कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

असारे विकास : मापदण्डविपरीत काम भएको भेटिएपछि रिटेनिङ वाल भत्काइयो 

पाल्पा — असारे विकासको चटारो गर्दा पाल्पाको निस्दी गाउँपालिकास्थित रामपुर–मित्याल–जलुकेघाट अरुणखोला सडकमा गुणस्तरहीन काम गरेको भेटिएपछि सडक डिभिजनले रिटेनिङ वाल भत्काइदिएको छ ।

असारे विकास : मापदण्डविपरीत काम भएको भेटिएपछि रिटेनिङ वाल भत्काइयो 

निर्माण व्यवसायीलाई काम गर्ने लाइन नै नदिएको स्थानमा जथाभावी काम गरेपछि सडक डिभिजन कार्यालयका इन्जिनियर प्रताप माक नेतृत्वको अनुमन टोलीले भत्काएको हो । ‘सडक डिभिजनसँग काम गर्ने लाइन नै नलिई जथाभावी रिटेनिङ वाल लगाइएको थियो,’ उनले भने, ‘स्थानीयको गुनासोका आधारमा अनुगमन गर्दा मापदण्डाविपरीत पाएपछि डोजर लगाएर भत्काइएको छ ।’

केही दिनयता स्थानीय बासिन्दाले बालुवा र माटोको मिश्रण गरेर काम गरेको देखेपछि कारबाहीको माग गर्दै गाउँपालिका र सडक डिभिजन गुहारेका थिए । रामपुर–मित्याल–जलुकेघाट अरुणखोला सडकमा गुणस्तरहीन काम भएको पुष्टि भएको सडक डिभिजनका इन्जिनियर माकले बताए । उनका अनुसार मापदण्डविपरीत लगाएको १० मिटर बढी रिटेनिङ वाल भत्काइ दिएको छ । यहाँ चार वर्षअघि ठेक्का लागेको थियो ।

निस्दीका स्थानीयले सडक डिभिजन कार्यालय पाल्पाका इन्जिनियर र सब–इन्जिनियरको लापर्बाहीले ठेक्का लागेका काममा गुणस्तर नभएको आरोप लगाएका छन् । वर्षौंदेखि निर्माण व्यवसायीले ठेक्का ओगटेर राख्ने र कामै नगर्ने अवस्था सडक डिभिजनकै कारण सिर्जना भएको उनीहरूको आरोप छ । काम गरे पनि गुणस्तरहीन गर्ने निर्माण व्यवसायीलाई डिभिजनले संरक्षण गरेको आरोप स्थानीयको छ । ‘वर्षौंअघि ठेक्का भयो तर त्यस अनुसारको काम हुनै सकेन,’ स्थानीय अगुवा युवा मीनबहादुर सोमैले भने ‘जसले गर्दा निस्दीको विकासमै बाधक बनेको छ ।’

सडक डिभिजनले ठेक्का लगाएको खण्डअन्तर्गत मित्यालका विभिन्न स्थानमा ग्याभिन वाल, नाली निर्माण, रिटेनिङ वाल र ग्राभेलको काम गर्दा लापर्बाही भएपछि युवाले गाउँपालिका र सडक डिभिजनमा गुनासो गरेको उनले बताए । चार वर्षअघि ठेक्का लगाए पनि दुई वर्षमा काम सक्नुपर्ने थियो । तर अहिलेसम्म काम सकिको छैन ।

निमार्णाधीन सडकमा बालुवा, ढुंगा, गिट्टी र सिमेन्टको अनुपात नमिलाइएको र सडकमा काम गर्ने लाइन नै नदिएको स्थानमा काम गरेको भेटिएको हो । बालुवाको स्थानमा रातो माटो प्रयोग भएको भेटिएको छ । अमृत कन्स्ट्रक्सन पाल्पामार्फत २०७८ फागुन २ गते सम्झौता भएर २०७९ असार २५ गते सक्ने गरी १ करोड ९२ लाखको काम ९७ लाख ५४ हजारमा ठेक्का भएको थियो । तर अहिलेसम्म २१ प्रतिशत मात्रै काम सकिएको सडक डिभिजनले जनाएको छ ।

पछिल्लो समयमा काममा भएको लापरवाही पछि स्थानीय तहले पनि चासो दिएको छ । सदरमुकामदेखि ७० किलोमिटर टाढाको निस्दीमा भएको ठेक्कामा सरोकारवाला निकायकोसमेत चासो कमै पुग्ने गर्छ । निर्माण व्यवसायीले वर्षौदेखि काम नगर्दासमेत कसैको चासो थिएन । संघीय र प्रदेश सरकारले काम गरे पनि आफूहरूको चासो रहने निस्दी गाउापालिकाकी उपाध्यक्ष तिरणकुमारी श्रेष्ठले बताइन् । ‘धेरै वर्षदेखि ठेक्का लाग्ने तर काम नगर्ने भएको थियो,’ उनले भनिन्, ‘जसले गर्दा चासोपूर्वक हेरेका छौं ।’ पालिकाको गरेको कामको अनुगमन गर्न पुग्दा स्थानीयले सडक डिभिजनले गरेको कामको गुनासो गरेका थिए ।

सडक डिभिजन पाल्पाले रामपुर–मित्याल–जलुकेघाट अरुणखोला सडकमा दुई वटा ठेक्का लगाएको छ । दुवै ठेक्काका निर्माण व्यवसायीले समयमा काम गरेका छैनन् । सडक अन्तर्गत निस्दी गाउँपालिकाअन्तर्गत सुवेदी निर्माण सेवा, भिमाद तनहुँले १ करोड ९३ लाख २१ हजार लगत इस्टिमेट रहेको ठेक्का १ करोड ४ लाख ४७ हजारमा सम्झौता गरेर वर्षौदेखि सकेको छैन । २०७८ असार ६ गते सम्झौता गरेको निर्माण व्यवसायीले २०८० असार २५ गते सम्पन्न गर्नुपर्ने हो ।

अहिलेसम्म ८२ प्रतिशत मात्र काम सम्पन्न गरेको छ । उसले गरेका कामसमेत गुणस्तरहीन रहेको सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख बाबुराम सापकोटाले जानकारी दिए । ‘सुवेदी कन्स्ट्रक्सनले गरेको काममा पनि गुनासो आएको छ,’ उनले भने, ‘अनुगमन गर्दा निर्माण व्यवसायीलाई ताकेता गर्दा पनि आएकै छैन ।’ मित्याल बजार (रुक्सेभन्ज्याङ) मा ग्राभेल, त्यसबाहेक रिटेनिङ वाल, नाली निर्माण, ग्याभिन, चौडा गर्ने लगायतका कामको ठेक्का सम्झौता भएको छ ।

प्रकाशित : असार ५, २०८१ १०:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रधानमन्त्री र मन्त्रीहरूले आफ्नो सचिवालय गठन र सल्लाहकारहरू चयन गर्न थालेकाछन् । छनौटमा मुख्य रुपमा केलाई प्राथमिकता दिनुपर्छ ?

×