बर्दिया — भारतीय सीमा नाकाको बजार लौकाही हुँदै गुलरिया नगरपालिका–११ गण्शेपुर आउँदै गरेका दुई जनालाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
शनिवार दिउँसो भे ७ प ७३४९ नम्बरको मोटरसाइकलमा आउँदै गरेका दुई जनालाई चेकजाँच गर्दा उक्त पदार्थ फेला परेको हो ।
३१ नम्बर गण सशस्त्र प्रहरी बल, बर्दियाका गणपति चित्रांगत दाहालका अनुसार डेढ ग्राम उक्त पदार्थसहित बारबर्दिया नगरपालिका–६ का २२ वर्षिय सन्तोष गिरी र सोही ठाउँका १९ वर्षीय नविन कँडेल पक्राउ परेका छन् ।
भारतको लौकाही बजारबाट उक्त पदार्थ ल्याएको सशस्त्र प्रहरीको दाबी छ । पक्राउ परेकालाई आवश्यक कारवाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ । ५ दिन अघि भारतको बलैगाउँ बजार हुँदै बर्दिया प्रवेश गर्ने क्रममा सशस्त्र प्रहरी बलले ६ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थसहित एक जनालाई पक्राउ गरेको थियो ।
बढैयाताल गाउँपालिका–२ फुटाहास्थित सिमानाकामा चेकजाँच गर्दा ६ ग्राम उक्त पदार्थ बरामद गरेको छ ।