परासी — कांग्रेसको केन्द्रीय सहकारी विभागले ७ वटै प्रदेशमा सहकारीको अवस्था र समस्या समाधानका बारेमा छलफल सुरु गरेको छ । पार्टीको सहकारी विभाग प्रमुख तथा केन्द्रीय सदस्य देवेन्द्रराज कँडेलको नेतृत्वमा गण्डकी र लुम्बिनी प्रदेशमा अन्तर्क्रिया गरेर सुझाव संकलन गरिसकेको छ भने अन्य प्रदेशमा पनि छिट्टै सुझाव संकलन गरिने कँडेलले जानकारी दिए ।
सहकारीको निश्चित उद्देश्य लिएर स्थापना भएका सहकारीले त्यस अनुसार काम गरे नगरेको र समस्या समाधानका लागि गर्न सकिने पहलको विषयमा छलफल र योजना तर्जुमा गरिएको उनले बताए । ‘मुलुकभरि नै पछिल्लो समयमा सहकारीको रकम अपचलन र यसको व्यवस्थापन पक्षको विषयमा सातै प्रदेशका सरोकारवालासँग छलफल गर्दै छौं,’ कँडेलले भने, ‘सातै प्रदेशको समस्या, यसको समाधान र सुझावसहितको प्रतिवेदन बनाएर पार्टीलाई बुझाउने छौं ।’
प्रदेश सहकारी विभागको आयोजनामा देशैभरि यो अभियान संचालन हुनेछ । छलफलमा सहकारीसँग सम्बन्धित संचालक, कर्मचारी र उपभोक्तासहितको सहभागितामा सुझाव संकलन गर्ने काम भइरहेको छ ।
प्रकाशित : श्रावण २२, २०८१ १७:३१