कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रुपन्देहीमा अनधिकृत रुपमा आयात भइ जफत भएका बिउबिजन नष्ट गरिने

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीमा अनधिकृत रुपमा पैठारी भइ जफत भएका बिउबिजन नष्ट गरिने भएको छ । क्वारेन्टाइन कार्यालय भैरहवाको आयोजनामा भैरहवामा भएको ‘प्लान्ट क्वारेन्टाइनसम्बन्धी सरोकारवालाको समन्वय बैठक’ले उक्त कार्यमा आवश्यक समन्वय गर्न सम्बन्धित निकायमा अनुरोध गर्ने निर्णय गरेको हो ।

रुपन्देहीमा अनधिकृत रुपमा आयात भइ जफत भएका बिउबिजन नष्ट गरिने

नेपालमा दर्ता नभएको बिउबिजनको आयात गर्दा देशको जैविक विविधतामा समेत नराम्रो असर देखिने हुँदा लिलाम प्रक्रिया राष्ट्रिय अर्थतन्त्र तथा जैविक सुरक्षाका निम्ति प्रत्युत्पादन हुन सक्ने बैठकमा औंल्याइएको छ ।

साथै विभिन्न प्रकारका कृषिजन्य वस्तु निर्यात गर्दा निर्यात गरिने मुलुकको नियम/शर्त तथा आवश्यकताको बारेमा निर्यातकर्ताले अनिवार्य रुपमा जानकारी लिने वा कार्यालयसँग समन्वय गर्ने बैठकले निर्णय गरेको क्वारेन्टाइ कार्यालय भैरहवाका बाली संरक्षण अधिकृत उमाशंकर पाठकले बताए ।

नेपालमा दर्ता नभएका एवं चोरीपैठारीको क्रममा बरामद भइ लिलाम भएका बिउबिजन कृषकले लगाउँदा बालीमा दाना नलाग्ने, सिफारिस गरिएको क्षेत्रभन्दा फरक स्थानमा लगाएका उत्पादनमा ह्रास आउने जस्ता समस्या देखिन सक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्ने क्वारेन्टाइन कार्यालय भैरहवाका प्रमुख तथा वरिष्ठ बाली संरक्षण अधिकृत शालिकराम पौडेलले बताए ।

राजस्व संकलनको नाममा अवैध रुपमा भित्रिएका बिउलाई लिलाम गरेर वैध बनाइए त्यसले जोखिम बढाउने उनको भनाइ छ । उनले निर्यात प्रवर्द्धनमा जोड दिनुपर्ने भन्दै निर्यातका लागि दुई देशबीच भएका सम्झौता अनुसार शर्त पालना गर्नुपर्ने बताए ।

त्यस्तै प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, कार्यान्वयन इकाई भैरहवा, का प्रमुख तथा वरिष्ठ कृषि विकास अधिकृत नारायण काफ्लेले बिउलाई हल्का तरिकाले हेर्न नहुने बताए । उनले बिउ असाध्यै संवेदनशील हो भन्ने बुझ्न जरुरी रहेको बताए । उनले भने, ‘बिउ आयातलाई व्यवस्थित गर्नुपर्छ । यसमा व्यवसायीको भूमिका महत्त्वपूर्ण हुन्छ । सरकारी निकायले चाहेर मात्र नियमन नहुने उनले बताए ।

बैठकमा कार्यपत्र प्रस्तुत गर्दै राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम (विरुवा रोगविज्ञान) का वैज्ञानिक लक्ष्मण अर्यालले बिउ बाहिरबाट हेर्दा ठीक भए पनि भित्र जीवाणु बोकेको हुन सक्ने बताए ।

उनले भने, ‘बिउ स्वस्थ नभए बोट राम्रोसँग उम्रन सक्दैन । बिउसँगै धेरै कुरा भित्रिन सक्छ, जुन हामीले देख्न सक्दैनौं ।' रोगी बिउले माटोमा रोग थप्न सक्ने भएकाले गलत बाटोबाट ल्याइएका बिउ खरिद गर्न र बिक्री गर्न नहुने उनको भनाइ छ ।

प्रकाशित : जेष्ठ २९, २०८१ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

मन्त्रीहरुले आफ्ना र दलका शीर्ष नेताका निर्वाचन क्षेत्र केन्द्रित गरी विनियोजित बजेटमा सांसदहरूले संसद्मा गरेको विरोधबारे तपाईंको धारणा के छ ?

x