौती छ,' प्रमुख झाले भने ।
वारि सुस्ता र पारि सुस्ता दुवैतर्फ विद्युतीकरणको पोल र तार राखिसकिएको र अब झोलुंगे पुलमा आउँदो महिनाभित्र राखिसक्ने विद्युतीकरणको ठेक्का पाएको एमडीराजा निर्माण सेवाले जनाएको छ । उक्त कार्यका लागि एक करोड ३० लाख रूपैयाँ लागत लाग्ने छ । सो रकम प्राधिकरणको स्रोतबाट खर्च गरिने बर्दघाट वितरण केन्द्रका प्रमुख झाले बताए ।