पाल्पा — पाल्पाको रामपुर नगरपालिकाले नगरभित्रका माध्यमिक विद्यालयलाई डिस्पोजल मेसिनसहित सेनिटरी प्याड वितरण गरेको छ । नगरभित्रका १८ माध्यमिक विद्यालयलाई डिस्पोजल मेसिनसहित र ६ वटा आधारभूत तहका विद्यालयलाई मंगलबार सेनिटरी प्याड वितरण गरेको हो ।
नगरपालिकाले २४ वटा विद्यालयलाई ११ हजार ६२ प्याकेट सेनिटरी प्याड दिएको छ । उसले १८ वटा डिस्पोजल मेसिन वितरण गरेको हो ।
ससर्त अनुदान सेनिटरी प्याड व्यवस्थापन कार्यक्रमअन्तर्गत कक्षा ६ देखि १२ सम्म अध्ययन गर्ने १ हजार ७ सय ५६ विद्यार्थीलाई पुग्ने सेनिटरी प्याड वितरण गरेको रामपुर नगरपालिकाकी उपप्रमुख बालकुमारी थापाले बताइन् । विद्यालयमा अध्ययन गर्ने छात्रालाई महिनावारीको समयमा सहज होस् भन्ने उद्देश्यले सेनिटरी प्याड वितरण गरेको हो ।
नगर उपप्रमुख थापाले विद्यार्थीलाई आवश्यकतानुसार समान रूपमा प्रदान गर्न विद्यालयलाई आग्रह गरिन् । विगतका वर्षमा सेनिटरी प्याड वितरण गर्दै आएको र उक्त वितरण गरेको सेनिटरी प्याडको प्रयोगपश्चात् व्यवस्थापनमा समस्या हुने गुनासो आएकाले यस वर्ष नष्ट गर्ने मेसिनसमेत दिइएको हो । सेनिटरी प्याड प्रयोग गर्ने तर सहज व्यवस्थापनका लागि डिस्पोजल मेसिन वितरण गरेको शिक्षा शाखा प्रमुख विकल काफ्लेले बताए ।
सेनिटरी प्याड दिएपछि छात्रालाई राहत मिलेको र प्रयोगपश्चात् व्यवस्थापनमा समस्या हुने भएकाले डिस्पोजल मेसिन भएपछि सहज हुने दरैठाँटी माविका प्रधानाध्यापक सुन्दरप्रसाद देवकोटाले बताए । २० लाख रुपैयाँ अनुदानमार्फत डिस्पोजल मेसिन र सेनिटरी प्याड दिइएको हो ।
प्रकाशित : श्रावण २२, २०८१ २१:४२