कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३७

सडक व्यापारीमाथि नगर प्रहरीको हस्तक्षेप

श्रावण २०, २०८१
सडक व्यापारीमाथि नगर प्रहरीको हस्तक्षेप

बुटवल — रूपन्देहीको बुटवल–९ की टीका श्रीसमगर स्थानीय अस्पताल लाइनअगाडि शनिबार बिहान डोकोमा फलफूल बिक्री गरिरहेकी थिइन् । त्यही बेला फुटपाथ खाली गराउँदै बुटवल उपमहानगरबाट खटिएकाे नगर प्रहरीको टोली आइपुग्यो । त्यो देखेर टीका दौड्न थालिन् । प्रहरीको टोलीले उनलाई त्यहाँबाट झण्डै दुई सय मिटर पर नेपालगन्ज रोडसम्म लखेटेर नियन्त्रणमा लियो ।

केही समय नगर प्रहरीले डोको तान्ने र टीकाले आफ्नाे बचाउन गर्ने क्रम चलिरह्याे । ६ जनाभन्दा बढी प्रहरीले एकोहोरो डोको तान्दा घाँटीमा नाम्लो अड्किएको स्थानीय भेटेनरीमा पुगेका प्रत्यक्षदर्शी योगेन्द्र गौतमले बताए । उनले नगर प्रहरीसित बल प्रयोग नगर्न आग्रह गरे । प्रहरीलाई केही पर धकेलिदिएर टीकाको घाँटीबाट नाम्लो फुत्काइदिए ।

गौतमले नगर प्रहरीलाई किन यसरी ज्यादती गरेको भनेर प्रश्न गर्दा उल्टै ‘तँ को होस् ?’ भन्ने जवाफ पाएकाे उनले बताए । नागरिकको हिसाबले टीकामाथिको ज्यादती भएको हेर्न नसकेर आफूले बचाएको उनले सुनाए । ‘एक जनाले पछाडिबाट आएर ती दिदीको लुगा पनि च्यातिदिए,’ योगेन्द्रले भने, ‘महिलालाई हेपेको प्रत्यक्ष दृश्य देखेँ, व्यवस्थापनका नाममा नागरिकमाथि भएको यस्तो अपराध असैह्य छ ।’ गौतमले उपमहानगरपालिकाले सडक व्यापारीका लागि स्थान व्यवस्थापन नगरीकन प्रत्येक दिन लखेट्ने, सामान फ्याँकिदिने गरेको गुनासो सुन्ने गरेकामा शनिबार आफैंले देखेको पनि बताए ।

कोरोना महामारीमा लकडाउन भएदेखि टीकाले बुटवलमा सिजनअनुसारका फलफूल डोकोमा राखेर बेच्ने काम गरिरहेको बताइन् । श्रीमान् सुस्त मनस्थितिका छन् । श्रीमान‌्‌को रेखदेख र २ सन्तान पढाउन गुल्मीबाट बुटवल झरेको टीकाले सुनाइन् । सडक व्यापार गरेरै गुजारा गरिरहेको उनले बताइन् । ‘हामी दिनदिनै डोकोमा बोकेर हिँड्छौं, दिनदिनै लखेट्छन्,’ उनले भनिन्, ‘प्रहरीको जागिर हो भनेर सम्मान गरेर पाखा लाग्थ्यौं, अहिले त अति नै गरे ।’

अहिलेसम्म प्रहरीले ७ वटा छाता, १० पटकभन्दा बढी आफ्नो डोको र फलफूल लगेको उनले बताइन् । शनिबार अस्पताल लाइनमा डुल्दै गर्दा प्रहरी आएको थाहा पाएर दौडेको तर लखेटेरै नियन्त्रणमा लिएको उनले सुनाइन् । दैनिक ३ हजार रुपैयाँ लगानीमा फलफूल खरिद गरेर बिक्री गर्दै हिंँड्ने उनलाई प्रहरीले आफूमाथि गरेको ज्यादतीले ठूलो पीडा दिएको बताइन् ।

बुटवल उपमहानगरपालिकाका गल्ली, चोक र सडकमा डोकोमा सिजनअनुसारका तरकारी, फलफूल बेचेर गुजारा चलाउनेको संख्या बाक्लै छ । उनीहरूले अन्यत्र ठाउँ नभएको र महंगा सटर भाडामा लिएर व्यापार गर्न सक्ने हैसियत नभएकाले यसरी व्यापार गरिरहेको बताए ।

नगर प्रहरीले बल प्रयोग गर्दा गत वर्ष तिलोत्तमा–४ की नर्मदा टण्डनको देब्रे खुट्टा भाँचियो । उनी फलफूल बेच्न दैनिकजसो बुटवल पुग्थिन् । एक दिन सडकमा व्यापार गरिरहेका बेला नगर प्रहरीले लखेट्दा पुष्पलाल पार्कमा कारसँग ठक्कर खाएर खुट्टा भाँचिएको उनले बताइन् ।

‘दौड्दा दौड्दा कारले ठक्कर दियो, ८ दिनसम्म अस्पतालमा बसें, १ लाख ४६ हजार कार मालिकले तिरिदिए,’ उनले भनिन्, ‘खुट्टा पाक्यो, पछि डेढ लाख जति खर्च गरेँ, ५ महिनापछि पुनः सडक व्यापारमा कुदें ।’ यति नगरे छाक टार्ने उपाय नभएकाले आफू दौड्न सक्ने स्थिति नहुँदा पनि व्यापार गर्न हिँडेको उनले बताइन् । श्रीमान्को हातमा समस्या देखिएपछि विदेशबाट फर्किएर आए । छोराछोरी पढ्दैछन् । उनीहरूका लागि आफूले काम नगरी नहुने उनले बताइन् ।

उपमहानगरका प्रवक्ता शिव रानाले व्यस्ता स्थानमा सडक व्यापार गरिनुले दुर्घटना निम्त्याउने गरेको बताए । स्वास्थ्य हब रहेको बुटवलको अस्पताल लाइन क्षेत्रमा सडक व्यापारीका कारण बटुवालाई समस्या परेको गुनासो धेरैपटक उपमहानगरमा आइसकेकाले पनि व्यवस्थापन गर्नुपर्छ भनेर कार्य गरिएको उनले बताए । ‘हामीले नियतवश यसरी हटाउने गरेका होइनौं,’ उनले भने, कहिलेकाहीं प्राविधिक त्रुटि हुन सक्छ, तर व्यापारी, नागरिक सबैले नियमन गर्ने निकायले पटक–पटक गरेको आग्रह, व्यवसायलाई व्यवस्थापन गरेर सञ्चालन गर्नुपर्ने विधि नअपनाएकाले समस्या छ ।’

प्रकाशित : श्रावण २०, २०८१ १८:५८
x
×