कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७४

बुटवलमा फेरि खुल्यो लुम्बिनीका मुख्यमन्त्रीको सम्पर्क कार्यालय

बुटवलमा फेरि खुल्यो लुम्बिनीका मुख्यमन्त्रीको सम्पर्क कार्यालय

Highlights

  • हरेक शुक्रबारदेखि आइतबारसम्म मुख्यमन्त्रीले बुटवलबाटै कार्यसम्पादन गर्ने

बुटवल — लुम्बिनी प्रदेश सरकारले बुटवलमा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको छ । यसअघिका मुख्यमन्त्री जोखबहादुर महराले बुटवलमा रहेको सम्पर्क कार्यालय र निवास हटाएका थिए ।

मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये ६ जिल्लाको केन्द्र बुटवल रहेको र सरकारका धेरै सम्पर्क एवं कामकारबाहीका लागि बुटवलमा सम्पर्क कार्यालय जरुरी देखिएकाले पुरानो कार्यालय र निवास पुनः संचालनमा ल्याउने निर्णय गरेको बताए ।

बुटवल उपमहानगरपालिका–८ स्थित सडक डिभिजन कम्पाण्डभित्र रहेको आन्तरिक राजस्व कार्यालयको भवनलाई २०७४ सालमै मुख्यमन्त्री शंकर पोखरेलले निवास बनाएका थिए । बुटवलबाट प्रदेश राजधानी दाङको भालुवाङमा सारिएपछि बुटवलमा पनि सम्पर्क कार्यालय र निवास राख्ने निर्णय भएको थियो । निरन्तर सम्पर्क कार्यालयका रूपमा रहेको भवनलाई २०८० चैतमा मुख्यमन्त्री बनेका महराले हटाउने निर्णय गरेका थिए । महराको निर्णय बदर गर्दै मुख्यमन्त्री आचार्यले शनिबारदेखि नै बुटवलमा सम्पर्क कार्यालय र निवास राख्ने निर्णय गरेर संचालनमा ल्याइएको बताए ।

लुम्बिनी प्रदेश संरचनाका मन्त्रालय र अधिकांश अन्य संरचना दाङको देउखुरीमै स्थापना र संचालन गरिएको छ । प्रदेश प्रमुखको कार्यालय र केही निर्देशनालयहरू बुटवलमा छन् । तिनीहरूसँगको सम्पर्क र कार्यसम्पादनमा सहजता ल्याउन एवं गुनासा सुन्नका लागि पनि बुटवलमा सम्पर्क कार्यालय आवश्यक देखिएको मुख्यमन्त्री आचार्यले बताए । ‘बुटवलमा रहेको प्रदेश प्रमुखको कार्यालयसँगको सम्पर्क, प्रदेश अन्तर्गतका सरकारी कार्यालयसँगको समन्वयका लागि पनि बुटवलमा सम्पर्क कार्यालय आवश्यक देखियो,’ उनले भने, ‘शुक्रबार नियमित यहाँ आउँछु, शनिबार पूरै र आइतबारको केही समय पनि बुटवलबाटै कार्यसम्पादन गर्ने गरी निर्णय गरेको छु ।’ आफ्नो अनुपस्थितिमा मुख्यमन्त्रीको सचिवालयका केही कर्मचारी बुटवलमै रहने उनले बताए । अहिले लुम्बिनी प्रदेश सरकारका अधिकांश कर्मचारी शुक्रबार बुटवल आएर आइतबार दाङ फर्कने गरेका छन् ।

प्रदेशको आर्थिक राजधानी र ठूलो जनघनत्व बुटवलमै रहेको मुख्यमन्त्री र मन्त्रीहरूका धेरै काम बुटवलमै पर्ने तर होटलमा बसेर त्यसको व्यवस्थापन गर्दा सरकारको खर्च बढेकाले त्यो कम गर्न पनि सरकारले बुटवलमा सम्पर्क कार्यालय राख्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं कृषि तथा भूमि व्यवस्था मन्त्री दिनेश पन्थीले बताए । ‘मुख्यमन्त्रीज्यू कुनै कार्यक्रम वा भेटघाटकै लागि भए पनि बुटवल आउँदा सुरक्षाकर्मी र सचिवालयको टिमसहित आउनु पर्‍यो,’ उनले भने, ‘त्यसरी आउँदा लाग्ने खर्चभन्दा सम्पर्क कार्यालय र निवास स्थापना गर्दा हुने खर्च न्यून हुने गरी सरकारले व्यवस्थापन गरेको छ ।’

जनसम्पर्क र भेटघाटका हिसाबले पनि बुटवलमा सम्पर्क कार्यालय जरुरी देखिएको उनले बताए । हरेक मुख्यमन्त्री संघीय सरकारसँगको समन्वयका लागि महिनामा कम्तीमा दुई पटक काठमाडौं पुग्ने गर्छन् । काठमाडौं जानका लागि भालुबाङबाट बुटवल वा भैरहवामा बास बस्ने र फर्किंदा पनि त्यसरी नै व्यवस्थापन गर्दा पनि खर्च बढी देखिएकाले त्यसको पनि नियन्त्रण गर्ने गरी सम्पर्क कार्यालय पुनः संचालनमा ल्याइएको प्रवक्ता पन्थीले बताए ।

प्रकाशित : श्रावण १९, २०८१ १८:३१
x
×