३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

थारु सांस्कृतिक संग्रहालयमा खचाखच पर्यटक

चखौरा (दाङ) — दाङ थारु जातिको आधारभूमि मानिन्छ । थारुका प्रथम राजा दंगीशरणले शासन गरेको विश्वासका आधारमा दाङको पश्चिम क्षेत्रको गाउँपालिकाको नाम दंशीशरण नामाकरण गरिएको छ । 

थारु सांस्कृतिक संग्रहालयमा खचाखच पर्यटक

दंशीशरण गाउँपालिका–३ चखौरमा थारु जातिको इतिहास र संस्कृति बचाउन निर्माण गरिएको थारु सांस्कृतिक संग्रहालयमा थारुको जन्मदेखि मृत्युसम्म गरिएका कला, संस्कृति र रीतिरिवाजका मूर्तिहरु सजावट गरेर राखिएको छ ।

जुन हेर्न थारु र अन्य जातिको भीड लाग्छ । चखौराको संग्रहालय लुम्बिनी प्रदेशको पर्यटकीय गन्तव्यमध्येको एक बन्न पुगेको छ । अहिले यहाँ पुग्नेको संख्या दैनिक एक हजार भन्दा बढी छ । दाङसहित नेपालका विभिन्न जिल्लामा बसोबास गर्ने थारुको इतिहास देख्न सकिन्छ । थारु जातिका परम्परा, नाचगान, चाडपर्व, सामाजिक जीवन झल्कने गरी संग्रहालय भित्र र भित्तामा सजाएर राखिएको छ ।

थारु बस्तीको झल्को दिने परम्परागत घर, कोठा, धन्सार, देवता राख्ने ठाउँ, पुजापाठ, जन्मदा गरिने र मृत्यु भएपछि गरिने संस्कारको बारेमा मूर्ति सहितका सामग्री सजाएर राखिएको छ । थारु पुरुष र महिलाले लगाउने कपडा, धार्मिक गतिविधि, नाचगान गर्दा लगाउने लुगा सहितका श्रंगारका सामाज सजाएर राखिएका छन् ।

नेपालका सबैठाउँमा बसोबास गर्ने थारु इतिहास संरक्षण हुने गरी संग्रहालय निर्माण गरिएको संग्रहालयका योजनाकार तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताए । ‘दाङसहित चितवन, कैलाली, कञ्चनपुर, बर्दिया, राना, डंगौरा, देउखुरी मोरङ लगायतका ठाउँमा बसोबास गर्ने थारु जातिको संस्कृती, रीतिरिवाज र इतिहास संग्रहालयमा देख्न पाइन्छ,’ उनले भने, ‘यो देशकै ठूलो संग्रहालय हो । यहाँ थारुको संस्कारका मूर्ति र घरको भित्तामा देख्न सकिन्छ । थारु राजाले आफ्नो क्षेत्रमा शासन गरेकोबारे मुर्ती र नक्सा छन् ।’

५ बिघा क्षेत्रफलमा फैलिएको संग्रहालयमा एक अर्ब भन्दा बढीको सम्पत्ति जोडिसकेको छ । कञ्चनपुर, कैलानी, बाँके, बर्दियामा दाङबाटै बसाइँसराइ गरेर गएको बुढापाका बताउँछन् । संग्रहालयमा थारुका प्रथम राजा दंगीशरणको प्रतिमा स्थापना गरिएको छ । अन्य थारु अगुवाको मूर्ति छ । संग्रहालयभित्र संस्कृति झल्कने दुईसय भन्दा बढी मूर्ति छन् । नयाँ अझै थपिँदै रहेको थारु संस्कृति संग्रहालयका अध्यक्ष राजेश चौधरीले बताए ।

यहाँ भौतिक संरचना पनि बन्दैछन् । डुंगा सयर गर्न सकिन्छ । पुरानो र नयाँ थारु संग्रहालय भवन, थारु विश्राम घर, थियटर घर, पुस्तकालय, रेकडिङ स्टुडियो, कोशेली घर, पाहुना घर, रेष्टुरेन्ट, सभाहल लगायत रहेको उनले बताए । रेष्टुरेन्टमा थारु जातिका विभिन्न परिकारहरु खान पाइन्छ । यहाँ बस्नको लागि आवास समेत छ ।

आदिवासी थारुका कला, संस्कृति झल्कने भेषभूषा, गरगहना, उनीहरुले प्रयोग गर्ने कृषि औजार, उपकरण छन् । माटाका भाँडा, ढकिया, गुन्द्री, काठका चप्पल, चाँदीका गहना, पैसा, खेतबारी जोत्न र खन्न प्रयोग गरिने औजार राखिएको छ ।

यहाँ अवलोकन गर्न देशभरका थारु परिवार गाडी रिर्बज गरेरै आउने गरिरहेको संग्रहालयकी व्यवस्थापन शान्ता चौधरीले बताइन । अन्य जातिका पनि हेर्न उत्तिकै आउँछन् । दैनिक ३ सय देखि एक हजारसम्म पर्यटक भित्रिन्छन् । संग्रहालयभित्र हेर्ने पर्यटकलाई गाइड राखिएको छ ।

यहाँ हेर्ने प्रमुख विशेषता विभिन्न मूर्ति, सामग्री र चित्र छन् । गेटबाट भित्रि छिर्नासाथ पार्कमा राज, वायुपंखे घोडा र अप्सराका मुर्ती छन् । यमुर्ती कैलालीको टीकापुरबाट कालीगढ ल्याएर निर्माण गरिएको हो । थारु राजाको प्रेमसँग जोडिएको ऐतिहासिक किम्बदन्तीको आधारामा निर्माण भएका सहित विभिन्न २ सय ४ वटा मुर्ती हेर्न पाइने चौधरीले बताइन ।

थारु जातीको माछा मार्ने बल्छी, कुलो र झरना निर्माण गरिएको छ । देउखुरी उपत्यकाको गुरुबाको प्रतिमा राखिएको छ । संग्रहालयभित्र पुरुष र महिलाका छुट्टाछुटै घरमा पोशाक र गरगहना राखिएको छ । थारुको इतिहास झल्कने गरगहना र कपडामा नाम लेखिएको छ ।

संग्रहालयभित्र २३ जनाले रोजगारी पाएका छन् । यस क्षेत्रमा आर्थिक समृद्धिमा टेवा पुगेको दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताए । धेरै टाढाबाट आएका पर्यटकलाई खाना, बस्न र खाजाको लागि गाउँमा तरकारी, माछा, घुँघी, स्थानीय मदिरा उत्पादन, थारु खानाका परिकार घरमै उत्पादन गर्ने सहित दुई सय जना भन्दा बढीले रोजगारी पाएको उनले बताए ।

दाङको तुलसीपुरबाट ९ किलोमिटरको दुरीमा रहेको छ । तुलसीपुर–सुर्खेत सडक नजिकै भएकाले भारतबाट प्युठानको स्वर्गद्धारी लगायतका धार्मिक पर्यटकीय स्थलमा आएका पर्यटक पनि संग्रहालय छिर्छन् । तुलसीपुर–चखौरा ५० भन्दा बढी अटो चल्छन् ।

संग्रहालयभित्र कोशेली घर छ । यहाँ स्थानीय उत्पादनका खाद्यन, मह, तिल्की चामल, अदुवा, ध्यु लगायतका वस्तु राखिएको छ । पर्यटकले किनेर लैजाने भएकाले पनि गाउँमा स्थानीय उत्पादनको माग बढ्दो छ । संग्रहालयभित्र छिर्न काटिने टिकट शुल्कको ५ प्रतिशत रकम दंशीशरण गाउँपालिकाको खातामा जम्मा हुन्छ ।

संग्रहालयकै कारण दंशीशरण गाउँपालिका सहित यस क्षेत्रमा आर्थिक समृद्धि, रोजगारीका हिसाबले अब्बल बन्दै गएको गाउयँपालिका अध्यक्ष गिरीले बताए । वर्षेनि संग्रहालय हेर्न आउने पर्यटकको संख्या वृद्धि भएको छ ।

प्रकाशित : वैशाख ३१, २०८१ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

संसद्मा हाजिर गरेर टाप कस्ने, बैठकमा पूर्ण समय नबस्ने सांसदहरूबारे तपाईंको के टिप्पणी छ?