कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

रामपुर नगरपालिकाको बजेट ७३ करोड ८५ लाख रुपैयाँ

उत्पादन वृद्धिलाई प्राथमिकता, माछा पकेट क्षेत्र बनाइने

पाल्पा — पाल्पाको रामपुर नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ का लागि ७३ करोड ८५ लाख ४ हजार  रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ ।

रामपुर नगरपालिकाको बजेट ७३ करोड ८५ लाख रुपैयाँ

नगरसभाको १५औं अधिवेशनको पहिलो बैठकमा उपप्रमुख बालकुमारी थापाले आर्थिक विधेयक र विनियोजन विधेयक प्रस्तुत गर्दै उक्त बजेट सार्वजनिक गरेकी हुन् । सोही बैठकमा नगर प्रमुख रमणबहादुर थापाले नगरपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ५६ करोड ३१ लाख ४४ हजार र पूँजिगततर्फ १७ करोड ५३ लाख ६० हजार विनियोजन गरेको छ । । आर्थिक विकासतर्फ ३ करोड १५ लाख ५२ हजार, सामाजिक विकासमा ४० करोड २६ लाख ९३ हजार, पूर्वाधार विकासमा ११ करोड ८० लाख ६० हजार विनियोजन गरेको नगर उपप्रमुख थापाले जानकारी गराइन् । सुशासन तथा अन्तरसम्बन्धित क्षेत्र २ करोड ६१ लाख ९९ हजार र कार्यालय सञ्चालन तथा प्रशासनिक तर्फ १६ करोड विनियोजन गरिएको छ ।

आयतर्फ संघीय समानीकरण अनुदान १२ करोड ६ लाख, संघीय राजस्व बाँडफाँडबाट ११ करोड ६ लाख, संघीय समपुरक पुँजीगत १ करोड ३५ लाख, सशर्त चालु तर्फ ३४ करोड ५३ लाख ४ हजार रहेको छ । संघीय ससर्त पुँजीगत १ करोड २० लाख, प्रदेश समानीकरण अनुदान ८२ लाख ६५ हजार, प्रदेश राजस्व बाँडफाँड ८१ लाख ४० हजार, प्रदेश समपुरक १ करोड ५ लाख, प्रदेश सशर्त १ करोड र आन्तरिक स्रोतबाट ९ करोड ९५ लाख ९५ हजार जुटाउने अनुमान गरिएको छ ।

नगरसभामा रामपुर नगरपालिका प्रमुख थापाले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै विगतका कार्यक्रमलाई निरन्तरता दिँदै नगरले उत्पादन वृद्धिलाई प्राथमिकतामा राखेको जानकारी गराए । नीति तथा कार्यक्रममा खाद्यान्नको बीउ विजनमा आत्मनिर्भर गराउन बीजवृद्धि कार्यक्रम सञ्चालन गर्ने, नगदे बाली रैथाने खाद्यान्न बालीको खेती विस्तार गर्दै व्यावसायीकरण गर्ने नीति तथा कार्यक्रम सार्वजनिक गरे । यसैगरी व्यावसायिक कृषि तथा पशुपन्छी फर्म विस्तारका लागि मागमा आधारित कार्यक्रम सञ्चालन गर्ने, स्थानीय वस्तुको उपभोग र उत्पादनलाई प्रोत्साहन गर्न हाटबजार सञ्चालन गर्ने, निस्दीखोलालगायत अन्य खोलाको केही क्षेत्रमा माछा पकेट क्षेत्र बनाइने नीति लिएको उनले बताए ।

विदेशबाट फर्किएका तथा रोजगारीको खोजीमा रहेका व्यक्तिहरूमा रहेको सीपको विवरण समेत अद्यावधिक गरी स्थानीय तहमा रहेका रोजगारदाताहरूसँग समन्वय गरी रोजगारी प्रदान गर्ने नीति लिएको छ । पर्यटन प्रवर्द्धनका लागि राम कथासँग सम्बन्धित क्षेत्र, मठमन्दिर, कुण्ड, नदी, तालतलैया जोड्नेगरी रामायण सर्किटको अवधारणा अघि बढाउने उल्लेख छ ।

नगरसभाको पहिलो बैठकले विधायन समितिका संयोजक मीनबहादुर सिंजालीले स्थानीय युवा परिषद् विधेयक पेस गरेका छन् । लेखा समितिका संयोजक तेजबहादुर राना, विधायन समितिका संयोजक मीनबहादुर सिंजाली, अनुगनमन तथा सुशासन समितिका संयोजक मोहनबहादुर रानाले वार्षिक प्रतिवेदन पेस गरेको नगर प्रवक्ता कपिलबहादुर खाँडले बताए ।

प्रकाशित : असार ९, २०८१ १०:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

पोलियो मुक्त राष्ट्र घोषणा भएको १० वर्षपछि नेपालमा पोलियोको भाइरस फेला परेको छ । यो अवस्थामा सरकारले मुख्यरुपमा के गर्नुपर्छ ?

×