कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६१

मकैमा फौजी किराको प्रकोप बढेपछि पाल्पाका किसान चिन्तित 

माधव अर्याल

पाल्पा — पाल्पाको मुख्य खाद्यान्न बालीका रूपमा रहेको वर्षे मकैमा फौजी किराको प्रकोप देखिएको छ । फौजी किराको प्रकोप देखिएपछि भर्खरै उम्रेका र हुर्केका बोट सखाप भएको किसानले बताएका छन् । जिल्लाका तिनाउ, बगनासकाली, निस्दीलगायत अन्य स्थानीय पालिकाका किसानले लगाएको मकैलाई फौजी किराले सताएको हो । 

मकैमा फौजी किराको प्रकोप बढेपछि पाल्पाका किसान चिन्तित 

खडेरीबाट मुस्किलले जोगाएको मकैमा पुनः फौजी किराको प्रकोप देखिएपछि किसान चिन्तित बनेका छन् । मकैको पकेट क्षेत्रमै किराले मकैबाली नोक्सान गर्न थालेको तिनाउ गाउँपालिका–२, दोभान हरियाली गाउँका किसान खगेन्द्र केसीले बताए । उनको बारीमा लगाएको सबै मकै फौजी किराले खाइदिएको गुनासो गरे । ‘मेरो मात्र होइन, गाउँका प्रायः सबैको मकैमा फौजी किराको प्रकोप छ,’ उनले भने, ‘यसका लागि उपाय खोजी गरिँदै छ ।’

गत वर्ष पनि मकैबालीमा फौजी किराको प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्रले विषादी उपलब्ध गराएको सघाएको थियो । तर यसवर्ष बजेट अभाव भएको भन्दै औषधि नपाएको उनको गुनासो छ । तिनाउ गाउँपालिका–२, दोभान हरियाली गाउँकै सेतबहादुर खत्रीको ७ रोपनी बारीमा लगाएको मकै फौजी किराले नष्ट पारेपछि अहिले विषादी सहयोगको पर्खाइमा छन् । ‘एक रातमै किराले सत्यानासै बनायो,’ उनले भने, ‘यसको औषधिमूलोका लागि सहयोगको खोजीमा छु ।’

फौजी किराले मकै सखाप पारेपछि दोस्रोपटक छर्नुपर्ने अवस्था आउने हो किन भन्ने चिन्ताले सताएको उनले बताए । उम्रेको र हुर्कंदै गरेका मकै किराले सखाप पारेको छ । यहाँका मात्रै ७० घरधुरी मकै किसान एउटै समस्यामा छन् । तिनाउ गाउँपालिकाको कचल, झिंगामारा, मस्यामलगायतका गाउँमा पनि फौजी किराले समस्या निम्त्याएको छ । मस्यामका किसान टेक बगालेका अनुसार गाउँका किसानले लगाएको मकैमा फौजी किराको समस्या देखिएको छ । किसानले खेत र बारीमा लगाएको मकैमा फौजी किरोको प्रकोप देखिएको उनले बताए । किराले भर्खरै हुर्कन लागेको मकैका बोटहरु नष्ट गरेको छ ।

तिनाउ गाउँपालिका कृषि शाखा प्रमुख हेमन्त शर्माले फौजी किराले मकै खाएको गुनासो आएको बताए । शाखामा बाली संरक्षण र आकस्मिक कोष नभएकाले सहयोग गर्न नसकेको बताए । ‘हामीसँग अहिले खरिद गरेर विषादी दिने बजेट छैन,’ उनले भने, ‘हामीले प्राविधिक ज्ञान मात्र दिने हो ।’

जिल्लाका अधिकांश स्थानमा लगाएको मकैबालीमा फौजी किराको प्रकोप देखा परेकोले यो वर्ष मकै उत्पादनमा ह्रास आउने देखिएको छ । जिल्लाका विभिन्न ठाउँका किसानले मकैबालीमा फौजी किराको प्रकोप देखिएको भन्ने गुनासो ज्ञान केन्द्रमा पनि नआएको होइन । निमित्त प्रमुख सन्तोषकुमार चौधरीले फौजी किरा रातिको समयमा बढी सक्रिय भएर मकै बालीलाई नष्ट गरेको गुनासो आएको बताए । फौजी किराको प्रकोप देखिएको ठाउँमा विषादीको प्रयोग गर्नुपर्ने सुझाव दिएको उनले बताए ।

फौजी किरालाई नियन्त्रण गर्न समस्या भएको किसानको गुनासो सम्बोधन गर्न बजेटले समस्या पारेको उनले बताए । यसलाई कसरी नियन्त्रण गर्ने भन्नेमा किसानहरू समस्यामै छन् । किसानलाई जैविक र रासायनिक विषादी नै प्रयोग गर्न सल्लाह सुझाव दिएको निमित्त प्रमुख चौधरीले बताए । ‘हामीसँग आकस्मिक बाली उपचार शिविरको बजेट छैन,’ उनले भने, ‘यो शीर्षकको पैसा खर्च नगर्न निर्देशन आएकाले तत्काल औषधि उपचारमा सहयोग गर्न सकिएन ।’

बिहान वा दिउँसो चार बजेपछि मात्र औषधि छर्न सकिने उनले बताए । मकैको गुबो नै खाइसक्यो भने नियन्त्रण गर्न गाह्रो हुने कृषि प्राविधिकले बताए । जिल्लामा वर्षे मकै २० हजार ५ सय ६२ हेक्टर क्षेत्रफलमा ५५ हजार ३ सय ९५ मेट्रिक टन उत्पादन हुन्छ ।

प्रकाशित : जेष्ठ ३०, २०८१ १३:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपसभामुख इन्दिरा रानाले डेढ वर्षअघि पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासलाई पत्र लेखेको सार्वजनिक भएको छ । यसबारे तपाईंको धारणा के छ ?

×