१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१९

चैत २३ र २४ मा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने

सन्जु पौडेल

तिलोत्तमा — लुम्बिनीमा चैत २३ र २४गते लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास, लुम्बिनी विकास कोष, नेपाल ओलम्पिक कमिटी र लुम्बिनी प्रदेश खेलकुद परिषदको आयोजनामा हुने महोत्सवमा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति म्याराथन, अन्तर्राष्ट्रिय ध्यान दिवस र लुम्बिनी शान्ति कन्सर्ट गरी तीन वटा प्रमुख कार्यक्रम समावेश हुने आयोजकले मंगलबार पत्रकार सम्मेलन मार्फत जानकारी गराएका छन् ।

चैत २३ र २४ मा लुम्बिनी अन्तर्राष्ट्रिय शान्ति महोत्सव हुने

लुम्बिनीलाई विश्व शान्ति र धार्मिक सांस्कृतिक पर्यटन गन्तव्यको रुपमा विश्वव्यापी रुपमा प्रवर्द्धन गर्नुका साथै नेपाल र चीनबीचको जनस्तरको सद्भाव र सम्बन्धलाई अझ प्रगाढ बनाउन कार्यक्रम गर्न लागिएको नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले बताए ।

उनले सन् २०२२ बाट सुरु भएको यस खालको कार्यक्रमलाई निरन्तरता दिइ लुम्बिनीको सन्देश विश्वभरि फैलाउन सकिने जनाए । साथै शान्ति क्षेत्र लुम्बिनीमा हरेक वर्ष विदेशी धावक यहाँ आउन् र दौड मार्फत लुम्बिनीको परिचय आफ्नो देशमा लैजाउन् भन्ने उद्देश्य आफूहरूको राखेको उनले बताए ।

म्याराथनमा भाग लिने धावक मध्ये पुरुष धावकलाई प्रथम पुरस्कार ५ लाख रुपैयाँ, दोस्रो हुनेलाई ३ लाख, तृतीयलाई २ लाख रुपैयाँ गरी क्रमशः १० औं स्थानसम्म आउनेलाई नगद पुरस्कार प्रदान गरिनेछ । त्यस्तै हाफ म्याराथनमा भाग लिने महिलाका लागि प्रथम पुरस्कार २ लाख, द्वितीय पुरस्कार १ लाख ६० हजार र तृतीय पुरस्कार १ लाख २० हजार राखिएको छ ।

यस बाहेक खुला रुपमा वाकाथनमा सहभागिता जनाउने र विद्यालयस्तरबाट भाग लिनेलाई १५ हजार, १० हजार र ५ हजार पुरस्कार राखिएको लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव जयप्रकाश भट्टराईले जानकारी दिए । उनका अनुसार पुरस्कारका लागि मात्र १९ लाख १५ हजार रुपैयाँ छुट्याइएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै चिनियाँ दूतावासका मिसन उपप्रमुख वाङ जिङले नेपालसँग मिलेर यस्तो कार्यक्रमले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने बताए । उनले चीनका पुराना योगीहरूले समेत लुम्बिनीको यात्रा गरि यहाँको पहिचानबारे चीनमा जानकारी गराएकाले आफूहरुका लागि यो सहकार्यले ऐतिहासिक छाप छोड्ने बताए ।

प्रकाशित : चैत्र २०, २०८० १४:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?