कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५७

बुटवल बजारमा गुणस्तरहीन दूध

श्रावण २१, २०८१
बुटवल बजारमा गुणस्तरहीन दूध

तिलोत्तमा — बुटवल बजारमा मापदण्डविपरीत गुणस्तरहीन दुध बिक्री गर्ने गरेको पाइएको छ । व्यवसायीले अत्याधिक मात्रामा पानी मिसाएर दुध बेच्ने गरेको पाइएको हो । 

सरकारले भैंसीको दुधमा न्यूनतम फ्याट ५ प्रतिशत र एस.एन.एफ. ८ प्रतिशत, गाइको दुधमा ३.५ प्रतिशत फ्याट र एस.एन.एफ. ७ प्रतिशत तथा मिक्स दुधमा ३.५ प्रतिशत फ्याट र एस.एन.एफ.को मात्रा ८ प्रतिशत तोकेको छ । तर बुटवलको बजारमा १.८ प्रतिशत फ्याट भएको दुध बिक्री वितरण हुने गरेको पाइएको उपप्रमुख साबित्रादेवी अर्यालले बताइन् ।

'हामीले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्राविधिक टोली र उपभोक्ता हित संरक्षण मञ्चको उपस्थितिमा अनुगमन गर्दा अत्याधिक मात्रामा पानी मिसाएर वा फ्याट झिकेर दूध बेच्ने गरेको पाईयो,' उनले भनिन्, 'त्यसमध्ये १० वटा नमुना संकलन गरी प्रयोगशालामा पठाइयो । नतिजा फेल आयो ।'

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका खाद्य निरीक्षक दीपक कुमार यादवले दूधबाट फ्याटको मात्रा झिकिएको र पानीको मात्रा अत्याधिक राखेर बेच्ने गरेको पाइएको बताए । दूध सम्बन्धी व्यवसायी र उपभोक्तालाई सचेत गराउनको लागि अहिले माईकिङ गरिएको र अनुगमनका क्रममा मापदण्ड भन्दा विपरीत दूध बेचेको पाइए तत्काल कारबाही गरिने उपप्रमुख अर्यालले बताइन् ।

उपमहानगरपालिकाले मापदण्ड भन्दा विपरीत दूध बेच्नेलाई १० हजारसम्म जरिवाना लिन सक्ने ब्यवस्था रहेको जनाएको छ ।

प्रकाशित : श्रावण २१, २०८१ १७:४५
x
×