कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८७

पाल्पाको बगनासकालीमा कांग्रेस र माओवादीद्वारा गाउँसभा बहिष्कार

माधव अर्याल

पाल्पा — पाल्पाको बगनासकाली गाउँपालिकामा कांग्रेस र माओवादीबाट निर्वाचित जनप्रतिनिधिले १६ औं गाउँसभाको अन्तिम बैठक बहिष्कार गरेका छन् । कार्यपालिकाका तीन र १४ जना गाउँसभा सदस्यले सभा बहिष्कार गरेको तानसेनमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । 

पाल्पाको बगनासकालीमा कांग्रेस र माओवादीद्वारा गाउँसभा बहिष्कार

अधिवेशनमा गाउँपालिका सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम अनुसारको बजेट नआएको उनीहरुको आरोप छ । संयुक्त विज्ञप्ति जारी गर्दै जनताका सरोकारका विषयबस्तुलाई उपेक्षा गरिएको, वडागत, विषयगत रुपमा विनियोजन बजेट न्यून भएको आरोप लगाएका छन् ।

पालिकामा अवण्डामा बजेट रहेको नदेखिने गरी अन्य शीर्षकमा बजेट लुकाइएको, जनप्रतिनिधिलाई उपेक्षित गरी पाटींगत रुपमा योजना छनोट गर्ने गरी बजेट व्यवस्था गरिएको आरोप छ । सरकार जन उत्तरदायी हुने भन्दा विलाशितातर्फ उन्मूख रहेको, कार्यपालिकामा उठाइएका कुनै पनि प्रश्नको उत्तर सन्तोषजनक तरिकाले नदिइएको उनीहरुको आरोप छ ।

सरकार दलगत स्वार्थ र कार्यकर्ताउन्मूख भएको, लेखा संयोजकले मागेका विविध शीर्षकमा गरिएको खर्चको विवरण उपलब्ध गराउँदा छलछाम गरिएको आरोप उनीहरुले सभामा दर्ता गरेको विरोधपत्रमा उल्लेख गरेका छन् ।

आर्थिक वर्ष २०८१/८२ को बजेटमा असन्तुष्ट जनाएका कांग्रेसका १६ र माओवादीका एक जना छन् । नौ वडा रहेको बगनासकालीमा ५२ सदस्यीय गाउँसभा छ । विनियोजन विधेयकमाथि छलफल गर्न राखिएको बैंठकमा शुन्य समयमा काँग्रेसबाट निर्वाचित वडाध्यक्ष थानेश्वर तिमिल्सेनाले आफ्ना कुरा राख्दा प्रवक्ता टिका थापाले बोल्न रोकेपछि सभा बहिष्कार गरेको उनीहरुले बताए ।

कार्यपालिकामा छलफल नगरी रातारात १ करोड ७५ लाखका ७८ वटा योजना तयार गरेर बजेटमा समावेश गरेको मुख्य विषय भएको वडाध्यक्ष तिमिल्सेनाले बताए ।

पत्रकार सम्मेलनमा दायित्वको शीर्षक रकम बढी राखिएको, गाडी खरिदमा ६० लाख, समपुरक अनुदानमा आवश्यकता भन्दा बढी रकम विनियोजन गरेको, नीति तथा कार्यक्रम अनुसार बजेट नल्याइएको, सार्वजनिक लेखा समितिका संयोजकले हिसाव माग गर्दा नदिएको र दिएको हिसाब पनि अपूर्ण र पादर्शी नभएको आरोप उनीहरुको छ ।

अर्का वडाध्यक्ष लक्ष्मी प्रसाद अधिकारीले छलफल गर्न नदिएर एकलौटी ढंगले सभा संचालन गरेपछि बहिष्कार गरेको बताए । ‘जनताको माग भन्दा कार्यकर्ता पालनपोषण गर्ने खालका योजना ल्याइएको छ,’ उनले भने, ‘विलासिताको सामान खरिद गर्न बजेट विनियोजन नगरौं भन्दा हाम्रा कुरा सुनिएन ।’

लेखा समितिका संयोजक कृष्ण प्रसाद बस्यालले लेखा समितिले हिसाव माग गर्दा समेत नदिइ अपादर्शी ढंगले काम गरेको बताए । माओवादी केन्द्रबाट निर्वाचित वडासदस्य कृष्ण भूषालले आफूखुसी गाउँसभा सञ्चालन गरेकाले बहिष्कार गर्नु परेको बताए । गाउँपालिका अध्यक्ष सरस्वती चिदी दर्लामीले चित्त नबुझेमा संशोधन हाल्न सकिने व्यवस्था हुँदाहुँदै उठेर हिडेको बताइन् ।

‘हामीले छलफलका लागि समय दिने भन्दाभन्दै उठेर हिड्नु भयो,’ उनले भनिन्, ‘प्रस्ताव गरेको मात्र थियौं, पास भइसकेको थिएन । छलफल गर्न सकिन्थ्यो ।’ आर्थिक विधेयक र विनियोजन विधेयकमाथि छलफल गर्न अन्तिम सभा राखेको उनले बताइन् ।

विधेयकमाथि छलफल सुरु नहुँदै वडाध्यक्ष तिमिल्सेनालाई तीन मिनेट समय दिएको र बढी समय लगाएर पालिकाको आलोचना गर्न थालेपछि रोकेको बताइन् । ‘स्थानीय सरकार हो, चित्त नबुझे सभा स्थगन गरेर छलफल गर्न सकिन्थ्यो,’ उनले भनिन्, ‘बहिष्कार गरे पनि बहुमतले विद्येयक पारित भएको छ ।’

प्रकाशित : असार २६, २०८१ २०:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

नवगठित केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्ममा चयन भएका मन्त्रीहरु कस्तो लाग्यो ?

×