कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

बुटवल उपमहानगरको बजेट २ अर्ब ९९ करोड

स्वास्थ्य र कृषिलाई जोड, २ वडामा अस्पताल संचालन गर्ने, एक वडामा सय बेडको अस्पताल निर्माण गर्ने

बुटवल — बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि २ अर्ब ९९ करोड २२ लाख रुपैंयाँको बजेट सार्वजनिक गरेको छ । आइतबार उपप्रमुख सावित्रादेवी अर्यालले नगर सभाको १५औं अधिवेशनको तेस्रो बैठकमा चालुतर्फ ४८ दशमलव ६५ प्रतिशत र पूँजीगततर्फ ५१ दशमलव ३५ प्रतिशत रहने अनुमानसहितको वार्षिक बजेट तथा कार्यक्रम पेस गरेकी हुन् ।

बुटवल उपमहानगरको बजेट २ अर्ब ९९ करोड

चालु र पूँजीगत तर्फको अन्तिम रकम छलफलमा पेश गर्ने उनले जानकारी गराएकी छन् । बुटवलले आगामी आर्थिक वर्षमा आन्तरिक स्रोतबाट ८५ करोड राजस्व संकलन गर्ने अनुमान गरेको छ ।

बजेट प्रस्तुत गर्दै उपप्रमुख अर्यालले शिक्षा, स्वास्थ्य, रोजगारलाई विशेष प्राथमिकता दिदै पर्यटन, कृषि, पशुपंक्षी विकास, मानव संसाधनको विकासका क्षेत्रलाई बजेट छुट्याइएको बताइन् ।

बुटवल उपमहानगरले आगामी आर्थिक वर्षमा वडा नम्बर १३ मा फिजियोथेरापी अस्पताल र १७ मा जनरल अस्पताल संचालन गर्ने गरी बजेट विनियोजन गरिएको अर्यालले बताईन् । उपमहानगरको बजेटले निजी तथा सार्वजनिक क्षेत्रसँग सहकार्य गरी सार्वजनिक निजी साझेदारी कार्यक्रममार्फत् बुटवल ११ मा पनि थप १ सय बेडको अस्पताल निर्माण गर्ने भएको छ । त्यसका लागि उपमहानगरले आगामी वर्षका लागि ५ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दामा आमा सुरक्षा कार्यक्रम सञ्चालन गर्न १ करोड, नगरपालिका भित्रका अस्पताल, स्वास्थ्य चौकी, स्वास्थ्य केन्द्रहरुको स्तरोन्नति गर्दै थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन १ करोड रुपैंयाँ बजेट विनियोजन भएको छ ।

शिक्षातर्फ असहाय, विपन्न तथा अल्पसंख्यक समुदायका बालबालिकालाई छात्रवृत्ति, पोसाक र शैक्षिक सामग्री उपलब्ध गराउने उदेश्यका साथ नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गर्ने, शैक्षिक संस्थाहरुको भौतिक पूर्वाधारका लागि ५ करोड रकम विनियोजन भएको छ ।

बुटवलले विद्यार्थीसँग नगर प्रमुख, बालबालिकासँग उपप्रमुख र एक विद्यार्थी एक बैंक खाता कार्यक्रम अघि सारेको छ । विद्यालय खाजा कार्यक्रमका लागि कक्षा १ देखि ५ सम्मका विद्यार्थीलाई खाजा खुवाउने विद्यालयहरुमा १० रुपैयाँ थप गरी २५ रुपैंयाँ गराईएको छ । त्यस्तै बुटवलको बसपार्कमा विद्युत, शुद्ध खानेपानी, व्यवस्थित खाजाघर, सफा शौचालय र स्नानघर, निःशुल्क वाईफाई, सुरक्षित विश्रामस्थल निर्माण गर्न १ करोड र उज्यालो बुटवल कार्यक्रम अन्तरगत बुटवल चिडियाखोलादेखि योगीकुटीसम्म, धागो कारखानादेखि तिनाउ पुलसम्म ट्राफिक लाईट जडानका लागि ४ करोड रुपैंयाँ बजेट विनियोजन गरिएको छ ।

बुटवलका मुख्य राजमार्ग, भित्री सडक सौन्दर्यीकरण, ट्राफिक लाईट तथा भित्री सडक र गल्लीहरुमा स्मार्ट स्ट्रिट लाईट जडान गर्ने कार्यक्रमले निरन्तरता पाएका छन् । बजेटले जितगढी किल्ला, रामापिथेकस पार्क, मणिमुकुन्दसेनको ग्रीष्मकालीन दरबार, जितगढी युद्ध संग्रहालयजस्ता ऐतिहासिक र पर्यटकीय स्थललाई नगरको गौरवका सम्पदाका रुपमा प्रवर्द्धन गर्ने नीति बुटवलले अघि सारेको छ ।

जितगढी किल्लानजिकै देवभूमि तिनाउ आरती केन्द्र स्थापनाका लागि ३ करोड बजेटको व्यवस्था गरेको उपप्रमुख अर्यालले बताइन् । बुटवलदेखि नुवाकोट जाने पैदलमार्ग निर्माणलाई १ करोड, पैदलमार्गमा शिव मुर्ति निर्माण गर्न १ करोड र हिलपार्कमा बुद्धमूर्ति निर्माणका लागि पनि १ करोड रुपैंयाँ विनियोजन गरिएको छ ।

बुटवलदेखि लुम्बिनी जोड्ने, मुक्तिनाथ, बाँके बर्दिया, आसपासका पर्यटकीय स्थलहरु जोड्ने र बुटवल–चितवन–पोखरा त्रिकोण पर्यटकीय गन्तव्यका रुपमा स्थापित गर्ने, रात्रीकालीन बजार सञ्चालन गर्ने, रात्रीकालीन बजार सञ्चालनमा विपन्न वर्गलाई प्रोत्साहन गर्ने कार्यक्रम बजेटमा समावेश गरिएको छ ।

चालु आवमा सञ्चालित गृहिणी महिला स्वरोजगार, महिला उद्यमी आत्मनिर्भर लगायतका कार्यक्रमले पनि निरन्तरता पाएका छन् । बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्साको खानेपानी ल्याउने व्यवस्था मिलाउन मुहान क्षेत्रका बासिन्दालाई लाभ हुने गरी तिनाउ गाउँपालिकामार्फत विकासका कार्य गर्न बुटवलले २ करोड बजेट छुट्याएको छ ।

वडाहरुको समग्र विकासका लागि १६ करोड ५० लाख रुपैंयाँ, वडा नम्बर १४ देखि १९ का छ वटा वडालाई १–१ करोड विशेष विकास कार्यक्रम मार्फत विकासका लागि खर्च गर्ने गरी बजेट विनियोजन गरिएको छ ।

बजेटमा सञ्चार क्षेत्र सबलीकरण गर्ने, सञ्चारग्राम स्थापना गर्ने, किसानलाई पाडी वितरणमा अनुदान दिने, परम्परागत सीप आरन खरिद तथा सञ्चालनमा अनुदान दिने कार्यक्रम पनि समावेश छन् । बुटवलमा सञ्चालनमा रहेका व्यवसायहरु करको दायरामा नआएपछि त्यसलाई नियमनमा ल्याउन बुटवलले राजस्व संकलन स्पेशल टास्क फोर्स गठनको विधि अपनाउने कार्यक्रम अघि सारेको छ ।


प्रकाशित : असार ९, २०८१ १८:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१८ महिना सरकारको नेतृत्व गरेर सत्ता बहिर्गमन भएको माओवादीलाई तपाईंको के सुझाव छ ?

×