२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४८

बालसुधार गृहमा विद्यालय संचालन स्वीकृति र अनुमति दिन अदालतको आदेश 

रुपा गहतराज

नेपालगन्ज — उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासले जयेन्दु बालसुधार गृह बाँकेमा विद्यालय संचालन गर्न स्वीकृति एवं अनुमति दिन डुडुवा गाउँपालिकासमेतका विपक्षीका नाममा परमादेश गरेको छ ।

बालसुधार गृहमा विद्यालय संचालन स्वीकृति र अनुमति दिन अदालतको आदेश 

स्वीकृत विद्यालय नहुँदा जयेन्दु बालसुधार गृहमा रहेका बालकहरु शिक्षाको अधिकारबाट बन्चित रहेकाले विपक्षीहरुका नाममा विद्यालय संचालन स्वीकृति एवं अनुमति दिने आदेश गरी पाउँ भनी एड्भोकेसी फोरम नेपालका संयोजक अधिवक्ता बसन्त गौतम, महिला कानुन र बिकास मन्चका संयोजक वरिष्ठ अधिवक्ता सुनिलकुमार श्रेष्ठ, अधिवक्ता लोकबहादुर शाह लगायतले रिट दर्ता गराएका थिए ।

बुधबार सो रिटमाथि सुनुवाई गर्दै उच्च अदालत तुल्सीपुर नेपालगंज इजलासका न्यायाधीश टकप्रसाद गुरुङ र बसन्तराज पौडेलको संयुक्त इजलासले विद्यालय संचालन स्वीकृति एवं अनुमति दिन डुडुवा गाउँपालिका समेतका विपक्षीका नाममा परमादेश जारी गरेको हो ।

अदालतद्धारा जारी आदेशमा भनिएको छ, 'यसमा बालसुधार गृहभित्र विद्यालय संचालन गर्ने सैद्धान्तिक सहमति रहेको भन्ने शिक्षा मन्त्रालय विद्यालय शिक्षा शाखाको च.न ५३ को २०६९ साउनको पत्रबाट देखिन आएकोले जयेन्दु बालसुधार गृह नेपालगंजबाट विद्यालय संचालन स्वीकृति एवं अनुमतिको माग भएमा प्रचलित कानून बमोजिम जो जे व्यवस्था मिलाउनु पर्ने हो, मिलाई उक्त निर्णय कार्यान्वयन गर्न गराउन भनी विपक्षीहरुको नाममा परमादेश गरिएको छ ।'

जयेन्दु बालसुधार गृहमा हाल २ सय ४० बालकहरु रहेका छन् । विद्यालय नहुँदा बालबन्दीहरु शिक्षाको अधिकारबाट बन्चित छन् । मुद्दामा शिक्षा तथा सामाजिक विकास निर्देशनालय लुम्बिनी प्रदेश र निर्देशनालयका निर्देशक, डुडुवा गाउँकार्यपालिकाको कार्यालय र डुडुवा गाउँपालिका कार्यालय अन्तर्गतको शिक्षा युवा तथा खेलकुद महाशाखा लगायतलाई विपक्षी बनाइ मुद्धा दायर गरिएको थियो ।

प्रकाशित : चैत्र १, २०८० २१:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

धावनमार्गको पिच उप्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार केहीबेर विमान उडान र अवतरण नै रोक्नुपर्ने अवस्था आउनुलाई के भन्नुहुन्छ ?